टेक्सासको सीमा पर्खाल निर्माण रोक्ने आदेशविरुद्ध ट्रम्प प्रशासनको सर्वोच्च अदालतमा निवेदन


प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार

Photo: Levi Meir Clancy/ Unsplash

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले बिग बेण्ड नेशनल पार्क लगायत पश्चिम टेक्सासको एक दुर्गम क्षेत्रमा अमेरिकी-मेक्सिको सीमा पर्खाल निर्माण योजना अगाडि बढाउन दिन बुधवार अमेरिकी सर्वोच्च अदालतलाई आग्रह गरेको छ।

पर्यावरण समूह र अन्य विरोधी पक्षहरूले सीमा पर्खाल निर्माणविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा अदालतको अन्तिम फैसला नआउञ्जेल त्यस क्षेत्रमा निर्माण कार्य रोक्न एक संघीय न्यायाधीशले आदेश दिएका थिए।

यसैबीच, अमेरिकी जस्टिस डिपार्टमेन्टले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको छ। मन्त्रालयले आकस्मिक निवेदन दायर गर्दै न्यायाधीशको सो रोक लगाउने आदेशलाई तुरुन्त खारेज गर्न र पर्खाल निर्माण कार्य पुनः अगाडि बढाउन अनुमति दिन आग्रह गरेको छ।

रिपब्लिकन राष्ट्रपति ट्रम्पले आप्रवासन विरोधी नीतिको एक प्रमुख हिस्साको रूपमा अमेरिका-मेक्सिको सीमामा पर्खाल बनाउने वा सुदृढ गर्ने कुरालाई लामो समयदेखि जोड दिँदै आएका छन्। तर, एल पासोबाट लगभग २५० माइल दक्षिणपूर्वमा पर्ने राष्ट्रिय निकुञ्जभित्र सीमा पूर्वाधार विस्तार गर्ने प्रशासनको कदमको स्थानीय अधिकारीहरू, संरक्षणवादीहरू र केही टेक्सासका रिपब्लिकनहरूले नै विरोध गरेका छन्।

उक्त मुद्दा सेन्टर फर बायोलॉजिकल डाइभर्सिटी, बिग बेण्ड क्षेत्रका नदी गाईड र टेक्सासको रुइडोसामा रहेको एक ऐतिहासिक गिर्जाघरलाई जोगाउन चाहने समूहले संयुक्त रूपमा दायर गरेका हुन्। उनीहरूको दाबी अनुसार सीमा निर्माण कार्यले उक्त गिर्जाघरको कमजोर माटोको संरचनालाई खतरामा पारेको छ।

वादीहरूले बिग बेण्ड क्षेत्रमा सडक र पर्खाल निर्माणलाई छिटो गतिमा अगाडि बढाउन अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीद्वारा जारी गरिएका विभिन्न छुटहरूलाई चुनौती दिएका छन्। यी छुटहरूले विभिन्न वातावरणीय तथा संरक्षण कानूनहरू लागू हुनबाट रोकेका थिए।

फेब्रुअरी र जुलाईको बीचमा छुटहरू जारी गर्ने तत्कालीन होमल्यान्ड सेक्रेटरी क्रिस्टी नोएम र वर्तमान सेक्रेटरी मार्कवेन मुलिनले उक्त क्षेत्रमा अवैध प्रवेशको दर उच्च रहेको भन्दै सीमा नियन्त्रणका लागि थप बाधा तथा पर्खाल आवश्यक रहेको ठहर गरेका थिए।

एल पासोका अमेरिकी जिल्ला न्यायाधीश क्याथलीन कार्डोनले गत अक्टोबर २ मा निर्माण कार्य रोक्न आदेश जारी गरेका थिए। पछि जारी गरिएको एक रायमा न्यायाधीशले ती छुटहरू सेक्रेटरी नोएम र मुलिनको अधिकार क्षेत्रभन्दा बाहिर गएर दिएको निष्कर्ष निकालेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जस्टिस डिपार्टमेन्टले आफ्नो निवेदनमा सर्वोच्च अदालतलाई न्यायाधीश कार्डोनको आदेशलाई स्थगित गर्न वा उल्ट्याउन आग्रह गरेको छ।

जस्टिस डिपार्टमेन्टले लेखेको छ, “सेक्रेटरीको छुट दिने अधिकारले ‘ठूलो आर्थिक र राजनीतिक महत्व’ बोकेको प्रश्न खडा गरे तापनि, कांग्रेसले सीमा पर्खालहरू निर्माण गर्न र ती कार्यलाई छिटो सम्पन्न गर्न कानूनी आवश्यकताहरू छुट दिन सक्ने स्पष्ट अधिकार सेक्रेटरीलाई प्रदान गरेको छ।”

गत अगस्टमा, बिग बेण्डमा पार्कको प्राकृतिक सौन्दर्य र वन्यजन्तुमा पर्न सक्ने प्रभावलाई लिएर द्विपक्षीय आलोचना भएपछि प्रशासनले निर्माण कार्य केही समयको लागि रोकेको थियो। त्यसअघि नै कामदारहरूले सडक र सीमा सुरक्षा पूर्वाधारका लागि निकुञ्जमा जग्गा सफा गर्न थालेका थिए, जसले गर्दा विरोध प्रदर्शन र काम रोक्न माग गर्दै मुद्दाहरू दायर भएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com