सिकागोको हिन्दु मन्दिरमा सामूहिक आक्रमणको प्रयास विफल, १९ वर्षीय युवक हतियारसहित पक्राउ
प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार
Photo:Nikhil Mistry/ Unsplash
अमेरिकाको इलिनोइ राज्यस्थित सिकागोको उपनगरमा रहेको एउटा प्रसिद्ध हिन्दु मन्दिरमा सामूहिक गोलीबारी र आक्रमणको योजना बनाएको आरोपमा १९ वर्षीय एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
अधिकारीहरूका अनुसार पक्राउ पर्नेमा एलेक्सान्ड्रोस पापोरकिस रहेका छन्। प्रहरीले दिएको जानकारी अनुसार गत आइतबार उनी श्री भेन्कटेश्वर स्वामी मन्दिरको पार्किङ स्थलमा प्रवेश गरेका थिए। मन्दिरमा आक्रमण गर्ने उनको योजनाबारे सुराक पाएलगत्तै प्रहरीले उनलाई उनको घर नजिकैबाट पक्राउ गरेको हो।
अभियुक्त पापोरकिसमाथि आतंकवादी धम्की दिएको र गैरकानुनी रूपमा राइफल राखेको अभियोग लगाइएको छ। उनीसँगै काम गर्ने सहकर्मीहरूका अनुसार पापोरकिसले आफू “भारतीय मूलका मानिसहरूलाई मार्न आतुर रहेको” र आइतबारको दिन “विशेष दिन” हुने बताएका थिए। त्यसलगत्तै उनका सहकर्मीहरूले ९११ मा फोन गरेर प्रहरीलाई खबर गरेका थिए।
अदालती दस्तावेज अनुसार, पापोरकिसले प्रयोग गर्न खोजेको एआर-शैलीको बन्दुक अचानक जाम भएपछि उनी मन्दिरको पार्किङबाट तुरुन्तै भागेका थिए। पछि उनले सहकर्मीलाई बन्दुक र सामरिक भेस्ट लगाएको भिडियो तथा फोटो पठाउँदै पुनः आक्रमणको प्रयास गर्ने धम्की दिएका थिए।
प्रहरीले उनको घरमा छापा मार्दा सिरियल नम्बर नभएको एआर-शैलीको राइफल, सयौँ राउन्ड गोली, सामरिक भेस्ट र नाजी प्रतीक चिन्हहरू बरामद गरेको छ। आफूलाई सेतो सर्वोच्चतावादी र नव-नाजी मान्ने पापोरकिसले गैर-श्वेत मानिसहरूविरुद्ध जातीय घृणा फैलाउने आठ पानाको कागजात पनि तयार पारेका थिए।
घटनाको समयमा मन्दिरमा इलिनोइका कंग्रेसम्यान राजा कृष्णमूर्ति पनि उपस्थित थिए। आक्रमणकारीको हतियार जाम भएकाले मात्र ठूलो नरसंहार हुनबाट जोगिएको उनले बताएका छन्। यस घटनापछि मन्दिर परिसरमा सशस्त्र सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
नवरोत्रको पर्व चलिरहेका बेला हिन्दु मन्दिरलाई लक्षित गरी गरिएको यस प्रयासले अमेरिकामा रहेका दक्षिण एसियाली र हिन्दु समुदायमा त्रास फैल्याएको छ।





