नेपाल आइपुगे एनआरएनएको समन्वयमा पठाइएका ४२८ अक्सिजन कन्सनट्रेटर


प्रकाशित मिति : जेष्ठ २३, २०७८ आईतबार

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर  काठमाण्डौँ पुगेको छ ।

संघका राष्ट्रिय समन्वय परिषद्को समन्वयमा यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ र अन्य सँस्थाका तर्फबाट ३६ वटा अक्सिजन कन्सनट्रेटर नेपाल पठाइएको गैरआवासीय नेपाली संघ अध्यक्ष कुमार पन्तले जनाएका छन् ।

ति सामग्री लैजान चीनस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले खरिद प्रकृयामा सहयोग गरेका थिए भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको थियो ।

यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलाम देखि जुम्ला सम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर खरिद सहित ११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी रहेको एनआरएनएले जनाएको छ । विश्वभरबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी समेत गरेको छ ।

गैरआवासीय नेपाली संघले संघको अभियानमार्फत सहयोग गर्ने विदेशस्थित दूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीप्रति आभार व्यक्त गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com