अप्रिल १४ देखि न्युयोर्कमा मिथिला महोत्सव, प्राचीन संस्कृतिको मिश्रण भएको मिथिला कला


प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार

अप्रिल १४ देखि २१ सम्म न्युयोर्कमा मिथिला महोत्सव हुने भएको छ । मिथिला सेन्टर युएसएको आयोजनामा मिथिला महोत्सव अमेरिका गर्न लागिएको हो ।

मिथिला कला र संस्कृतिको प्रवर्द्धन र प्रदर्शन गर्नुका साथै मिथिला कलाको माध्यमबाट संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्यको प्रदर्शन गर्ने निरन्तर प्रयास स्वरुप कार्यक्रम आयोजना गरिने आयोजकको भनाई छ । यसवर्षको मिथिला महोत्सव अमेरीकाको मुल नारा ‘दिगो विकास लक्ष्यको लागी कला:  मिथिला सम्पदा’ रहेको छ ।

यसपटक सुस्वास्थ्य तथा समृद्ध जीवनलाई केन्द्रित गरी कोभिड १९ विरूद्ध सावधानी र निरोधात्मक उपायहरूसम्बन्धमा सामुदायिक जागरूकता बढाइने भएको छ । तसर्थ यो कार्यक्रममा सहभागी हुन चाहने इच्छुक कलाकारहरुलाई मुख्य नारालाई ध्यानमा राखी तयार पारिने आफ्नो चित्रकलाको नमुना र आफ्नो संक्षिप्त परिचय मार्च ६ सम्म ईमेल [email protected] मा पठाउन अनुरोध गरिएको छ ।

प्रथम मिथिला महोत्सव २ बर्ष अगाडि सन् २०१९ को अप्रिलमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा चित्रकला प्रदर्शनीसँगै सम्पन्न भएको थियो । मिथिला महोत्सव र कला प्रदर्शनीको आयोजना गर्दा अमेरिका तथा अन्य राष्ट्रहरूमाझ सांस्कृतिक पर्वको रूपमा मनाउने मात्र नभई संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यहासिल गर्ने सन्दर्भमा समेत मिथिला सम्पदाबाट हुनसक्ने योगदानबारे सामुदायिक चेतना बढाउन पनि सहयोग पुग्ने आयोजकको विश्वास छ ।

साथै मिथिला राजा सलहेश जयन्ती समारोह, नव वर्ष तथा जुड़ शीतल चाड र मिथिला साहित्य सम्बन्धी कार्यक्रमहरू पनि यसवर्षको मिथिला महोत्सव अमेरिकामा समावेश गरिनेछ ।

प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति

दक्षिण एशियामा मिथिला संस्कृतिले आफ्नो एक विशेष संस्कृतिको पहिचान बनाएको छ । रामायण र अन्य हिन्दू साहित्यमावर्णन गरिएझैं प्राचीन नेपाली र भारतीय संस्कृतिको मिश्रण मिथिला संस्कृति हो ।

देवी सीता र भगवान रामको जीवन गाथाले यससंस्कृतिमा विशेष महत्व ओगटेको छ । हजारौं वर्षअघि मिथिला राज्यको राजधानी रहेको जनकपुरधाम जन्मभूमि भएकी सीता (जानकीको नामले पनि चिनिने) को विवाह अयोध्याका राजकुमार भगवान रामकासाथ सम्पन्न भएको थियो ।

मिथिला संस्कृति एक जीवन्त संस्कृति पनि हो । किनकी नेपाल र भारत एवम् अन्य देशहरुमा बस्ने मिथिला समुदायका व्यक्तिहरुले आफ्नो सांस्कृतिक मूल्य र मान्यताहरुलाई दैनिक जीवन र व्यवहारमा अगाँलेका छन् ।

यसप्रकारले यस समुदायले आफ्नो धार्मिक, सामाजिक तथा सांस्कृतिक सम्पदालाई समृद्धशाली बनाउन योगदान गर्दै आएको र मानवता, मित्रता, शान्ति र समृद्धिको मूल्य मान्यताको प्रवर्द्धन गरेको छ। अमेरिकामा सबैभन्दा बढी मिथिला समुदायका व्यक्तिहरु दशकौंदेखि बसोबास न्युयोर्क र न्युजर्सीमा बसोबास गर्दै आएका छन् ।

संसारभर प्रख्यात मिथिला कला

मिथिला कला संसारभर प्रख्यात छ । महिला आर्टिस्टहरुको विशेष योगदानले नै मिथिला चित्रकला विभिन्नरुपमा शताब्दीऔंदेखि अस्तित्वमा छ ।

घरको भित्तामा बनाइने चित्रकलाकालागि महिला आर्टिस्टहरु प्रख्यात छन् र सो सम्बन्धी ज्ञान उनीहरुबाट नै नयाँपिढीहरुमा हस्तान्तरण हुँदैआएको छ । मिथिला कलाले पौराणिक र धार्मिक विषयहरुका अतिरिक्त सामाजिक टिप्पणी एवम् सिंगारसजावट सम्बन्धमा पनि प्रस्तुत गर्दछ ।

मिथिला चित्रकलालाई समकालीन र संकलनीय कलाको रुपमा हाल मान्यता दिईएको छ । महिला वा पुरुष आर्टिस्टका हातहरूले बनाएका कागजका तैलीय चित्रहरु माटोका भित्तामा बनाइएका चित्रहरु जस्तै छन् ।

फोटो: एकाभिशेक

विश्वका विभिन्न आर्ट ग्यालरीहरुमा मिथिला चित्रकलाको प्रदर्शन भएको छ र यसबाट ग्रामीण समुदायका विपन्न महिलाहरुकालागिआयआर्जनको श्रोत पनि बढाउने नयाँ किसिमको घरेलु उद्योग फस्टाउने संभावना बढेको छ ।

‘हामी अहिले कोभिड १९ को महामारीको कारणले एकदमै कठीन समयबाट गुज्रिरहेका छौं । हामी पूर्ण विश्वस्त छौं कि यस्ता सांस्कृतिकचाडपर्व मनाउने कार्यबाट हामीबीच सामन्जस्यता, सौजन्यता, धैर्यता र साहस बढाउन र शान्ति र समृद्धिकोलागि सामुदायिक एकतासुदृढ गर्न तथा कोभिड १९ महामारीको विरूद्धमा साबधानी र निरोधकालागि सामुदायिक जागृति बढाउन पनि मद्दत पुग्नेछ ।’ – आयोजकले बताएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com