अमेरिकामा एफ-१ विद्यार्थीका लागि भारी शुल्क प्रस्ताव: ओपीटीका लागि ७० हजार डलर तिर्नुपर्ने
प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार
डिएचएस फोटो: सिड्नी फिनिक्स
अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले एफ-१ गैर-इमिग्र्यान्ट विद्यार्थीहरूका लागि ‘अप्शनल प्राक्टिकल ट्रेनिङ’मा सहभागी हुन नयाँ भारी शुल्क लागू गर्ने सम्बन्धी एक नियम प्रस्ताव गरेको छ। अमेरिकामा सस्तो श्रमको प्रवाह रोक्न र अमेरिकी नागरिकहरूलाई रोजगार बजारमा प्रतिस्पर्धा गर्न सहज बनाउने उद्देश्यले यो प्रस्ताव ल्याइएको हो।
प्रस्तावित नियम अनुसार, पहिलोपटक ओपीटीमा सहभागी हुने एफ-१ विद्यार्थीका लागि प्रतिव्यक्ति ७० हजार अमेरिकी डलर र त्यसपछिका ओपीटीका लागि प्रतिविद्यार्थी ३० हजार अमेरिकी डलर शुल्क निर्धारण गरिएको छ। डिएचएसले ठगी र दुरुपयोग नियन्त्रण गर्न, अध्यागमन प्रणालीको पारदर्शिता सुदृढ गर्न र अमेरिकी श्रमिकहरूको हित संरक्षण गर्न यो कदम चालिएको जनाएको छ।
होमल्यान्ड सेक्युरिटीका प्रवक्ताले भने, “अप्शनल प्राक्टिकल ट्रेनिङ कहिल्यै पनि अमेरिकी कार्यबलमा पछाडिको ढोकाबाट छिर्ने माध्यम, सस्तो श्रमको अनुदान, वा नियमको दुरुपयोग गर्नेहरूका लागि पुरस्कार बन्नका लागि बनाइएको थिएन। होमल्यान्ड सेक्युरिटीले ओपीटीलाई परिमार्जन गर्दै विदेशी विद्यार्थीहरूलाई रोजगारदातासमक्ष आफ्नो योग्यता सिद्ध गर्न अनिवार्य गर्दैछ। सस्तो विदेशी श्रमको माध्यम बनेको कार्यक्रमसँग अमेरिकी श्रमिकहरूले प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउनु हुँदैन।
मौजुदा संघीय नियम अनुसार, एफ-१ विद्यार्थीहरूले आफ्नो मुख्य अध्ययन विषयसँग प्रत्यक्ष सम्बन्धित भएमा ओपीटीमा सहभागी हुन पाउँछन्। यसका लागि उनीहरूले आफ्नो कलेजका ‘डिजाइनेटेड स्कुल अफिसियल’बाट सिफारिस प्राप्त गरी युएससीआइएसमा रोजगार स्वीकृतिका लागि आवेदन दिनुपर्ने हुन्छ।
विद्यार्थीहरूले अध्ययनरत छँदै वा अध्ययन पूरा गरेपछि आवेदन दिन सक्छन्। योग्य एफ-१ विद्यार्थीले प्रत्येक शैक्षिक स्तरमा १२ महिनासम्म ओपीटी सुविधा पाउँछन् भने विज्ञान, प्रविधि, इन्जिनियरिङ, वा गणित क्षेत्रका स्नातकहरूले थप २४ महिनाको विस्तार पाउन सक्छन्।
‘स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर प्रोग्राम’ले पहिचान गरेका ठगी र दुरुपयोगका घटनाहरूलाई सम्बोधन गर्न होमल्यान्ड सेक्युरिटीले यो नियम प्रस्ताव गरेको हो। ओपीटीमा सहभागी विद्यार्थीको संख्या बढेसँगै कलेज, डिएसओ, रोजगारदाता र विद्यार्थीहरूले नियमको दुरुपयोग गर्दै शंकास्पद कार्यस्थल र पैसा तिरेर बस्ने जस्ता भिसा सञ्जाल सञ्चालन गरेको पाइएको छ।
शुल्क बढाउँदा शिक्षण संस्थाहरूले ओपीटी सिफारिस गर्दा थप सतर्कता र छनोट प्रक्रिया अपनाउने र यसले ठगी नियन्त्रणमा सहयोग पुग्ने विश्वास होमल्यान्ड सेक्युरिटीको छ।
प्रस्तावित नियम अनुसार, डिएसओले विद्यार्थीको नाम ‘स्टुडेन्ट एन्ड एक्सचेन्ज भिजिटर इन्फर्मेसन सिस्टम’मा सिफारिस गर्नुअघि र विद्यार्थीले युएससीआइएसमा आवेदन दिनुअघि नै एसइभीपी-प्रमाणित विद्यालयहरूले सो शुल्क बुझाउनुपर्नेछ। कलेजहरूले शुल्क नबुझाएमा युएससीआइएसले विद्यार्थीलाई कार्य स्वीकृति दिने छैन।
यो शुल्क कुनै निश्चित रोजगारदातासँग जोडिने छैन, बरु विद्यालयले ओपीटीका लागि सिफारिस गर्दा नै लागू हुनेछ। संकलित रकम अमेरिकी राष्ट्रिय ढुकुटीमा जम्मा हुनेछ।
ले अक्टोबर ८ देखि नोभेम्बर ९ सम्म यस प्रस्तावमा सर्वसाधारणबाट प्रतिक्रिया तथा सुझाव आह्वान गरेको छ। सर्वसाधारणले नियम अनुसार ‘फेडेरल रजिस्टर’ मार्फत आफ्ना सुझाव पठाउन सक्नेछन्। सुझावहरूको समीक्षापछि होमल्यान्ड सेक्युरिटीले नियममा आवश्यक संशोधन गर्न सक्नेछ।





