विमानका ६ वटा शौचालय बिग्रिएपछि अमेरिकन एयरलाइन्सको जहाज न्युयोर्कमा आपतकालीन अवतरण


प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार

Photo: Forsaken Films / Unsplash

म्याड्रिडबाट अमेरिकाको डल्लासतर्फ उडेको अमेरिकन एयरलाइन्सको जहाजमा प्रायः सबै शौचालयहरू अचानक बिग्रिएपछि मङ्गलबार दिउँसो न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ।

उडान नम्बर ३७ को बोइङ ७७७ जहाजमा २८७ जना यात्रु र चालक दलका सदस्यहरू सवार थिए। करिब १० घण्टाको सो उडानका क्रममा जहाजमा रहेका कुल आठ वटामध्ये ६ वटा शौचालयले काम गर्न छाडेका थिए। बाँकी दुई वटा शौचालय मात्र सञ्चालनमा रहेपछि स्थिति जटिल बनेकाले चालक दलले जहाजलाई न्युयोर्कतर्फ मोड्ने निर्णय गरेका हुन्।

उक्त जहाजमा अझै धेरै घण्टाका लागि पुग्ने इन्धन बाँकी रहेकाले अवतरणका क्रममा जहाजको तौल तोकिएको मापदण्डभन्दा बढी थियो। विमानस्थल नजिकिँदै गर्दा पाइलटले एयर ट्राफिक कन्ट्रोललाई “प्यान-प्यान”सन्देश पठाएका थिए। रेडियो सञ्चारमा यो सङ्केत तत्काल सहायता आवश्यक परेको तर तत्कालै ठूलो खतरा नरहेको स्थिति जनाउन प्रयोग गरिन्छ।

पाइलटले एटीसीसँगको संवादमा जहाजमा केवल दुई वटा शौचालय मात्र चलेकाले मोड्नु परेको पुष्टि गरेका थिए।

संघीय उडान प्रशासनले पनि शौचालयहरू प्रयाप्त रूपमा सञ्चालनमा नरहेका कारण जहाज मोड्नु परेको पुष्टि गरेको छ। न्युयोर्कमा सुरक्षित अवतरण गरेपछि आवश्यक प्राविधिक जाँचका लागि जहाज त्यहाँ करिब तीन घण्टा रोकिएको थियो। त्यसपछि मात्र जहाज डल्लासतर्फ प्रस्थान गरेको उडान ट्र्याकिङ सेवा ‘फ्लाइटअवेयर’ ले जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com