मोदीले भने- भारत आफ्नो सीमा र सार्वभौमसत्ताको रक्षा गर्न प्रतिबद्ध छ


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत आफ्नो सीमा र सार्वभौमसत्ताको रक्षा गर्न प्रतिबद्ध भएको बताएका छन् ।

आइतबार मासिक रेडियो कार्यक्रम ‘मन कि बात’ मा बोल्दै प्रधानमन्त्री मोदीले भारतीय भूमिमाथि आँखा गाड्‌नेलाई उपयुक्त जवाफ दिइएकोसमेत बताएका छन् ।
उनले भने, “आफ्नो सीमा र सार्वभौमसत्ताको सुरक्षाका लागि भारतको प्रतिबद्धता विश्वले हेरिरहेको छ । पछिल्लो समय लद्दाखमा भारतले उपयुक्त जवाफ दिएको छ ।”

उनले पूर्वीलद्दाखमा सीमा रक्षाका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्‍जलि अर्पण गरेका थिए । “मित्रवत व्यवहार कसरी निभाउनुपर्छ र शत्रुलाई जवाफ कसरी दिनुपर्छ भन्‍ने भारतलाई राम्रोसँग थाहा छ । हाम्रा साहसी सैनिकहरुले आफ्नो मातृभूमिको अस्तित्वमा सानो दाग लाग्‍नसमेत दिएका छैनन्,” उनले भने ।

प्रधानमन्त्री मोदीले अहिले विभिन्‍न अप्ठ्याराहरु सिर्जना भएको उल्लेख गर्दै चाँडै सबै अप्ठ्याराहरुमाथि जित हात पार्नेसमेत दाबी गरे ।

उनले भने, “मानिसहरुको अहिले एउटै प्रश्‍न छ- सन् २०२० कहिले सकिन्छ ? यो वर्ष विभिन्‍न चुनौतीहरुको सामना गर्नुपरेको छ । यहाँ थुप्रै चुनौतीहरु हुनसक्छन् । तर, हाम्रो इतिहास साक्षी छ कि हामीले हरेक चुनौतीमाथि जित हात पारेको छौं । चुनौतीमाथि विजय प्राप्त गरेपछि हामी थप बलिया भएको हाम्रो इतिहास छ । यस वर्षका सम्पूर्ण चुनौतीमाथि हामी जित हात पार्नेछौं ।”

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com