कच्चा तेल प्रति ब्यारेल १०० डलर पार: ओपेक प्लसद्वारा उत्पादन स्थिर राख्ने सहमति
प्रकाशित मिति : १८ आश्विन २०८३, आइतबार
Photo: Alex Waldbrand/ Unsplash
इरानमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेर प्रति ब्यारेल १०० अमेरिकी डलर नाघेको छ। बजारमा इन्धनको भाउ आकासिएकै समयमा प्रमुख सात तेल निर्यातकर्ता मुलुकहरूले भने आगामी नोभेम्बर महिनामा आफ्नो उत्पादन बढाउनुको सट्टा यथावत् राख्ने सहमति गरेका छन्।
पेट्रोलियम निर्यातकर्ता मुलुकहरूको सङ्गठन अन्तर्गतको ‘ओपेक प्लस’ उपसमूहका प्रमुख सात राष्ट्रहरू-साउदी अरेबिया, रुस, इराक, कुवेत, काजाकिस्तान, अल्जेरिया र ओमानले आइतबार बैठक बसी उत्पादन वृद्धि नगर्ने निर्णय गरेका हुन्। अन्तर्राष्ट्रिय बजारको उतारचढावलाई नजिकबाट नियालिरहेको यो समूहले बजारको स्थिति समीक्षा गर्न आगामी नोभेम्बर १ तारिखमा पुनः अर्को बैठक डाकेको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि मध्यपूर्वमा भड्किएको युद्धका कारण विश्वव्यापी तेल आपूर्ति शृङ्खला गम्भीर रूपमा प्रभावित भएको छ। बेन्चमार्क ‘ब्रेन्ट क्रुड’ को मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि पुग्दा विश्वभर मुद्रास्फीति र महँगी बढ्ने खतरा उत्पन्न भएको छ।
बजारमा देखिएको यो सङ्कट र बढ्दो मूल्यलाई नियन्त्रणमा ल्याउन धनी लोकतान्त्रिक देशहरूको समूह जी७ ले अग्रसरता देखाएको छ। जी७ले आउँदा हप्ताहरूमा आफ्नो सञ्चित कोषबाट १० करोड ब्यारेल तेल तथा इन्धनजन्य उत्पादनहरू बजारमा ल्याउने योजना सार्वजनिक गरेको छ।
यस योजनाअन्तर्गत सबैभन्दा पहिले उल्लेख्य मात्रामा डिजेल बजारमा पठाउन लागिएको छ। विशेष गरी अमेरिकामा डिजेलको मूल्यले हालसम्मकै उच्च कीर्तिमानी विन्दु चुमेपछि त्यहाँका किसान, यातायात व्यवसायी तथा सर्वसाधारण उपभोक्ताहरू चरम मर्कामा परेका छन्।





