अमेरिकी राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने अभियानमा न्युयोर्कका नवराज


प्रकाशित मिति : भाद्र १८, २०७७ बिहीबार

न्युयोर्कको क्वीन्स कलेज प्वाइन्टमा श्रीमति र दुई सन्तानसहित बस्दै आएका नवराज केसी नेपाली अमेरिकन विजनेशम्यान र रियल्टरमात्र होइनन्, उनले केहीसमयदेखि अमेरिकन राजनीति र राजनीतिज्ञसँग नेपाली समुदायलाई जोड्ने काम समेत गरिरहेका छन् ।

उनी केहीबर्षदेखि नै यो अभियानमा सकृय छन् । तर कोरोनाको महामारीमा त्यसको प्रत्यक्ष फाइदा न्युयोर्कमा रहेको नेपाली समुदायले लिन सक्यो । उनको पहलमा कोरोनाको महामारीको बेलामा क्वीन्स बोरो, बु्रकलिन बोरो र न्युयोर्क सिटी मेयर अफिसबाट
नेपाली समुदायका लागि झण्डै १५ हजार मास्क, झण्डै ९ हजार ह्याण्ड सेनिटाइजर, झण्डै १२ हजार ग्लोभ्स प्राप्त भएको थियो ।

विभिन्न संघसंस्था र व्यक्तिमार्फत ती सामाग्रीहरु न्युयोर्कको नेपाली समुदायलाई वितरण गरिएको थियो । न्युयोर्कमा मास्क, सेनिटाइजर र ग्लोभ्सको हाहाकार भएको बेलामा यति धेरैमा मात्रामा प्राप्त सहयोगले नेपाली समुदायलाई ठूलो राहत मिलेको थियो ।

कोरोना महामारीमा नेपाली समुदायको सहयोगमा जुट्ने क्रममा नवराज

नवराज केसीले क्वीन्स बोरो, बु्रकलिन बोरो र न्युयोर्क सिटी मेयर अफिसबाट सहयोग प्राप्त गर्नका लागि सेतुको काममात्र गरेनन्, छुट्टै पहलमा थर्मामिटर र औषधीहरु किनेर नेपाली समुदायलाई वितरण समेत गरे । रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका तत्कालिन अध्यक्ष समेत रहेका केसीको नेतृत्वमा क्लबका तर्फबाट ५ सय थर्मामिटर र १० हजार पोका ज्वरोको औषधी टायलोनोल नेपालीहरुलाई वितरण गरियो ।

केसी सन् २०१९ देखि सन् २०२० को जुनसम्म रोटरी क्लब अफ न्युयोर्क क्वीन्सका अध्यक्ष रहेका थिए । हाल उनी रोटरी इन्टरनेशनलको डिस्ट्रिक्ट ७२५५ मा एसिस्टेन्स गभर्नर रहेका छन् ।

महामारीको अवधिमा न्युयोर्क सिटीबाट प्राप्त ७ हजार ५ सय छाक तयारी खाना समेत उनकै पहलमा नेपाली समुदायलाई वितरण गरिएको थियो । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको ब्याम्बो हाउस रेष्टुरेण्टको अगाडि उक्त खाना वितरण गरिएको थियो । केसी ब्याम्बो हाउसका संचालक समेत हुन् ।

सन् २००२ मा अमेरिका आएका धादिङका केसीले अमेरिकाको स्थानीय राजनीतिप्रति चासो राख्न लागेको धेरै भएको छैन । सन् २०१७ देखि स्थानीय राजनीतिमा चासो बढेको हो । त्योसँगै सन् २०१८ मा उनी क्वीन्स बोरो प्रेसिडेन्टबाट कम्युनिटी बोर्ड सदस्यमा नियुक्त भएपछि अमेरिकी राजनीतिज्ञहरुसँगको सम्पर्क र सम्बन्ध अझ बढ्यो ।

त्यसपछि नेपाली समुदायका कार्यक्रममा अमेरिकाका स्थानीय राजनीतिज्ञहरुलाई बोलाउने र नेपाली समुदायसँग सम्बन्ध बढाउनेमा उनी सकृय रहे । उनका पहलमा नेपाली समुदायका दर्जनौं कार्यक्रममा स्थानीय अमेरिकी राजनीतिज्ञहरु सहभागी भइसकेका छन् ।

आफूले रोटरी क्लबको कार्यक्रममा स्थानीय निर्वाचित अधिकारीहरुलाई बोलाउने गरेको र नेपाली समुदायसँगको सम्बन्ध विस्तारका लागि उनीहरु पनि इच्छुक रहेको केसीले बताए । स्थानीय काउन्सिल सदस्यहरुदेखि बोरो प्रेसिडेण्डसम्म नेपालीका कार्यक्रममा अतिथिका रुपमा सहभागी हुने गरेका छन् ।

नवराज सामाजिक न्यायका अभियानमा पनि सकृय रहदै आएका छन् ।

केसीको पहलमा बु्रकलिन बोरो प्रेसिडेण्ड एरिक आडम्स, न्युयोर्क सिटी काउन्सिल सदस्य फर्नान्डो कारबेरा, काउन्सिल सदस्य डोनोभान रिचार्ड लगायतका राजनीतिज्ञहरु नेपालीका कैयन कार्यक्रमहरुमा लगातार सहभागी भइरहेका छन् ।

फर्नान्डो कारबेरा ब्रोंक्सको बोरो प्रेसिडेण्डका लागि सन् २०२१ मा हुने चुनावका उम्मेदवार हुन् भने एरिक आडम्स सन् २०२१ मा हुने चुनावमा न्युयोर्क सिटीका मेयरका उम्मेदवार हुन् ।

डोनोभान रिचार्ड गत जुनमा भएको डेमोक्रेटिक प्राइमरीमा क्वीन्स बोरो प्रेसिडेण्डका लागि निर्वाचित भइसकेका छन् । डेमोक्रेटिक पार्टीको पकड रहेको यो क्षेत्रमा उनी अबको चुनावमा प्रेसिडेण्डमा निर्वाचित हुने लगभग निश्चित छ । रिचार्ड नेपाली समुदायका तर्फबाट गोर्खाली समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा प्रमुख अतिथि भएर आउनुका साथै आफै रक्तदान समेत गरेका थिए ।

नवराज केसी स्थानीय अमेरिकी राजनीतिज्ञहरुका चुनावी अभियानमा पनि उत्तिकै सकृय रहदै आएका छन् । न्युयोर्क सिटीको मेयरका लागि डेमोक्रेटिक प्राइमरीका लागि उम्मेदवारी दिएका ब्रकलिन बोरो प्रेसिडेण्ड एरिक आडम्सको चुनावी अभियानमा उनी स्वयंसेवक हुन् । हरेक हप्ता झण्डै एकघण्टा हुने कन्फ्रेन्स कल बैठकमा उनी सहभागी हुँदै आएका छन् । नेपाली समुदायका तर्फबा केसीका साथमा झण्डै ६५ जना स्वयंसेवकका रुपमा खट्दैछन् ।

अमेरिकी सांसद जोसेफ क्राउलीको चुनावी अभियानमा पनि नवराज झण्डै तीन महिना स्वयंसेवकका रुपमा खटेका थिए । चुनावी अभियानमा घरघरमा पुग्नेदेखि फोनकलगर्नेसम्मका गतिविधिमा उनी सहभागी भएका थिए । त्यसै अवशरमा हाउस स्पीकर न्यान्सी पेलोसीसँगको भेटघाटको अवशर समेत जुरेको थियो ।

हाउस स्पीकर न्यान्सी पेलोसीसँग नवराज

न्युयोर्क सिटी काउन्सिल सदस्य डानियल ड्रमदेखि न्युयोर्क राज्य सिनेटर जेसिका रामोससम्मको चुनावी अभियानमा उनी सकृय भए । त्यस्तै राज्य सांसद क्याटालिना क्रुजको चुनावी अभियानमापनि उनी सकृय भए । यसरी चुनावी अभियानमा लाग्दै गर्दा केसीको अमेरिकी राजनीतिप्रति चासोमात्र बढेन, अमेरिकी राजनीतिज्ञसँगको सम्बन्ध पनि विस्तार हुँदै गयो ।

अमेरिकाको स्थानीय राजनीतिमा सकृय बन्दै गएमा स्थानीय सरकारका साधनश्रोतमा समुदायको पहुच कायम गर्न सहज हुने केसीको विश्वास छ । उनी भन्छन् – ‘नेपाली समुदायले आफ्नो तागत देखाउनसकेको खण्डमा अमेरिकी राजनीतिज्ञहरुको नेपाली समुदायप्रति चासो बढ्छ । यसबाट नेपाली समुदायलाई नै फाइदा पुग्छ ।’

नवराज केसी कम्युनिटी बोर्ड सदस्यमा नियुक्त हुँदा कम्युनिटी बोर्ड सदस्यमा नेपाली अमेरिकनको संख्या निकै कम थियो । अहिले ९ जना नेपाली अमेरिकनहरु क्वीन्समा कम्युनिटी बोर्डमा सदस्य रहेका छन् । कम्युनिटी बोर्ड स्थानीय राजनीतिमा सकृय हुन चाहनेहरुका लागि पनि आधार भएको विश्वास गर्छन् केसी । न्युयोर्कमा मेयर बिल ब्लाजिओपनि कम्युनिटी बोर्ड सदस्य हुँदै स्थानीय राजनीतिमा प्रवेश गरेका थिए ।

‘नवराज केसी डे’ कार्यक्रममा स्थानीय राजनीतिज्ञसँग नवराज

गत डिसेम्बरमा न्युयोर्कमा अमेरिकन राजनीतिज्ञहरुको उपस्थीतिमा नवराज केसी डे समेत आयोजना गरिएको थियो । सोही अवशरमा अमेरिकन सांसद ग्रेस मिङबाट हस्ताक्षरित प्रोक्लेमेसन समेत हस्तान्तरण गरिएको थियो । अमेरिकाको डुकेन विश्वविद्यालय पिट्सबर्गबाट ग्लोबल लिडरसिपमा मास्टर्स गरेका केसी भन्छन् – ‘अब अमेरिकाको स्थानीय राजनीतिमा अगाडि बढ्ने योजना बनाएको छु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com