अदालतको आदेशलगत्तै भवन बाहिरै पुनः आइसको हिरासतमा आप्रवासीहरू; अधिकारकर्मीहरूद्वारा चिन्ता व्यक्त
प्रकाशित मिति : १९ आश्विन २०८३, सोमबार
तस्वीर : आइस
अमेरिकी राज्य मिनेसोटामा अदालतको आदेशपछि हिरासतमुक्त भएका अध्यागमन बन्दीहरूलाई सङ्घीय अध्यागमन अधिकारीहरूले रिहा हुनासाथ भवन बाहिरै पुनः गिरफ्तार गरिरहेका छन्। वकिलहरूका अनुसार आइसका एजेन्टहरूले रिहाइको कानुनी ढाँचाको फाइदा उठाउँदै नियन्त्रणमा लिने नयाँ रणनीति अपनाएका हुन्।
ग्वाटेमालाका २७ वर्षीय इभानले अदालतबाट बंन्दी प्रत्यक्षीकरण याचिका जितेपछि विशप हेनरी व्हिपल फेडरल विल्डिङमा रिहाइको कागजमा हस्ताक्षर गरेका थिए। उनी बाहिर निस्किएर श्रीमतीलाई भेट्न र प्रार्थना गर्न चर्च जान चाहन्थे, तर भवनको ढोका पार गर्न नपाउँदै पाँच जना सङ्घीय एजेन्टले उनलाई नियन्त्रणमा लिए।
मैले घाम पनि देख्न पाइनँ,फ्रिबर्न काउन्टी जेलबाट फोनमा इभानले भने। एजेन्टहरूले उनलाई तुरुन्तै अल्बर्ट ली जेलतर्फ लगे, जुन आइससँग सम्झौता गरी बन्दीहरू राख्न प्रयोग गरिन्छ।
इभानका वकिल जोहन बारहमले यस कदमलाई “नाटक” को संज्ञा दिएका छन्। गम्भीर अपराधको पृष्ठभूमि नभएका इभानलाई गत सेप्टेम्बर ११ मा कामको गाडीमा रहेका बेला गिरफ्तार गरिएको थियो।
यो घटना इभानको मात्र होइन। मेक्सिकोका ३३ वर्षीय एलेहान्ड्रोलाई पनि सेप्टेम्बर २५ मा अदालतले तत्काल रिहा गर्न आदेश दिएको थियो। उनले भवनको मुख्य ढोका बाहिर केही कदम मात्र सारेका थिए, जहाँ सादा पोसाकका एजेन्टहरूले उनलाई पुनः हत्कडी लगाए।
जसरी उनीहरूले मलाई रिहा गर्न सक्थे, त्यसरी नै फेरि पक्राउ पनि गर्न सक्थे भनेर एक एजेन्टले मलाई भने, एलेहान्ड्रोले बताए।
अध्यागमन बन्दीहरूको पक्षमा मुद्दा लड्दै आएका वकिल डेनियल सुइटरले ढोकाबाट दुई-तीन फिट बाहिर निस्कँदैमा त्यसलाई कानुनसम्मत रिहाइ मान्न नसकिने र यसको विरुद्ध कानुनी लडाइँ लड्ने बताएका छन्।
अमेरिकामा बंन्दी प्रत्यक्षीकरण याचिका मार्फत सरकारले कुनै व्यक्तिलाई हिरासतमा राख्नुको कानुनी आधार न्यायाधीशसमक्ष पुष्टि गर्नुपर्छ। विगतमा गैरकानुनी रूपमा बसेका वा विचाराधीन मुद्दा भएका व्यक्तिहरू नियमित धरौटीमा छुट्न सक्थे। तर, पछिल्लो समय सङ्घीय सरकारले कानुनको नयाँ व्याख्या गर्दै डिपोर्ट नगरेसम्म बन्दीहरूलाई धरौटी सुनुवाइ बिना नै हिरासतमा राख्न सकिने तर्क गर्दै आएको छ।
मिनेसोटाका धेरैजसो जिल्ला न्यायाधीशहरूले बिना धरौटी सुनुवाइ थुनिएका बन्दीहरूको बंन्दी प्रत्यक्षीकरण याचिका स्वीकृत गरे पनि पुनरावेदन अदालतले सरकारको पक्ष लिएपछि यो प्रक्रिया थप जटिल बनेको छ। हाल यो विषय अमेरिकी सर्वोच्च अदालतको विचाराधीन छ।
आइस र होमल्यान्ड सेक्युरिटीले यस्ता पुनः गिरफ्तारीबारे कुनै प्रतिक्रिया दिएका छैनन्। वकिलहरूका अनुसार ‘अपरेशन मेट्रो सर्ज’ औपचारिक रूपमा सकिए पनि एजेन्टहरूले गिरफ्तारी र देश निकालाको कोटा पूरा गर्न नयाँ र सूक्ष्म रणनीतिहरू प्रयोग गरिरहेका छन्।





