आजदेखि अमेरिका क्षेत्रको एनआरएनए विज्ञ भेला: भर्चुअल कार्यक्रममा समेत अटाएनन् महिला


प्रकाशित मिति : भाद्र १९, २०७७ शुक्रबार

आजदेखि एनआरएनए अमेरिका क्षेत्रको विज्ञ भेला भर्चुअल रुपमा सुरु हुँदैछ । तर भर्चुअल भेलाका कैयन कार्यक्रम र फोरममा समेत महिलाहरुलाई वक्ता वा अतिथिका रुपमा सहभागी नगराइएपछि विरोध चर्किएको छ ।

पुरुषमात्रै भएको मञ्च बहिस्कार गर्ने अभियान चलिरहेको बेलामा एनआरएन विज्ञ भेलाका कैयन महत्वपूर्ण कार्यक्रम र फोरममा महिला नअटाएको भन्दै कतिपय महिलाहरुले त्यस्ता फोरमहरुमा सहभागीता नै बहिष्कार गरेका छन् । एनआरएनए आईसीसीकी पूर्व सदस्य सुनिता शर्माले फेसबुकमा कार्यक्रममा फ्लायरहरु शेयर गर्दै लेखेकी छिन् – ‘तस्वीर आफै बोल्छ ।’

भर्चुअल छलफल जसमा एकजना महिललाई समेत सहभागी गराइएको छैन ।

त्यस्ता कैयन फ्लायरहरुमा प्यानलिष्ट वा अतिथिका रुपमा एउटा समेत महिलालाई सहभागी नगराइएको देखिएको छ । आफूले सुरुदेखि नै यो कुरा उठाउँदै आएपनि विज्ञ भेलाका कैयन कार्यक्रम र फोरममा एउटा पनि महिलालाई सहभागी नगराइनु लज्जाजनक भएको एनआरएन आईसीसी सदस्य डाक्टर बिष्णुमाया परियारले बताइन् ।

सुनिता शर्माले सामाजिक सञ्जालमा शेयर गरेका ५ वटा फ्लायरमा नेपाली नागरिकताको निरन्तरता सम्बन्धि बहसमा सांसद पम्फा भुसाललाई सहभागी गराइएको छ, अरु कुनै पनि बहस र फोरममा महिलाको सहभागिता छैन ।

उदाहरणका लागि नेपाली भाषा, साहित्यमा अनेक व्यवधान, भाषाको एकरुपता एकमात्र समाधान नारा दिएर एउटा छलफलको आयोजना गरिएको छ । उक्त कार्यक्रमका प्रस्तोता एनआरएनए आईसीसी सदस्य गोपीकृष्ण काफ्ले रहेका छन् । यो कार्यक्रममा ८ जना साहित्यकारहरुलाई सहभागी गराइएको छ, तर त्यसमा एकजना पनि महिला छैनन् ।

भर्चुअल छलफल जसमा एकजना महिललाई समेत सहभागी गराइएको छैन ।

त्यस्तै एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले संचालन गर्ने महामारीका स्वास्थ्य गतिविधि र शिक्षाको प्रवद्र्धनका प्रयासबारेको छलफलमा शिक्षामन्त्री गिरिराजमणी पोखरेलसहित ५ जना वक्ता रहेका छन् । तर कोही पनि महिला छैनन् । त्यस्ता अन्य कैयन कार्यक्रमको आयोजना गरिएको छ, जसमा कुनै पनि महिलालाई सहभागी गराइएको छैन ।

रोचक त के छ भने महिलासँग सम्बन्धित र महिला चेयर भएका कार्यक्रममा भने पुरुषको सहभागिता समेत छुटाइएको छैन । लैगिक हिंशासम्बन्धि डाक्टर बिष्णुमाया परियारको चेयरमा संचालन हुने फोरममा एकजना पुरुष कानुन व्यवसायीलाई समेत सहभागी गराइएको छ ।

यो विज्ञ भेलाको चेयर अमेरिका क्षेत्रका लागि एनआरएनए आईसीसीका तर्फबाट क्षेत्रीय संयोजक राजन त्रिपाठीले गरेका छन् । त्यस्तै चार मुख्य संयोजकमा भने दुईजना महिला र दुईजना पुरुषहरु उमा कार्की थापा, बिमला सापकोटा, गोपीकृष्ण काफ्ले र राम सी पोखरेल रहेका छन् ।

पुरुषमात्र हुने मञ्च इन्कार अभियान

राजनीतिक, साहित्यिक, आर्थिक वा कुनै पनि विषयमा हुने कार्यक्रममा मञ्चमा महिलाको उपस्थिति भएको या नभएको भन्नेबारे तीब्र बहस सुरु भएको केही बर्ष भइसकेको छ । गतबर्ष एक गैरसरकारी संस्थाले पुरुषमात्र हुने मञ्च इन्कार गरौं भन्ने अभियानको थालनी नै गरेको थियो ।

त्यो यता मञ्चमा पुरुषमात्रै भएका कैयन कार्यक्रम महिलाले बहिष्कार गर्दै आएका छन् । पोखरामा भएको नेपाल भ्रमण वर्ष उद्घाटन कार्यक्रममा स्थानीय आमा समूहले मञ्चमा सबै पुरुषमात्रै भएको भनी गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङको कार्यक्रम नै बहिष्कार गरेका थिए ।

तर कतिपयले विरोध नहोस् भन्नका लागिमात्र मञ्चमा महिलालाई सहभागी गराउने गरेका छन् । महिला अधिकारकर्मीहरु भने मञ्चमा महिला सहभागिता विधि पुर्याउनका लागिमात्र नभई नीति निर्माणका लागि हुनुपर्ने बताउँदै आएका छन् ।

धेरैजसो कार्यक्रममा महिलाको योग्यता नभएकाले चाहँदाचाहँदै पनि महिलाहरू ल्याउन नसकिएको भन्ने तर्क समेत सुनिन्छ। तर महिला अधिकारवादीहरु भने त्यसलाई पुरुषबादी सोंच बताउँछन् ।

धेरैजसो कार्यक्रमका आयोजक पुरुष नै भएकोले उनीहरूको सङ्गत पनि पुरुषसँग नै हुँनेहुँदा बेलाबेला विषय सुहाउँदो महिला भेट्न समस्या हुने गरेको तर्क समेत गरिन्छ । करिब तीन वर्षअघि काठमाण्डौंमा भएको अन्तर्राष्ट्रिय साहित्यिक महोत्सवुको प्यानलमा सबै पुरुषमात्रै राखिएको भन्दै लेखिका अर्चना थापाले कार्यक्रम नै बहिष्कार गरेकी थिइन् ।

सकेसम्म यस्ता विषयलाई बहसमा ल्याएर नै मञ्चमा महिलाको उपस्थिति अनिवार्य गराउनुपर्ने कतिपय महिला अधिकारकर्मीहरु बताउँछन् ।
पुरुषमात्रै मञ्चमा देखिँदा पुरुषमात्रै बौद्धिक हुन्छन्, पुरुषले मात्रै तार्किक कुरा गर्न सक्छन् जस्तो लाग्ने तथा लामो समय वित्दा विचारधारा नै त्यसैगरी एकतर्फीमात्रै बन्ने महिलाअधिकारकर्मीहरुको तर्क छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com