अमेरिकामा नक्कली विवाह गराएर ग्रीन कार्ड बेच्ने गिरोह पक्राउ, ६० लाख डलरको धन्दा पर्दाफास
प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार
Photo by Tingey Injury Law Firm
अमेरिकाको म्यासाचुसेट्स राज्यमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका आप्रवासीहरूलाई ‘ग्रीन कार्ड’ र अमेरिकी नागरिकता दिलाउने उद्देश्यले सयौँ नक्कली विवाह गराउने धन्दामा संलग्न ६ जनाविरुद्ध अमेरिकी संघीय अभियोजकहरूले मुद्दा दायर गरेका छन्।
अमेरिकी सरकारी वकिल लिया फोलीका अनुसार यस गिरोहकी मुख्य योजनाकार ४३ वर्षीया जेनिफर गोन्जालेज हुन्। उनले म्यासाचुसेट्स राज्यमा विगत १० वर्षभन्दा बढी समयदेखि यस्तो गैरकानुनी धन्दा सञ्चालन गर्दै आएकी थिइन्। गोन्जालेजले आफ्ना ग्राहकहरूसँग म्यासाचुसेट्स एउटा “सेन्चुरी” क्षेत्र भएको र जहाँ आप्रवासीहरूले धेरै सहयोग पाउने बताउने गरेकी थिइन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी कडा नीतिकै एक भागका रूपमा अमेरिकी जस्टिस डिपार्टमेन्टले यो कारबाही अघि बढाएको हो।
अदालती कागजातका अनुसार गोन्जालेजले प्रति नक्कली विवाह अमेरिकी नागरिकसँग गराइदिए बापत ३८ हजारदेखि ४० हजार अमेरिकी डलरसम्म असुल गर्ने गरेकी थिइन्। अधिकारीहरूका अनुसार यो गिरोह करिब १२ वर्षदेखि सक्रिय थियो र वार्षिक रूपमा १८ देखि २० वटासम्म नक्कली विवाह गराउने गर्दथ्यो। यस धन्दाबाट उनीहरूले ६० लाख डलर भन्दा बढी कमाएको बताइएको छ।
गोन्जालेजले आफ्ना ग्राहकसँग अमेरिकामा राष्ट्रपति ट्रम्पको पुनरागमनपछि यो काम अलि गाह्रो भएको तर आफ्नो लक्ष्य उनीहरूलाई “अमेरिकन ड्रिम” दिलाउनु रहेको बताएकी थिइन्।
सरकारी वकिल लिया फोलीले भनिन्, “आज मुद्दा चलाइएका अभियुक्तहरू र अरूले बुझ्नुपर्छ कि ‘अमेरिकन ड्रिम’ बिक्रीमा छैन, यो कमाएर लिनुपर्छ। जब कसैले नाफाका लागि कानुन मिच्ने प्रयास गर्छ, हामी उनीहरूलाई जवाफदेही बनाउनेछौँ।”
गोन्जालेजमाथि गैरकानुनी रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई शरण दिएको र विवाह ठगी गरेको अभियोग लगाइएको छ। साथै, उनले आफ्नै नक्कली विवाह गरी सरकारी राहत समेत दुरुपयोग गरेको र सो रकम डोमिनिकन रिपब्लिकमा सम्पत्ति किन्न प्रयोग गरेको पाइएको छ।
यस प्रकरणमा अन्य ५ जना सहयोगी तथा नक्कली विवाह गर्ने अमेरिकी नागरिकहरूलाई पनि अभियुक्त बनाइएको छ। अमेरिकी अधिकारीहरूका अनुसार अनुसन्धान अझै जारी छ र यस गिरोहबाट ग्रीन कार्ड प्राप्त गर्ने अन्य व्यक्तिहरूमाथि पनि कारबाही हुन सक्नेछ।





