विदेशमा निधन भएका ४० नेपालीको शव नेपाल लगियो, १ सय ६४ बाँकी


प्रकाशित मिति : असार ७, २०७७ आईतबार

वैदेशिक रोजगारीको शिलसिलामा मृत्यु हुने नेपालीहरुको अवस्था निकै कहाली लाग्दो छ । घर परिवारको समस्याका कारण बाध्य भएर विदेश जानुको पीडा एकातर्फ छ भने विदेश गएपछि अकालमै मृत्यु र घाइते हुनुको पीडा झनै भयावह छ । दैनिक रुपमा झन्डै दुईवटा शव नेपाल भित्रिने गरेको तथ्याँक छ ।

कोरोना संक्रमणका कारण जारी लकडाउनले गर्दा अन्तर्राष्ट्रिय उडान बन्द हुँदा छोटो अवधिभित्र नै ३ सय १८ वटा शव विदेशमा अलपत्र थिए । तर गएको सातादेखि चार्टर उडानमार्फत विदेशमा अलपत्र नेपालीहरुलाई स्वदेश फर्काउने सरकारको नीति अनुरुप ति शव पनि नेपाल ल्याउने क्रम सुरु भएको छ ।

शुक्रबारसम्ममा ४० वटा शव नेपाल ल्याइसकिएको गैर आवासीय नेपाली संघले जानकारी दिएको छ । अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक एक जनाको शव नेपाल ल्याइएको हो । मृत्यु भएका ३१८ मध्ये ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका छन् । यस बाहेक अझै १६४ शवको व्यवस्थापन गर्न बाँकी छ । उनीहरुको अन्त्येष्टि र व्यवस्थापनका लागि गैरआवासीय नेपाली संघले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीबाट अर्बौं रेमिट्यान्स भित्रिए पनि उनीहरुबारे भने सरकार मौन रहँदै आएको छ । वर्षेनी लाखौँ नेपाली रोजगारीका लागि विदेश जाने गर्दछन् । तीमध्ये कतिपयले ज्यान गुमाउने, कतिपय घाइते हुने, कतिपय अस्पतालमा मृत्युसंग लडिरहेका छन् भने कतिपयले जेलमा यातना भोगिरहेका छन् । त्यस्तै बेरोजगारीको पीडा भोग्न बाध्य नेपालीको संख्या पनि उत्तिकै छ । सैयौंको संख्यामा जेल जीवन बिताइरहेका नेपालीमध्ये कतिपय आजीवन कारावासको सजाय भोगिरहेका छन् । झन्डै डेढ दर्जन जतिलाई मृत्युदण्डको सजाय सुनाइसकिएको छ । सबैभन्दा बढी नेपाली मलेशियाको जेलमा छन् ।

नेपाली लिङ्क

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com