स्पेनमा घरजग्गा तथा आवास सङ्कटलाई लिएर विशाल विरोध प्रदर्शन
प्रकाशित मिति : १७ आश्विन २०८३, शनिबार
Photo: Veronica H/ Unsplash
८७ वर्षीया मारिकारमेन आबास्कललाई जबर्जस्ती घरबाट निकालिएपछि उत्पन्न आक्रोश र भाडामा बस्नेहरूलाई राहत दिने आपत्कालीन कानुन संसद्मा पारित हुन नसकेपछि स्पेनका विभिन्न सहरहरूमा दसौँ हजार मानिसहरू सडकमा उत्रिएका छन्।
प्रधानमन्त्री पेद्रो सान्चेजले सन् २०३० सम्म जोखिममा रहेका भाडावालहरूलाई घरबाट निकाल्न प्रतिबन्ध लगाउने, विद्यमान सम्झौताहरूमा दुई वर्षका लागि भाडा वृद्धि रोक्ने र अल्पकालीन भाडामा कडा नियमहरू लागू गर्ने प्रस्ताव अघि सारेका थिए। तर, संसद्मा अस्वीकृत भएको उक्त प्रस्तावले आवास आपूर्ति घटाएर समस्या झनै जटिल बनाउने तर्क विपक्षी दलहरूले गरेका छन्। शनिवार प्रदर्शनकारीहरूले आवाससम्बन्धी तत्काल ठोस कदम चाल्न माग गर्दै कतिपयले आमहड्तालको आह्वानसमेत गरेका छन्।
स्पेन सरकारका अनुसार राजधानी म्याड्रिडमा आयोजना गरिएको प्रदर्शनमा मात्रै करिब ७०,००० मानिस सहभागी भएका थिए। म्याड्रिडको विरोध प्रदर्शनमा सहभागी २६ वर्षीय नान्दो दे आन्गुलोले भने, “यो लाजमर्दो कुरा हो। नेताहरूले जनताको चाहनाअनुसार काम गर्नुको साटो जनता स्वयं राजनीतिक दलहरूका पछाडि अनुकूल हुनुपर्ने बाध्यता छ, जुन अब धेरै दिन चल्न सक्दैन।”
विधेयक असफल भएपछि प्रधानमन्त्री सान्चेजले आगामी नोभेम्बर महिनाका लागि मध्यावधि निर्वाचनको घोषणा गर्न सक्ने स्पेनी सञ्चारमाध्यमहरूले जनाएका छन्, यद्यपि प्रधानमन्त्रीको कार्यालयले भने यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ।
भ्यालेन्सिया सहरमा प्रदर्शनकारी र प्रहरीबीच दोहोरो झडप भएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरको गोली र अश्रुग्याँस प्रहार गरेको थियो। करिब ३० जना प्रदर्शनकारीहरू सहरको प्रसिद्ध सांस्कृतिक केन्द्र ‘सिटी अफ आर्ट्स एन्ड साइन्सेज’ भित्र प्रवेश गरेपछि प्रहरीले उनीहरूलाई त्यहाँबाट हटाएको थियो। देशका अन्य ५० सहरहरूमा भएका प्रदर्शनहरू भने शान्तिपूर्ण रहे।
गत महिना मारिकारमेन आबास्कललाई अत्यावश्यक सामान मात्र लिएर ३० मिनेटभित्र घर छाड्न आदेश दिँदै उनको निवासबाट निकालिएको थियो। म्याड्रिडको सम्पन्न ‘रेतिरो’ क्षेत्रमा रहेको उक्त अपार्टमेन्ट एउटा इन्भेस्टमेन्ट फन्डले खरिद गरेर भाडा भारी मात्रामा बढाउन खोजेको थियो।
ह्विलचेयर प्रयोग गर्ने आबास्कललाई निष्कासनका क्रममा अस्वस्थ भएपछि स्ट्रेचरमा राखेर अस्पताल लगिएको थियो। उनका वकिल बेआत्रिज दुरोका अनुसार, उनी दशकौँदेखि बस्दै आएको सोही अपार्टमेन्टमा अब फिर्ता हुन पाउने जानकारी दिइएको छ। अपार्टमेन्टको स्वामित्व रहेको कम्पनी ‘अर्बागेस्टियन’ ले आबास्कललाई सर्तहरू स्वीकार गरेमा घर फर्किन अनुमति दिने गरी प्रारम्भिक सहमति प्रस्ताव गरेको छ।
“उहाँलाई कहिल्यै पनि घर छाड्न बाध्य पारिनु हुँदैनथ्यो,” वकिल दुरोले भनिन्, “आशा छ यो घटनाले आवास सङ्कटको सामूहिक समाधान खोज्न सहयोग पुर्याउनेछ।” उनले पछिल्लो समयसम्म वार्ता र छलफलमा बस्न अस्वीकार गरेको भन्दै अर्बागेस्टियन कम्पनीको कडा आलोचनासमेत गरिन्।





