पूर्वी अफ्रिकामा फैलिँदै इबोला, कङ्गो हुँदै केन्या पुग्यो महामारी


प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार

Photo: National Cancer Institute/ Unsplash

कङ्गोमा बसोबास गर्दै आएका एक केन्याली नागरिकको स्वदेश फर्किएपछि इबोला सङ्क्रमणका कारण मृत्यु भएको छ। यो केन्यामा पुष्टि भएको इबोलाको पहिलो घटना र पहिलो मृत्यु हो। घटना सार्वजनिक भएसँगै अधिकारीहरूले भाइरसको फैलावट रोक्नका लागि तीव्र रूपमा ‘कन्ट्याक्ट ट्रेसिङ’सुरु गरेका छन्।

स्वास्थ्य मन्त्री एडन दुआलेका अनुसार विगत सात वर्षदेखि कङ्गोमा बस्दै आएका ती व्यक्ति करिब एक महिना अघि बिरामी परेका थिए। विभिन्न अस्पतालमा उपचार गराएपछि उनी सडक मार्ग हुँदै युगान्डाको काम्पाला पुगेका थिए र त्यहाँबाट हवाई जहाज चढेर शनिबार दिउँसो केन्याको राजधानी नैरोबी आइपुगेका थिए।

नैरोबी अस्पतालमा भर्ना गरिएका ती बिरामीमा इबोला भाइरस पुष्टि भएको थियो र सोमबार अबेर उनको मृत्यु भयो। केन्याली स्वास्थ्य अधिकारीहरूले देशका सीमा नाकाहरूमा उच्च सतर्कता अपनाएका छन्।

इबोला भाइरस सङ्क्रमित व्यक्तिको रगत, बान्ता, वा अन्य शारीरिक तरल पदार्थ तथा सङ्क्रमित कपडा र ओछ्यानको प्रत्यक्ष सम्पर्कबाट मानिसहरूमा तीव्र रूपमा फैलिने गर्दछ।

मध्य मे महिनामा कङ्गोको पूर्वी भागबाट सुरु भएको यो महामारी हालसम्मकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको छ। सरकारी तथ्याङ्क अनुसार हालसम्म ८,४०० भन्दा बढी सङ्क्रमित भेटिएका छन् भने ४,००० भन्दा बढीको मृत्यु भइसकेको छ। केन्या मेडिकल रिसर्च इन्स्टिच्युटका अनुसार केन्यामा यसअघि कहिल्यै इबोलाको प्रकोप देखिएको थिएन।

मृतकको सम्पर्कमा आएका परिवारका सदस्य, उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा उनीसँगै जहाजमा यात्रा गरेका यात्रु र चालक दलका सदस्य गरी दर्जनौ व्यक्तिहरूको पहिचान भइसकेको छ भने बाँकीको खोजी कार्य जारी छ। उनीहरूलाई २१ दिनसम्म अलग्गै राखिने स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. प्याट्रिक अमूथले जानकारी दिएका छन्। विश्व स्वास्थ्य सङ्गठन  र अफ्रिका सिडीसीले केन्यालाई परीक्षण किट, व्यक्तिगत सुरक्षा सामग्री तथा विशेषज्ञ टोली पठाएर सहयोग गरिरहेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com