न्युयोर्कमा जुलाई ४ मा यसपटक अहिलेसम्मकै ठूलो फायरवर्कस, कहाँबाट कसरी हेर्ने ?


प्रकाशित मिति : असार १९, २०७८ शनिबार

कोरोनाबिरुद्धको लडाईमा एकहदसम्म सफलता प्राप्त गरेको न्युयोर्क सिटीमा यसपटक जुलाई ४ अर्थात् स्वतन्त्रता दिवसको अवशरमा मेसिजको नियमित फायरवर्कस हुने भएको छ । गतबर्ष कोरोना महामारीको इपिसेन्टर बनेको न्युयोर्कमा नियमित फायरवर्कसको साटो फरकफरक दिनमा पाँचवटै बोरोमा फायरवर्कस गरिएको थियो भने न्युयोर्कबासीहरुले घरमै बसेर फायरवर्कस हेरेका थिए ।

आइतबार २३ देखि ४२ स्ट्रीटको बीचमा इस्ट रिभरमा ६५ हजार शेलहरुसहित फायरवर्कस हुने भएको छ । बेलुका ९ बजेर २५ मिनेटमा सुरु हुने फायरवर्कस झण्डै २५ मिनेटसम्म चल्ने भएको छ । मेसिजले यसपटक हुने फायरवर्कस अहिलेसम्मकै सबैभन्दा ठूलो हुने प्रतिबद्धता जनाएको छ । न्युयोर्कमा जुलाई ४ को फायरवर्कस उत्सव अमेरिकाभरमै ठूलो हुनेछ ।

फायरवर्कस हेर्नका लागि सबैभन्दा उचित स्थान एफडीआर ड्राइभ हुनेछ । यसबर्ष २३, ३४ र ४२ स्ट्रीटबाट फायरवर्कस हेर्नेहरुलाई प्रवेश दिइनेछ । न्युयोर्क प्रहरीले सामान्यतया बेलुका साढे ६ बजेतिर गेट खोल्नेछ । तपाईले कुर्सीहरु लैजान पाउनुहुनेछैन भने कम्बल ओछ्याउन पनि पाउनुहुनेछैन । कतिपय प्रहरी अधिकारीहरुले पर्खालमा बस्न समेत नदिने भएकाले उभिएर फायरवर्कस हेर्न तयार हुनुपर्नेछ ।

न्युयोर्क सिटीमा सन् २०१७ को जुलाई ४ को फायरवर्कस ।

एफडीआरबाट प्रवेश गर्नेहरुको मेटल डिटेक्टरबाट चेकजाँच गरिनेछ । त्यस्तै ट्वाइलेट जानका लागि समस्या हुनसक्ने भएकाले फायरवर्कस हेर्ने स्थानमा प्रवेश गर्नु अगाडि नै ट्वाइटेल गइसक्नु उपयुक्त हुनेछ ।

त्यस्तै लङ आइल्याण्ड सिटीबाट पनि फायरवर्कस हेर्न सकिनेछ । ग्यान्ट्री प्लाजा स्टेट पार्क र हन्टर्स प्वाइन्ट साउथ पार्कबाट हेर्न सकिनेछ । यहाँबाट एम्पायर स्टेट भवनसहित फायरवर्कस हेर्न सकिनेछ । भवनको ७२ औं, ८६ औं र १०३ औं तलाबाट फायरवर्कस गरिने भएकाले यहाँबाट देखिने दृश्य पनि रोचक नै हुनेछ । साथै चौरमा बसेर अलिक सजिलो तरिकाले यहाँबाट फायरवर्कस हेर्न सकिनेछ । एफडीआरएमा जस्तो कठिन हुनेछैन ।

यी ठाउँबाट हेर्न नसकेको खण्डमा उत्तरी ब्रुकलिनबाट पनि तपाईले फायरवर्कसको मजा लिन सक्नुहुनेछ । ग्रिनप्वाइन्टमा रहेको ट्रान्समिटर पार्कबाट फायरवर्कस हेर्न सकिनेछ । यद्यपी सबै फायरवर्कसको मजा यहाँबाट लिन नसकिने भएतापनि ६५ हजार शेलहरुमध्ये केही अवश्य पनि देखिनेछ । विलियम्सबर्गका मार्शा जोन्सन स्टेट पार्क र बुसविक पार्कबाट पनि हेर्न सकिनेछ ।

फायरवर्कस हेर्नका लागि ब्याट्री पार्क, ब्रुकलिन ब्रिज पार्क, रुजभेल्ट आइल्याण्ड लगायतका स्थानहरु भने उचित स्थान होइनन् । तपाई झुक्किएर ती स्थानहरुमा नजानुहोला ।

यदि मेसिजको फायरवर्कस हेर्ने मौका मिलेन भने तपाईले कोने आइल्याण्डमा गएर पनि रमाइलो गर्न सक्नुहुनेछ । यहाँ मेसिजको फायरवर्कको मजा त लिन पाइनेछैन तर आफ्नै फायरवर्कस शोका साथ विभिन्न खेलहरु हुनेछन् । जुन दृश्य वेष्ट १० देखि २३ स्ट्रीटबाट हेर्न सकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com