क्यानाडाको सैन्य बेसमा भीषण आगलागी: कम्तीमा ७ जनाको मृत्यु, दर्जनौँ घाइते


प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार

Photo: Albert Stoynov/Unsplash

क्यानाडाको अल्बर्टा प्रान्तस्थित एक व्यस्त सैन्य तालिम केन्द्र नजिकै भीषण आगलागी हुँदा केही व्यक्तिको मृत्यु हुनुका साथै धेरै जना घाइते भएका छन्। देशका रक्षा मन्त्री डेभिड म्याकगिन्टीले घटनाको पुष्टि गर्दै स्थितिलाई “अत्यन्तै संवेदनशील र सक्रिय” रहेको बताएका छन्।

क्यानाडाली सेना र स्थानीय अधिकारीहरूले मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। रक्षा मन्त्रीले आगलागीको स्पष्ट कारण र हताहतीको आधिकारिक संख्या पुष्टि नगरे पनि टेलिभिजन नेटवर्क ग्लोबल न्युजले अनौपचारिक सैन्य स्रोतलाई उद्धृत गर्दै प्रत्यक्ष गोलीबारी तालिम अभ्यासका क्रममा ग्यास पाइपलाइन वा ग्यास कुवामा क्षति पुग्दा कम्तीमा ७ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको जनाएको छ।

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले एक ‘गम्भीर दुर्घटना’का कारण ठूलो आगलागी भएको बताउँदै प्रभावित सम्पूर्ण सैनिक तथा नागरिकहरूप्रति सहानुभूति व्यक्त गरेका छन्।

एडमोन्टनस्थित रोयल अलेक्जान्ड्रा अस्पतालमा आपत्कालीन विपद् व्यवस्थापन सम्बन्धी प्रोटोकल ‘कोड ओरेन्ज’ लागू गरिएको छ। अस्पतालका आपत्कालीन विभागका चिकित्सक डा. वारेन थिर्स्कले बिरामीहरूको संख्या अत्यधिक रहेकाले क्षेत्रीय स्वास्थ्य सुविधाहरू प्रभावित बन्न सक्ने बताए। उनका अनुसार यो विगत १५ देखि २५ वर्षयताकै सबैभन्दा ठूलो विपद् हो।

शनिबार सुरु भएको आगलागी प्रतिघण्टा १०० किमीको गतिमा चलेको तीव्र हावाका कारण द्रुत गतिमा फैलिँदै सैन्य बेसको घेराबार नाघेर बाहिर पुगेको थियो। वेनराइट नगर निकायका अनुसार हाल आगोलाई नियन्त्रणमा लिइसकिएको छ।

वेनराइट नगरका मेयर ब्रुस पगले यस घटनालाई समुदायकै इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो सामूहिक हताहतीको घटना हुनसक्ने बताएका छन्। उनले भने, “हाम्रा छरछिमेकीहरू सेनामा कार्यरत वा पूर्वसैनिक छन्। हाम्रा बालबालिकाहरू एउटै स्कुल र हकी टिममा खेल्छन्, यो सिङ्गो समुदायका लागि निकै पीडादायी क्षण हो।”

अल्बर्टाकी प्रिमियर डेनियल स्मिथले यस घटनालाई “अत्यन्तै दुःखद” भन्दै समवेदना प्रकट गरेकी छन्। छिमेकी प्रान्तहरू सास्काचेवान र ब्रिटिस कोलम्बियाले खोज, उद्धार र राहतका लागि आफ्ना संसाधनहरू परिचालन गरेको र थप सहयोगका लागि तयार रहेको जनाएका छन्। उक्त ‘वेनराइट’ सैन्य बेस क्यानाडाली सेनाको मुख्य लाइभ-फायर तालिम केन्द्र हो, जहाँ सामान्यतया दैनिक करिब ६९० सैन्य कर्मचारी र ३०० नागरिक कर्मचारीहरू कार्यरत रहन्छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com