जहाजमा उडुसको उपद्रव: इटालीबाट अस्ट्रेलिया उड्ने क्वान्टासको उडान रद्द
प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार
Photo: David Syphers/ Unsplash
जहाजभित्र उडुसको प्रकोप देखिएपछि इटालीबाट अस्ट्रेलियाका लागि तय गरिएको क्वान्टास एयरलाइन्सको उडान शनिबार रद्द गरिएको छ।
‘सिड्नी मोर्निङ हेराल्ड’ का अनुसार शुक्रबार पर्थबाट रोमसम्मको करिब १७ घण्टा लामो यात्राका क्रममा केही यात्रुहरूले आफूहरूलाई कीराले टोकेको गुनासो गरेका थिए। यात्रुहरूलाई चिलाउने समस्याबाट राहत दिन एन्टिहिस्टामिन औषधि दिइएको थियो, तर पछि उक्त ओषधिको मौज्दात नै सकिएको थियो।
उक्त बोइङ ७८७ ड्रिमलाइनर विमानलाई गहिरो सफाइ गर्नका लागि उडान स्थगित गर्नुपरेको क्वान्टासका एयरलाइन्सले जनाएको छ।
क्वान्टासका प्रवक्ताले भने, इकोनोमी क्लासका केही सिटहरूमा समस्या पहिचान भएपछि हाम्रा इन्जिनियर तथा मर्मतसम्भार टोलीलाई विमानको गहिरो सफाइ गर्न सहज होस् भनी शनिबारको रोम-पर्थ सेवा रद्द गरिएको हो। यसबाट ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ।
प्रभावित सबै यात्रुहरूलाई बसोबासको व्यवस्था मिलाइएको र उनीहरूको मूल प्रस्थान समयको ४८ घण्टाभित्र वैकल्पिक उडानमा पुनः टिकट व्यवस्थापन गरिएको वायुसेवा कम्पनीले जनाएको छ।
उडुस ससाना, पखेटा नभएका परजीवी हुन् जो लुगा, फर्निचर र ओछ्यानमा बस्न सक्छन्। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाको वेबसाइट अनुसार उडुसको टोकाइले चिलाउने भए पनि यसले सामान्यतया गम्भीर स्वास्थ्य समस्या भने निम्त्याउँदैन।
तर, उडुसबाट छुटकारा पाउन निकै गाह्रो र खर्चिलो हुन सक्छ। यसको उपचार वा नियन्त्रणका लागि ओछ्यानका कपडा, लुगा र पर्दाजस्ता घरायसी सामग्रीहरूलाई तातो पानीमा धोएर टम्बल ड्रायरमा सुकाउनुपर्छ, अथवा तिनलाई प्लास्टिकको झोलामा राखेर तीनदेखि चार दिनसम्म फ्रिजरमा राख्न सकिन्छ।
उडुसका कारण यात्रा प्रभावित हुनु नयाँ घटना भने होइन। दुई साताभन्दा कम समयअघि बेलायतको ‘साउथइस्टर्न’ ट्रेनका चालकहरूले आफ्ना क्याबिनमा यी कीराहरू भेट्टाएपछि धेरै रेल सेवाहरू रद्द गरिएका थिए।
त्यस्तै, सन् २०१७ मा भ्याङ्कुभरबाट लन्डन जाँदै गरेको रात्रिकालीन उडानमा एकै परिवारका सदस्यहरूलाई उडुसले टोकेर नीलो-कालो बनाएपछि ‘ब्रिटिस एयरवेज’ ले सार्वजनिक रूपमा माफी मागेको थियो। यस्तै, गत वर्ष न्युयोर्क टाइम्सले ‘टर्किश एयरलाइन्स’ का जहाजहरूमा उडुसको उपद्रव र एयरलाइन्सले त्यसलाई बेवास्ता गरेको आरोपबारे समाचार छापेपछि कम्पनीले ठूलो जनसम्पर्क संकटको सामना गर्नुपरेको थियो।





