साँस्कृतिक ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक : सत्यमोहन जोशी
प्रकाशित मिति : पुस २६, २०७६ शनिबार

शताव्दी पुरुष सत्यमोहन जोशीले साँस्कृतिक ज्ञान पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नु आवश्यक रहेको बताएका छन् । काठमाडौँको नैकापमा कमला कार्की स्मृति प्रतिष्ठानद्धारा आयोजित कार्यक्रममा उनले नयाँ र पुराना पुस्ताबीच साँस्कृतिक आदान प्रदानमा जोड दिए । कला संस्कृतिको विकास र सम्र्वद्धनका लागि शैक्षिक संस्थाहरुको भूमिका महत्वपुर्ण हुने उनको भनाइ छ । पछिल्लो समय नयाँ पुस्तामा मुलुकको कला संस्कृति तथा ऐतिहासिक धरोहरहरुबारे पर्याप्त अध्ययन अनुसन्धान हुन नसकेको जोशीले बताए ।
सो कार्यक्रममा प्रतिष्ठानले आ–आफ्नो क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई सम्मान गरेको थियो । पत्रकार आरती लम्साल, गायिका सृजना केसी एवं भलिबल खेलाडी सलिना श्रेष्ठलाई जनही दश हजार नगद सहित सम्मान गरिएको थियो । श्रेष्ठ राष्ट्रिय भलिबल खेलाडी हुन् भने लम्साल न्युयोर्क सिटी पोष्टका नेपाल सम्पादक हुन् । उनले हालै मात्र भारतमा डा. अम्बेडकर अन्तराष्ट्रिय अवार्ड समेत प्राप्त गरेकी छिन् ।
प्रतिष्ठानले निसहाय साहरा केन्द्रकी अध्यक्ष सगुन शाहलाई सो नगद असी हजार रुपैँया सहित सम्मान गरेको थियो । केन्द्रले लामो समयदेखि असहाय महिलाहरूको संरक्षणमा योगदान पु¥याउँदै आएको छ ।
त्यसैगरी, चन्द्रागिरी नगरपालिका वडा नं १४ र १५ का धनमाया महर्जन र मिठु केसीलाई पनि नगद दश दश हजार सहित सम्मान गरिएको थियो । उनीहरु सम्बन्धित वडाका जेष्ठ महिला हुन् ।
कार्यक्रममा साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले सम्मानित व्यक्ति तथा संस्थाबारे जानकारी गराएका थिए । डा. लम्सालले यो केवल सम्मान कार्यक्रम मात्र नभएर ज्ञानको हस्तान्तरण र पुस्ता मिलन पनि भएको बताए । कमला कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष मोहन कार्कीले सम्मान र पुरस्कारलाई निरन्तरता दिँदै राष्ट्रिय स्तरमा समेत प्रतिभाहरूको प्रोत्साहन गर्ने बताए । उनले विद्यालय स्तरको छात्रवृति पनि थप्दै जाने उल्लेख गरे । सो कार्यक्रममा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठ , उमेश श्रेष्ठ लगायतको समेत उपस्थिति रहेको थियो ।