एनआरएनए ग्लोबल सम्मेलन अक्टोबर २३-२५, अनलाइनबाट मतदान, प्रतिनिधि शुल्क शुन्य


प्रकाशित मिति : श्रावण ३, २०७८ आईतबार

१० औँ एनआरएनए ग्लोबल सम्मेलन र १० औँ साधारणसभा अक्टोबर २३ देखि २५ सम्म आयोजना गरिने भएको छ । गैरआवासीय नेपाली संघको मिति १७ जुलाई २०२१ दिन सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

१० औँ एनआरएनए ग्लोबल सम्मेलनका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने भएको छ । सम्मेलनबाट अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको छ ।

निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ । निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको छ ।

गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको छ । बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पनि पारित गरेको छ ।

विश्व सम्मेलनमा उम्मेदबारहरुले मतदाता प्रभावित पार्न प्रतिनिधिहरुको रकम तिरिदिनका लागि करौँडो खर्च गरिदै आएको थियो । एनआरएनएको विश्व सम्मेलन हरेक दुईबर्षमा हुँदै आएको छ भने दुईदुई बर्षमा नयाँ नेतृत्व समेत चयन गरिदै अँएको छ ।

अध्यक्षमा निर्वाचित भएसँगै कुमार पन्तले निर्वाचन प्रणाली अनलाइन बनाउने र सदस्यता शुल्क निःशुल्क गर्ने प्रतिबद्धता जनाएका थिए । उक्त प्रतिबद्धताअनुसार हाललाई निर्वाचनमा भाग लिने प्रतिनिधिहरुको शुल्क नलिने निर्णय भएको छ । निःशुल्क सदस्यताबारे भने निर्णय भएको छैन ।

विश्वका ८३ देशमा ८० हजारको हाराहारीमा एनआरएनएका सदस्य रहेका छन् । सदस्यता शुल्क निःशुल्क गर्ने योजना कार्यान्वयनमा आएपछि सदस्य संख्या बढ्ने संघको विश्वास छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com