युरोप छिर्ने बालबालिकामध्ये ६७% अभिभावकविहीन, मानव तस्कर र हिंसाको सिकार बन्दै नाबालिग


प्रकाशित मिति : २१ आश्विन २०८३, बुधबार

Photo: BEN ELLIOTT /Unsplash

भूमध्यसागरीय मार्ग हुँदै गत वर्ष युरोप पुगेका शरणार्थी तथा आप्रवासी बालबालिकामध्ये दुई तिहाइभन्दा बढी अभिभावकविहीन रहेको र तीमध्ये धेरैले विभिन्न प्रकारका शोषण र हिंसा भोगेको संयुक्त राष्ट्रसंघीय निकायहरूको एक संयुक्त प्रतिवेदनले देखाएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन, संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग र युनिसेफद्वारा सार्वजनिक प्रतिवेदन अनुसार, सन् २०२४ को तुलनामा सन् २०२५ मा जल तथा थलमार्ग भई युरोप पुग्ने बालबालिकाको कुल संख्यामा २५ प्रतिशतले कमी आएको छ। तर, एक्लै यात्रा गर्ने बालबालिकाको अनुपात भने ५१ प्रतिशतबाट बढेर ६७ प्रतिशत पुगेको छ।

बुल्गेरिया, साइप्रस, ग्रीस, इटाली, माल्टा र स्पेन जस्ता युरोपेली देशहरूमा पुगेका कुल ३१,१०० बालबालिकामध्ये २०,००० भन्दा बढी अभिभावक वा संरक्षकबाट छुटेका वा एक्लै यात्रा गरिरहेका भेटिएका थिए।

विशेष गरी इटाली र स्पेन पुग्ने बालबालिकामध्ये ८६ प्रतिशत अभिभावकविहीन थिए। इटालीमा बालबालिकाको आगमनमा १२ प्रतिशतले वृद्धि भएको छ, जसमा धेरैजसो इजिप्ट, एरिट्रिया, बंगलादेश र सोमालियाका रहेका छन्।

गरीबी, द्वन्द्व र वातावरणीय जोखिमका कारण मानिसहरू यस्तो जोखिमपूर्ण समुद्री यात्रा गर्न बाध्य भएका हुन्। सुरक्षित आप्रवासनका मार्गहरू साँघुरिँदै जाँदा थप बालबालिकाहरू खतरापूर्ण यात्रा र तस्करहरूको पञ्जामा पर्न बाध्य भएको प्रतिवेदनले औंल्याएको छ।

सन् २०२५ मा युरोपमा शरणार्थी पुनर्वास प्रक्रियामा समावेश बालबालिकाको संख्या अघिल्लो वर्षको ८,९०० बाट घटेर ३,४०० मा सीमित भएको छ। साथै, ‘स्वैच्छिक ऐक्यबद्धता संयन्त्र’अन्तर्गत युरोपेली देशहरूबीच जम्मा १९९ जना बालबालिकालाई मात्र स्थानान्तरण गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६७ प्रतिशतले कम हो।

आईओएमकी महानिर्देशक एमी पोपले भनिन्, “सुरक्षित मार्गहरू सीमित हुँदा बालबालिकाहरू मानव तस्करहरूमा भर पर्न बाध्य हुन्छन् र उनीहरू हिंसा तथा शोषणको उच्च जोखिममा पर्छन्।” उनले नाबालिगहरूलाई लक्षित गर्ने तस्कर सञ्जालविरुद्ध लड्न युरोपेली देशहरू र यात्रा मार्गमा पर्ने अन्य राष्ट्रहरूबीच बलियो सहकार्यको आवश्यकतामा जोड दिईन्।

भूमध्यसागरीय, पश्चिम अफ्रिकी एटलान्टिक र पश्चिमी बाल्कन मार्गबाट यात्रा गरिरहेका १५ देखि २४ वर्ष उमेर समूहका ४,६०० भन्दा बढी युवाहरूसँग गरिएको अन्तर्वार्तामा लगभग आधाले शारीरिक हिंसा भोगेको बताएका छन्। अधिकांशले यातना, अपहरण र जबरजस्ती श्रम जस्ता गम्भीर शोषणको सामना गर्नुपरेको उल्लेख गरेका छन्। यस्ता दुर्व्यवहार र हिंसाका घटनाहरू सबैभन्दा बढी लिबियामा भएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै, पूर्वी भूमध्यसागरीय मार्ग प्रयोग गरेकामध्ये १० प्रतिशत उत्तरदाताहरूले आफूहरूलाई राम्रो आम्दानी हुने रोजगार, सुरक्षित यात्रा वा कानुनी कागजातको भुटा आश्वासन दिएर ठगिएको बताएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com