आप्रवासी कामदार निष्कासनको असर: अमेरिकी अर्थतन्त्रमा मन्दी, खाद्यान्न महँगो र रोजगारी संकटमा


प्रकाशित मिति : २३ आश्विन २०८३, शुक्रबार

Photo: Tim Mossholder/ Unsplash

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिका कारण आगामी दिनमा अमेरिकी अर्थतन्त्रमा गम्भीर असर पर्ने नयाँ प्रतिवेदनले औंल्याएको छ। ‘अमेरिकाज् भ्वाइस’ संस्थाद्वारा आयोग गरिएको र ‘इकोनोमिक इन्साइट्स एन्ड रिसर्च कन्सल्टिङ’ का शोधकर्ताहरूले तयार पारेको यस प्रतिवेदनले ट्रम्प प्रशासनको कारबाहीका कारण देशको महँगी संकट, रोजगारी बजार र सामाजिक सुरक्षा कोषमा ठूलो धक्का लागेको देखाएको छ।

प्रतिवेदनअनुसार यदि यही नीति निरन्तर जारी रहे, सन् २०३४ सम्ममा अमेरिकाका वृद्धवृद्धाहरूले आफ्नो वार्षिक सामाजिक सुरक्षा लाभमा औसतमा २,१५२ अमेरिकी डलर गुमाउनेछन्। यो भनेको उनीहरूको सेवानिवृत्ति भुक्तानीमा ८.६ प्रतिशतको अनुमानित कटौती हो। कागजातविहीन आप्रवासीहरूले अमेरिकी सामाजिक सुरक्षा कोषलाई सहयोग गर्न तिर्दै आएको करमा आउने गिरावटका कारण यो संकट निम्तिएको हो।

कृषि क्षेत्रमा ६८ प्रतिशतभन्दा बढी विदेशी मूलका कामदार रहेकाले आप्रवासी कामदारको अभावमा कृषि उपजमा भारी असर परेको छ। फलफूल तथा तरकारीहरू खेतमै कुहिने स्थिति आएको छ भने ताजा दूध, तरकारी र स्याउको मूल्यमा उच्च वृद्धि भएको छ।

निर्माण क्षेत्रमा विदेशी मूलका कामदारहरूको ठूलो हिस्सा रहेकोमा, कडा नीतिकै कारण एकल परिवारका घरहरूको निर्माण अनुमति १०.६ प्रतिशतले घटेको छ र निर्माण लागत बढेको छ। यसबाट स्थानीय अमेरिकी कामदारहरूले समेत रोजगारी गुमाएका छन्।

पछिल्लो अवधिमा विदेशी मूलका १ करोड २० लाखभन्दा बढी कामदारहरू बाहिरिएपछि हजारौं स्थानीय अमेरिकी कामदारहरूले पनि सम्भावित रोजगारी र आम्दानी गुमाएका छन्।

शोधकर्ताहरूका अनुसार यदि यो आप्रवासन एजेन्डामा सुधार नगरिएमा आगामी दिनमा महँगी अझ बढ्ने, रोजगारीका अवसरहरू घट्ने र आर्थिक वृद्धिदर सुस्त हुने खतरा रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com