आयो नेभाडाको थप मत परिणाम, बढ्यो मतान्तर


प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहीबार

६ वटा इलेक्टोरल मत रहेको नेभाडाको थप मत परिणाम आएको छ । पछिल्लो परिणाम अनुशार जो बाइडेनले ६ लाख ४ हजार २ सय ५१ मत प्राप्त गरेका छन् भने डोनाल्ड ट्रम्पले ५ लाख ९२ हजार ८ सय १३ मत प्राप्त गरेका छन् । यसअगाडिसम्म ८ हजारमतलेमात्र बाइडेन अगाडि रहेकोमा अब झण्डै १२ हजारको मतान्तर कायम भएको छ ।

बाइडेनले नेभाडा जितेमा अमेरकी राष्ट्रपति बन्नका लागि आवश्यक २७० इलेक्टोरल कलेज मत प्राप्त हुनेछ । नेभाडामा हारेको खण्डमा राष्ट्रपतिमा निर्वाचित हुनका लागि जर्जिया, नर्थ क्यारोलिना वा पेन्सिलभेनियामध्ये एउटा राज्यमा जीत हासिल गर्नुपर्नेछ । नेभाडाको परिणाम पनि निर्णायक बन्न सक्ने भएकाले अहिले नेभाडाले धेरैको ध्यानाकर्षण गरेको छ । २०१६ को चुनावमा नेभाडामा हिलारी क्लीन्टनले जीतेकी थिइन् ।

यो समाचार तयार पार्दासम्म जर्जियामा जो बाइडेनको तुलनामा डोनाल्ड ट्रम्प १५ हजार मतले अगाडि छन् । ९९ प्रतिशत मतगणना हुँदा पनि जर्जियामा को विजेता हुनेछ भन्ने अनुमान गर्न गाह्रो भएको छ । अत्यन्तै कम मार्जिनका कारण र अझै झण्डै ६० हजार मतगणना बाँकी रहेका कारण जर्जियामा कस्ले जित्छ अनुमान गर्न गाह्रो भएको हो ।

गणना गर्न बाँकी रहेका मतले अन्तिम परिणाम बदल्न सक्ने अझै सम्भावना रहेकाले परिणाम अनुमान गर्न अझै कठिन रहेको छ ।

विगतमा रिपब्लिकनको पकड क्षेत्र रहेको जर्जिया अहिले ब्याटलग्राउण्ड राज्यका रुपमा उदय भएको हो । जर्जियाबाट कुल १६ इलेक्टोरल मत प्राप्त हुन्छ । अहिलेसम्म ट्रम्प शुन्य दशमलव ३ प्रतिशत मतलेमात्र अगाडि रहेका छन् ।

नर्थ क्यारोलिनाको पनि पूर्ण नतिजा आउन समय लाग्नेछ । नर्थ क्यारोलिनामा नोभेम्बर १२ सम्म हुलाकबाट प्राप्त मतपत्रहरु गणना गर्न सकिनेछ । ती मतपत्रहरुमा नोभेम्बर ३ वा त्यो भन्दा अगाडिको पोष्टमार्क हुनुपर्नेछ । तर झण्डै ९४ प्रतिशत मतगणना भइसकेको छ । अहिलेसम्म ट्रम्पले अग्रता कायम गरिरहेका छन् ।

पेन्सिलभेनियामा ८९ प्रतिशत मत गणना गरिएको छ । त्यसपछिको परिणाम सार्वजनिक गरिएको छैन । थप परिणाम आगामी घण्टाहरुमा आउने अपेक्षा गरिएको छ । पेन्सिलभेनियामा शुक्रबारसम्म हुलाकबाट आएका मतपत्रहरु गणना गरिनेछ । त्यसैले शतप्रतिशत मत गणनाका लागि शुक्रबारसम्म कुर्नुपर्नेछ । पेन्सिलभेनियामा अझै झण्डै साढे ७ लाख मतगणना गर्न बाँकी रहेको जनाइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com