‘अनेक तिकडमबाजी र चुनौतीका बाबजुत चुनाव जितें, अब एजेण्डा पूरा गर्न लागिपर्छु’


प्रकाशित मिति : मंसिर १४, २०७६ शनिबार

सोनाम लामा काठमाडौंमा गत अक्टोबरमा सम्पन्न एनआरएनए निर्वाचनमा उपाध्यक्षमा निर्वाचित हुनुभयो । झण्डै एकदशकभन्दा लामोसमयदेखि एनआरएनए अभियानमा सकृय रुपमा सहभागी रहदै आउनुभएका अमेरिकी निवासी सोनाम लामाले न्युयोर्क आइपुगेर सबै मतदाताहरुलाई धन्यवाद दिनुभएको छ । सन् २००९ देखि लगातार ४ बर्ष एनआरएनए आईसीसी सदस्य रहनुभएका सोनाम लामाको पहलमा एनआरएनए अमेरिका बन्द कोठाबाट आम जनतामाझ आउन सफल भएको थियो । लामा एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि डीआरसी रहेकै बखत एनआरएनए अमेरिकाको पहिलोपटक आमरुपमा सदस्यता वितरण र निर्वाचन सम्पन्न भएको थियो ।

सन् २०१५ मा एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा निर्वाचित लामाले नेपालमा आएको विनाशकारी भूकम्पमा प्रत्यक्ष फिल्डमा खटिएर राहत वितरण लगायतका काममा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । त्यस्तै नेपालमा बाढीपहिरो लगायतका प्रकोप आउँदा पनि उहाँ अमेरिकाबाट नेपाल आएर राहतको कार्यमा खटिदै आउनुभएको छ ।

मुस्ताङको मुक्तिनाथ पुराङमा जन्मिनुभएका लामा झण्डै २४ बर्षदेखि अमेरिकामा रहँदै आउनुभएको छ । अमेरिकामा अर्गानिक सुपरमार्केटको बिजनेश गर्ने लामा नेपालको मुस्ताङमा अर्गानिक स्याउको उत्पादनमा लागिरहनुभएको छ । मुस्ताङको जोमसोममा उहाँका स्याउ फर्महरु संचालित छन् । नेपाली कृषि उत्पादनको प्रवद्र्धनमा सकृय लामा पर्पटन प्रवद्र्धनको क्षेत्रमा पनि उत्तिकै लागि रहनुभएको छ ।

मुक्तिनाथमा लामाकै एकल पहलमा स्थापना गरिएको बुद्धमूर्ति नेपालकै सबैभन्दा अग्लो स्थानमा स्थापित ढुंगाको बुद्धमूर्ति हो । यो बुद्धमूर्तिको स्थापनामा ४ करोड भन्दा धेरै रकम खर्च भइसकेको छ । अमेरिकामा रेष्टुरेण्ट व्यवसाय गर्नुभएका लामाले नेपालको मुक्तिनाथमा रिसोर्ट र काठमाडौंमा होटल संचालनको तयारी गरिरहनुभएको छ ।

उहाँको नेतृत्वमा भएको न्युजर्सी सम्मेलनबाट नै भिजन २०२० एण्ड वियोण्ड पारित भएको थियो ।

न्युयोर्क आइपुग्नुभएका सोनाम लामासँग खसोखासका प्रधानसम्पादक किशोर पन्थीले कुराकानी गर्नुभएको थियो । कुराकानीका क्रममा लामाले आफ्नो चुनावी अनुभव पनि सुनाउनुभएको छ ।

 

एनआरएनए आईसीसीको उपाध्यमा निर्वाचित हुँदाको अनुभव कस्तो रह्यो ?

चुनावमा लाग्ने बित्तिकै त्यो कस्तो हुन्छ भन्ने सबैलाई थाहै छ । एनआरएनएमा काम गर्ने व्यक्तिको सहभागिता हुनुपर्छ, कामको योगदान हुनुपर्छ भन्ने मान्यता अनुशार सहमतिमा जानुपर्छ भन्ने पक्षमा नै थिएँ । तर चुनावमा जानुपर्ने अवस्था आयो । चुनावमा राजनीतिक चलखेल निकै भएकाले मलाई पनि निकै गाह्रो भयो । विद्युतीय मतदान गरेको भए मैले निकै पपुलर मत ल्याउने थिएँ तर कागजबाट मतदान भयो । आफू जित्नका लागि र मलाई हराउनका लागि रातारात एकछापे भोटको अभियान पनि चलाए । राजनीतिक पार्टीमा लागेकाहरुले पनि आफ्ना पार्टीका तर्फबाट उठेकाहरुलाई एकछापे भोट दिने अभियान चलाएका कारण मेरा लागि निकै चुनौतीपूर्ण भयो ।

राजनीतिक हस्तक्षेप र चलखेल पनि निकै चर्को भयो । तपाईको उम्मेदवारीलाई कुन पार्टीको समर्थन थियो ?

म एनआरएनए संस्थामा काम गर्ने व्यक्ति हुँ, पार्टीमा काम गर्ने व्यक्ति होइन । जुन व्यक्ति संस्थामा लागेको छ, जुन व्यक्तिको योगदान छ, त्यो नै अगाडि बढ्नुपर्छ भन्ने मेरो मान्यता हो । त्यही मान्यताका कारण मैले कुनै राजनीतिक दलका कुरा सुनिन । राजनीतिक दलमा लाग्नेहरुले मलाई निकै ठूलो चुनौती दिए ।

संस्थामा लागेर महासचिव हुँदै दुईपटकसम्म उपाध्यक्ष भइसकेका व्यक्ति कुमार पन्त नै अध्यक्षमा आउनुपर्छ भनेर म उहाँलाई समर्थन गरेर लागें । मैले व्यक्ति वा पार्टीलाई सोंचेर होइन, संस्थालाई सोंचेर समर्थन गरेको हो । मैले सोंचे अनुशार सफलता प्राप्त भएकोमा म निकै खुशी छु ।

चुनाव प्रचारका क्रममा मुस्ताङमा आफैले उत्पादन गरेको स्याउमा स्टीकर लगाएर भिन्न शैली अपनाउनु भयो । यसबाट कुनै सन्देश दिन खोज्नुभएको थियो ?

म अमेरिकामा बसेर एनआरएनमा लागेको मान्छे हुँ । म यहाँबाट मुस्ताङमा गएर स्याउ फार्म संचालन गरिरहेको छु । म न्युयोर्क छाडेर आफै जन्मेको स्थानमा गएर स्याउ उत्पादनमा लागेको छु । मैले त सबैजना यसरी आफ्नो देशमा उत्पादनमा लाग्नुपर्छ भन्ने सन्देश दिनका लागि स्याउको उदाहरण दिएको हुँ । नेपालको माटोमा स्याउ, सुन्तला फलाउन वा कुनै कृषिजन्य उत्पादनका लागि विदेशमा बस्ने नेपालीहरु लाग्नुपर्छ भन्ने सन्देश दिन खोजेको हुँ । मतदाताहरुले त्यो सन्देश बुझ्नुभयो । र यस्तो व्यक्तिलाई भोट दिनुपर्छ भनेर मलाई भोट दिनुभयो । र मैले जितें ।

चुनाव अगाडि विभिन्न प्रतिबद्धता जनाउनुभएको थियो । सम्झनुभएको छ नि ?

अध्यक्षका विभिन्न एजेण्डाहरु छन् । त्यसलाई पूरा गर्न सघाउनेछु । यदि मेरा एजेण्डामा कुनै एजेण्डा अध्यक्षको भन्दा फरक भएमा हामी मिलेर लैजानेछौं । सबैको भिजनलाई समेटेर टिमवर्कका साथ अगाडि बढ्नेछौं ।

एनआरएनको साधारण सदस्यता निशुल्क बनाउने र सबै साधारणसदस्यलाई मताधिकार दिने भन्ने विषयमा बैठकमा पनि छलफल भएको छ । हामीले एउटा टिम बनाएर जिम्मा दिएका छौं । यो विषयलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा हामी छलफलमा छौं । तीनमहिना पछि हुने बैठकबाट हामीले त्यसलाई पारित पनि गर्नेछौं ।

हामीले भिजन २०२० एण्ड वियोण्डमा नै एनआरएनएलाई सस्टेनेवल बनाउनका लागि डोनेशनमात्र उठाएर नभई विभिन्न योजनाहरु समेटिएको छ । हामी नेपाल राष्ट्र बैंकमा डेलिगेशन पनि गएका थियौं । विदेशमा रहेका नेपालीले पठाउने रेमिट्यान्स नेपाल राष्ट्रबैंकमा आउने क्रममा राष्ट्र बैंकलाई आउने कमिशनबाट ३ प्रतिशतमात्र एनआरएनएलाई दिनका लागि प्रस्ताव गरेका छौं । ३ पैसाबाटमात्र पनि एनआरएनएलाई नौ दश करोड प्राप्त हुनेछ । यसरी हामीले संस्थालाई सस्टेनेवल बनाउन सदस्यता शुल्कको विकल्प खोजेका छौं ।

एनआरएनएको सदस्यता निशुल्क दिलाउनका लागि हामी लागिपरेका छौं । यसो भएमा एनआरएनएको सदस्य बन्न चाहने कसैले पनि शुल्क तिर्नुपर्नेछैन । सबैका लागि खुल्ला हुनेछ ।

सबै साधारण सदस्यलाई मताधिकार प्रदान गर्न सम्भव छ ?

अवश्य पनि सम्भव छ । हामी त्यही प्रकृयामा लागिरहेका छौं । यसबारेमा एउटा टिमले काम गरिरहेको छ । विश्वका ८१ देशमा एनआरएनए संस्था छ । सदस्यता शुल्क मिनाहा गरेर सबैलाई सदस्य बन्ने र अनलाइनमार्फत मत हाल्ने व्यवस्था गर्दैछौं । त्यसो गर्दा राजनीतिक प्रभाव कायम गर्न पनि सम्भव हुनेछैन । काम गर्ने व्यक्तिले भोट पाउनेछ ।

अमेरिकाको उदाहरण दिने हो भने झण्डै ९ हजार सदस्य संख्या छ । तर आफ्नो स्वार्थका लागि र आफ्नो जीतका लागिमात्र सदस्य बनाउने काम भयो । सदस्यता निशुल्क दिएर विश्वभरबाट दशौं लाख एनआरएन मतदाता हुँदा उनीहरुलाई कसैले किन्न सक्नेछैन । विश्वासप्राप्त विदेशी कम्पनीहरुलाई अनलाइन मतदानको जिम्मा दिन सकिन्छ । कसैले फ्रड गरेमा त्यसबाट कानुनी रुपमा जिम्मेबार हुनेगरी जिम्मा दिनुपर्छ ।

काठमाडौंमै विद्युतीय मतदान हुन नसकेर कागजी मतदानमा जानुपरेको थियो । संसारभरबाटै अनलाइनमा मतदान गर्न सम्भव होला ?

अहिले संसार नै अनलाइन डाटामा गएको छ । नेपालमा कागजी मतदान गर्दा त्यसको ठूलो मर्का त म आफैलाई परेको छ । अनलाइनमा गएमा आफू पराजित हुने आशंकाले केहीको दवावमा कागजी मतदान गर्नुपरेको थियो । आफ्नो स्वार्थका लागि यस्तो भएको हो । विद्युतीय मतदानमा जाँदा चुनाव हारिने भएकाले एकछापे कागजी मतमा जानुपर्ने कुरा इटलीमा भएको बैठकमा पनि केहीले गरेका थिए ।

तर कागजी मतदानमा जानुपर्छ भन्नेहरुले कागजी मतदानमा जाँदा समेत जितेनन् । संसार सबै अनलाइनमा गइसक्यो । सबै डिजिटल भइसक्यो । एनआरएन वृहत हुँदै गर्दा कागजबाटै मतदान गर्नुपर्छ भन्ने धारणा त्याग्नुपर्छ । एउटा देशबाटमात्र भए पो फ्रड गर्ला कि भन्नु ? विश्वब्यापी रुपमा नै अनलाइन मतदान गर्दा फ्रडको सम्भावना हुँदैन । फ्रड हुन नदिने गरी संयन्त्र बनाउनुपर्छ ।

नेपाल भ्रमण वर्ष २०२० लाई सघाउन कसरी लाग्दै हुनुहुन्छ ?

हामीले यसबारेमा पर्यटनमन्त्रीसँग मेमोमा हस्ताक्षर गरेका छौं । भ्रमण वर्षलाई सफल बनाउन विश्भर रहेका एनआरएनहरु लागि पर्नुभएको छ । टास्क फोर्स समेत बनाएका छौं । विश्वब्यापी रुपमा नै अभियान संचालनका लागि हामीले आगामी बैठकबाट योजना बनाउनेछौं । एक एनआरएनले एकजना विदेशी नेपाल भ्रमणमा पठाउँदा नेपालमा ठूलो संख्यामा पर्यटक भित्राउन सकिन्छ । हामीले टास्क फोर्ससँग छलफल गरेर योजना बनाउँदैछौं ।

एनआरएन नागरिकताको व्यवस्था संविधानमा भयो तर ऐन बन्न सकेको छैन । छिटो ऐन बनाउनका लागि दवावमुलक कार्यक्रम केही छ ?

हामीले यसबारेमा राजनीतिक दलका नेताहरुसँग कुराकानी गरिरहेका छौं । मन्त्री, सांसद लगायतलाई भेट्दा उहाँहरु सबै सकारात्मक हुनुहुन्छ । आगामी हिउँदे अधिवेशनमा यो ऐन पारित गर्ने आश्वासन दिनुभएको छ । म आफै पनि यसमा लागि परेको छु । आगामी हिउँदे अधिवेशनमा पारित गराउनका लागि म आफैले पनि उपाध्यक्षको हैसियतमा पहल गर्नेछु ।

मैले चुनावका बेलामा बोलेका र घोषणापत्रमा उल्लेख गरेका सबै कुरा कार्यान्वयनमा लाग्नेछु । अध्यक्षसँग हातेमालो गर्दै अगाडि बढ्नेछु । सबैले गरेका घोषणा र प्रतिबद्धताबारे छलफल गरेर हामी त्यसलाई सामुहिक एजेण्डा बनाएर अगाडि बढ्नेछौं ।

एनआरएनए चुनावमा तपाईलाई भोट हाल्ने र नहाल्ने सबैलाई केही भन्नु छ ?

कसैलाई सोनाम लामा मन पर्छ होला कसैलाई पर्दैन होला । कसैसँग मेरो मेरो विचार मिल्छ होला कसैसँग मिल्दैन होला । कतिपयले पार्टीगत रुपमा हेरेर भोट हाल्नुभएन होला । त्यसलाई मैले सहज रुपमा लिएको छु । एकभोटलेमात्र जिते पनि मैले जितिसकेको छु । आगामी दिनमा अमेरिकी एनआरएनएमा एकता हुनुपर्छ ।

मैले गरेको कामको आधारमा मूल्यांकन भएको छ । त्यसैले मैले चुनाव जितें । मैले कसैको चाकडी गरेको छैन । चाकडी गरेको भए अहिलेसम्म म कहाँ पुगिसक्ने थिएँ । मैले चुनावका बेला एनआरएनएका पूर्व अध्यक्षहरुसँग मलाई समर्थन गरिदिनुस् भन्न पनि गएन ।

उहाँहरुलाई मैले गरेको योगदान थाहा छँदै थियो । महासचिव हुँदै दुई कार्यकाल उपाध्यक्ष भइसकेका कुमार पन्त अध्यक्षमा आउनुपर्छ भन्ने मेरो मान्यता मैले कायम राखिरहें । संस्थाप्रति इमान्दार भएर काम गरिरहेमा सबैले स्थान पाउँछ ।

कसैको चाकडी गर्न जरुरी हुँदैन । व्यक्तिको इमान्दारिता सार्वजनिक रुपमा मूल्यांकन हुने हो । यो चुनावमा पनि नजाने सोंचमा थिएँ । यो चुनावमा म सक्दिन, म जस्तो सिधा मान्छे भन्ने लागेको थियो । आफू सिधा भएकाले होला कहिलेकाँही रिसाउँछु पनि । खासगरी तिकडमबाजी गर्न खोज्नेसँग कहिलेकाँही रिस उठ्छ । तर साथीहरुले आउनुपर्छ भन्नुभएकाले अगाडि बढें ।

काठमाडौंमा चुनावमा कैयनले रातारात होटलमा बैठकहरु गरे, निकै दौडधुप गरे, ठूलो रकम खर्च गरे, अभियान चलाए । तर मैले त्यस्तो केही गरिन । मैले गरेको कामको आधारमा प्राप्त पपुलर भोटबाट मैले चुनाव जितें । त्यसैले विश्वभरका एनआरएनहरुलाई धन्यवाद दिन चाहन्छु ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com