अमेरिकामा आइसद्वारा दैनिक १,००० थप आप्रवासी गिरफ्तार गर्न एजेन्टहरूलाई निर्देशन


प्रकाशित मिति : २२ आश्विन २०८३, बिहिबार

तस्बिर:आइस

अमेरिकाको आइसका नेतृत्वले देशभरका एजेन्टहरूलाई दैनिक १,००० जना थप आप्रवासी गिरफ्तार गर्न मौखिक निर्देशन दिएका छन्। यससँगै एजेन्सी पुनः दैनिक ३,००० जनालाई गिरफ्तार गर्ने पुरानो लक्ष्यमा फर्किएको छ।

हप्तामा कम्तीमा १९,००० गिरफ्तारिका लागि एजेन्टहरूलाई दबाब दिइएको छ, जसले गर्दा शनिबार र आइतबार हुने कम कारबाहीको शोधभर्ना हुन सकोस्। गत अगस्टमा आइसले करिब ५१,००० आप्रवासीलाई नियन्त्रणमा लिएको थियो, जुन अहिलेसम्मकै उच्च मासिक संख्या हो।

बढ्दो गिरफ्तारीसँगै एजेन्सीका कार्यालयहरूमा परेको दबाबलाई कम गर्न अस्थायी होल्डिङ सेन्टर र भर्चुअल अदालत कक्षहरू निर्माणका लागि ठेक्का आह्वानसमेत गरिएको छ।

यद्यपि, डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले गिरफ्तारीका लागि कुनै ‘कोटा’ निर्धारण नगरिएको दाबी गरेका छन्। उनले भने, “हाम्रो प्राथमिकता आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई पक्राउ गर्नु हो, तर गैरकानुनी रूपमा बसोबास गरिरहेका जुनसुकै व्यक्तिसँग सम्पर्क भएमा कानुन अनुसार उनीहरूलाई नियन्त्रणमा लिनुपर्छ।

राष्ट्रपति ट्रम्प प्रशासनको यस कठोर कदमको केही रिपब्लिकन नेताहरू र कृषि उद्योग समूहहरूले आलोचना गरेका छन्। आपराधिक पृष्ठभूमि नभएका आप्रवासीहरूलाई पनि पक्राउ गरिएकाले कृषि क्षेत्रको दैनिक सञ्चालन र जनशक्तिमा असर परेको बताइएको छ।

साथै, हालैका केही विवादास्पद सवारी साधन जाँच र गोलीकाण्डपछि, आइसले एजेन्टहरूका लागि लाइट र साइरन जडान गरिएका गाडीहरू प्रयोग गर्नुपर्ने र आवश्यक तालिम लिएका अधिकारीले मात्र सवारी साधन रोक्न पाउने मार्गदर्शन लागू गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com