साढे तीन महिनापछि खुले इंग्ल्याण्डका पब र रेष्टुरेन्ट


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

कोरोना भाइरस संक्रमणका कारण गत मार्च तेश्रो सातादेखि बन्द रहेका इंग्ल्याण्डका पब, रेष्टुरेन्ट र होटलहरु शनिबारदेखि पुन सञ्चालन भएका छन् ।

देशमा संक्रमण ओरालो लाग्दै गर्दा लकडाउन क्रमशः खुकुलो पार्दै जाने चरणबद्ध योजनाअनुसार यी व्यवसाय खुलाइएको हो ।

पब, रेष्टुरेन्टहरुमा संक्रमण फैलन नदिन एक मिटर प्लस सामाजिक दूरीसहितका सतर्कताहरु भने अनिवार्य गरिएको छ ।

शनिबारदेखि पब, रेष्टुरेन्टका साथै हेयरड्रेसर, सिनेमा लगायत व्यवसाय सञ्चालन गर्ने अनुमति पनि दिइएको छ । विकेन्ड र लामो समयपछि खुलेका कारण कपाल काट्न मानिसहरुको बिहानै देखि भीड लागेको देखिन्छ ।

आजदेखि दुईघरका मानिसहरु आउटडोर, इन्डोर भेटघाट गर्न र रात बस्न समेत पाउनेछन् । प्रार्थना अनि पूजा गर्ने ठाउंहरु पनि खुलेका छन् । आउटडोर जिम, बालबालिकाका खेल मैदान, पुस्तकालय, कम्युनिटी सेन्टर, बिंगो हल, संग्रहालय, फन फेयर, थिम पार्क, सोसियल क्लब आदि पनि खुल्ला भएका छन् । तीस जनासम्मको जमघटमा बिहे समारोह गर्न अनुमति दिइएको छ ।

लेस्टरमा भने संक्रमण बढेका कारण त्यस क्षेत्रमा पूर्णत लकडाउन गरिएको छ ।

नर्दन आयरल्याण्डमा पनि शुक्रबारदेखि उल्लेखित व्यवसाय सञ्चालन हुंदैछन् । स्कटल्याण्डमा आउंदो सोमबारदेखि खुलाइंदैछ भने वेल्समा अझै मिति तय गरिएको छैन् ।

सरकारका बैज्ञानिक सल्लाहकारहरुले भने लकडाउन खुकुलो पारिनुको अर्थ ‘जोखिम हटिसकेको’ भन्ने नभएको बताएका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com