साढे ५ करोडको दही बिक्री


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

दहीचिउरा खाने दिनका रुपमा हेरिएको असार १५ गते रु साढे पाँच करोडको दही बिक्री भएको छ । निजी क्षेत्रका डेरी व्यवसायी र सरकारी स्वामित्वमा सञ्चालित दुग्ध विकास संथान (डिडिसी) बाट रु पाँच करोड ४६ लाख ६० हजारको दही बिक्री भएको जनाइएको छ ।

निजी क्षेत्रका दूग्ध व्यवसायको संस्था नेपाल डेरी एशोसिएशनबाट देशैभर चार लाख तीस हजार लिटर दही बिक्री भएको एशोसिएशनका महासचिव प्रल्हाद दाहालले जानकारी दिए । उनका अनुसार बन्दाबन्दीका कारण गत वर्षको तुलनामा दहीको खपतमा कमी आए तापनि  तीन गुणा बढी खपत भएको छ । ‘गत वर्ष असार पन्ध्रका दिन मागअनुसारको दही पुर्याउन एक सातादेखि मौज्दात राख्नुपथ्र्यो तर बन्दाबन्दीका कारण यसपालि धेरै माग नभएको र मागअनुसार खपतमा सहज भयो’ उनले भने ।

१० प्रतिशतले कमी
गत वर्षको तुलनामा यस वर्ष डिडिसीको दही खपतमा १० प्रतिशतले कमी आएको छ । सबैभन्दा धेरै दही काठमाडौँ उपत्यकामा खपत हुँदै आएकामा बन्दाबन्दीका कारण उपत्यका छाड्नेहरु वृद्धि हुँदा खपतमा कमी आएको डिडिसीले जनाएको छ ।

डिडिसीका महानिर्देशक रुद्रप्रसाद पौडेलका अनुसार यस वर्ष काठमाडौँ उपत्यकामा तीस हजार लिटर र बाहिर चालीस हजार लिटर गरी ७० हजार लिटर दही बिक्री भएको छ । अन्य समयमा साँझ ५ बजेसम्म खुल्ने बिक्री केन्द्र उपभोक्तालाई ध्यानमा राख्दै साँझ ७ बजेसम्म खुला गरिएको उनले जानकारी दिए । गत वर्ष निजी र सरकारी दुवैबाट असार १५ को दिन सात हजार लिटर दही बिक्री भएको थियो । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com