एनआरएनएले सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने, अन्तर्राष्ट्रिय उडान खुलाउन माग


प्रकाशित मिति : जेष्ठ १०, २०७८ सोमबार

नेपालमा कोरोना महामारीको सामना गर्न “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान सञ्चालन गरेको गैरआवासीय नेपाली संघले एनआरएनए ले नेपालका सातवटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । अक्सिजन पठाउने अभियानमार्फत ओमानबाट ५६० अक्सिजन सिलिण्डर र ती सिलिण्डरको लागि चाहिने ५६० रेगुलेटर चीनबाट ल्याएर नेपाल सरकारलाई हस्तान्तरण गरि सकिएको छ ।

त्यस्तै चीनबाट ५०० अक्सिजन कन्सन्ट्रेटरको अर्डर गरिएको र सकेसम्म छिटो नेपाल पुर्याउने पहल भइरहेको प्रवक्ता डिबी क्षेत्रीले जनाएका छन् । साथमा विभिन्न राष्ट्रिय समन्वय परिषदमार्फत पनि स्वास्थ्य सामाग्री खरीदका लागि प्रतिबद्धता आएको एनआरएनएले जानकारी दिएको छ ।

सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको संघका राष्टिय समिति, पदाधिकारीहरु, केन्द्रीय पार्षदहरुको संयुक्त बैठकले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको हो ।

यस्तै तीव्र रुपमा नेपालमा फैलिरहेको कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि खोप नै अन्तिम विकल्प भएकोले तत्काल अन्तर्राष्ट्रिय समुदायसँग खोप उपलब्ध गराइदिन अपिल गर्ने निर्णय गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिमार्फत सम्बन्धित देशका सरकार समक्ष नेपालको लागि खोप उपलब्ध गराउन पहल गरिने एनआरएनएले जनाएको छ ।

एनआरएनए अध्यक्ष कुमार पन्त

अन्तर्राष्ट्रिय उडान खुला गर्न आग्रह

कोरोना संक्रमणको दोस्रो लहर अनि नयाँ भेरियन्टका कारण नेपालका अधिकांश जिल्लामा निशेधाज्ञा, केही जिल्लामा लकडाउन जारी छ ।

नेपाल सरकारले स्वास्थ्य सुरक्षाका लागि भन्दै जारी गरेको आन्तरिकसहित अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ । जसका कारण विभिन्न मध्यपूर्वी मुलुकमा कार्यरत नेपाली श्रमिक, विभिन्न अत्यावश्यक कामकाजका लागि नेपाल आउन आवश्यक भएका र विभिन्न कामका शिलशिलामा नेपालमा गएर कर्मभूमि फर्कन नपाएका गैरआवासीय नेपालीहरु समस्यामा परेका छन् ।

गैरआवासीय नेपाली संघले नेपाल सरकार समक्ष अन्तर्राष्ट्रिय उडानलाई स्वास्थ्य सुरक्षाका प्रोटोकल अपनाउने शर्तमा तत्काल खुला गर्न आग्रह गरेको छ । पछिल्लो समय नेपालबाट भारतीय लगायत अन्य देशका नागरिकहरुले अन्तर्राष्ट्रिय यात्राका लागि सुविधा पाएपनि नेपालीहरु भने समस्यामा परेको गुनासो समेत सुनिएकोले यात्रामा नेपाली नागरिकलाई पहिलो प्राथमिकतामा राख्न समेत संघले अनरोध गरेको छ ।

यसका साथै विदेशबाट नेपाल फर्कदा नेपाली दुताबासहरुबाट अनुमति लिनुपर्ने लगायतका विषयमा विद्यमान झन्झटिला प्रावधानलाई हटाई यात्रा सहजिकरण गरिदिन सरकारसँग अनुरोध गरिएको छ । यात्रा सम्बन्धि सरकारले तोकेका सम्पूर्ण स्वास्थ्य मापदण्ड, नेपालमा पूरा गर्नुपर्ने क्वारेन्टिनको अवधि लगायतका अन्य प्रोटोकल कडाईका साथ पालना गर्न समेत संघले सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरेको छ ।

नागरिकतासम्बन्धी अध्यादेशप्रति गम्भीर ध्यानाकर्षण

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको नागरिकतासम्बन्धी अध्यादेशप्रति गैरआवासीय नेपाली संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विगत लामो समयदेखि नै गैरआवासीय नेपाली संघले माग गर्दै आएको गैरआवासीय नेपाली नागरिकताका विषयमा अध्यादेश मौन रहेको भन्दै ध्यानाकर्षण भएको जनाइएको हो । गैरआवासीय नेपालीहरुको माग सम्बोधनका लागि संघले नेपाल सरकारलाई अनुरोध गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com