जिबुटीबाट यमन जाँदै गरेको डुङ्गा पल्टिँदा १०९ भन्दा बढी आप्रवासीको मृत्यु, ११६ भन्दा बढी बेपत्ता


प्रकाशित मिति : २५ आश्विन २०८३, आइतबार

Photo: Jay Alexander/ Unsplash

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार जिबुटीबाट यमनतर्फ जाँदै गरेको करिब ३०५ जना सवार डुङ्गा दुर्घटना हुँदा १५ बालबालिकासहित कम्तीमा १०९ आप्रवासीको मृत्यु भएको छ भने ११६ भन्दा बढी बेपत्ता भएका छन्।

जीवित घाइतेहरूको भनाइ उद्धृत गर्दै आइओएमले जनाएअनुसार उक्त डुङ्गा जिबुटीको ओबोक बन्दरगाह नजिकै रहेको गुहेरे भन्ने ठाउँमा अक्टोबर ८ देखि ९ को मध्यरातमा पल्टिएको हो।

दुर्घटनाबाट ज्यान जोगाएका ८० भन्दा बढी मानिस सबै इथियोपियाका नागरिक रहेका छन्। यस विषयमा प्रतिक्रिया दिन इथियोपियाली सरकारका प्रवक्ताले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्।

डुङ्गा दुर्घटनापछि फेला परेका १०९ वटा शवमध्ये ५२ जना पुरुष, ४२ जना महिला र ९ बालिका तथा ६ बालक सहित १५ बालबालिका रहेका छन्।

जिबुटीस्थित आइओएमका प्रमुख अलेक्जेंड्रे कोइसाकले भने, “हाम्रो टोली आपतकालीन सहयोग उपलब्ध गराउन स्थानीय अधिकारीहरूसँगै घटनास्थलमा सक्रिय रहेको छ।”

“आर्थिक अवसरको खोजीमा यस आप्रबासी कोरिडोर हुँदै यात्रा गर्ने आप्रवासीहरूले सामना गर्नुपर्ने खतराहरूको यो दुर्घटना एक गम्भीर चेतावनी हो,” उनले थपे।

जिबुटीका अधिकारीहरूले खोजी तथा उद्धार कार्य जारी राखेका छन् भने स्थानीय अधिकारीहरूले घाइतेहरूलाई चिकित्सा सेवा र मृतकहरूको अन्त्येष्टिको व्यवस्था मिलाइरहेको आइओएमले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com