झूटा विवरण दिएर अमेरिकी नागरिक बनेका ७२ वर्षीय वृद्धको नागरिकता रद्द
प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार
डिएचएस फोटो: सिड्नी फिनिक्स
अमेरिकी युएससीआइएसले गरेको अनुसन्धानका आधारमा नागरिकता प्राप्त गर्दा झूटा विवरण दिएको ठहर गर्दै एक सङ्घीय अदालतले ७२ वर्षीया लाइबेरियाली नागरिक सिजिल डोमाक्विक क्लेमेन्सलाई सजाय सुनाएको छ।
गत सेप्टेम्बर १७ मा भएको आदेशअनुसार सङ्घीय न्यायाधीशले क्लेमेन्सलाई हालसम्म हिरासतमा बिताएको समयलाई नै कैद सजायका रूपमा तोकेका छन्। यसका साथै, अदालतले उनको अङ्गीकृत अमेरिकी नागरिकता रद्द गर्दै उनलाई आफ्नै खर्चमा तुरुन्त देश छाड्न आदेश दिएको छ।
क्लेमेन्सले गत जुन १८ मा नागरिकता सम्बन्धी जालसाजीको मुद्दामा आफ्नो दोष स्वीकार गरेका थिए। यस सम्बन्धी जानकारी पूर्वी उत्तरी क्यारोलिनाका लागि अमेरिकी महान्यायाधिवक्ता एलिस बोयलले गराएका हुन्।
अध्यागमन अधिकारीहरूका अनुसार, क्लेमेन्सले नागरिकताको आवेदन भर्दा र युएससीआइएसमा दिइएको अन्तर्वार्ताका क्रममा जानाजानी झूटा विवरण दिएका थिए। यौन हिंसा वा कुनै अपराधमा संलग्न भए-नभएकोबारे सोधिएका प्रश्नहरूमा उनले कुनै पनि अपराध नगरेको भन्दै ‘हुँदैन’भनेर शपथपूर्वक झूटा उत्तर दिएका थिए। झूटा विवरणकै आधारमा उनले फेब्रुअरी १९, २०२१ मा अमेरिकी नागरिकता प्राप्त गरेका थिए।
तर, अप्रिल ३, २०२३ मा नर्थ क्यारोलिनाको डरहाम काउन्टी सुपेरियर कोर्टमा क्लेमेन्सले एक बालिकामाथि यौन शोषण गरेको तीनवटा मुद्दामा दोष स्वीकार गरेका थिए। राज्य अदालतले उनलाई १ वर्ष ४ महिनादेखि २ वर्ष ५ महिनासम्मको जेल सजाय र यौन अपराधीका रूपमा सूचीकृत हुन आदेश दिएको थियो।
अनुसन्धानका क्रममा क्लेमेन्सले नोभेम्बर १, २०११ देखि मार्च ७, २०२२ सम्म एक बालिकालाई लगातार यौन शोषण गरेको स्वीकार गरेका थिए। शोषण सुरु हुँदा ती बालिका मात्र ४ वर्षकी थिइन्। नागरिकताको आवेदन दिनुअघि नै यी गम्भीर अपराध गरे तापनि उनी नागरिकता पाइसकेपछि मात्र पक्राउ परेका थिए, जसका कारण अङ्गीकृत नागरिकता दिने बेला अध्यागमन अधिकारीहरू उनको अपराधबारे अनभिज्ञ थिए।
यो अनुसन्धान ‘अपरेशन फल्स हेभन’ अन्तर्गत गरिएको हो, जसले धोखाधडी गरी अध्यागमन सुविधा लिने बालबालिकाका यौन शोषक र गम्भीर अपराधीहरूलाई कारबाहीको दायरामा ल्याउने लक्ष्य राखेको छ।





