अमेरिकामा नयाँ बजेट कटौती नीति लागू: हजारौँ वैधानिक शरणार्थी र आप्रवासीहरूले गुमाए स्वास्थ्य बीमा सुविधा


प्रकाशित मिति : १६ आश्विन २०८३, शुक्रबार

Photo: Marek Studzinski/ Unsplash

अमेरिकामा रिपब्लिकन पार्टीको बहुचर्चित ‘वान बिग ब्युटीफुल बिल ऐक्ट’अन्तर्गत मेडिकेयर तथा मेडिकेड क्षेत्रमा गरिएको बजेट कटौती कार्यान्वयनमा आएसँगै अक्टोबर १ देखि हजारौँ वैधानिक शरणार्थी तथा अन्य कानुनी मान्यता प्राप्त आप्रवासीहरूले आफ्नो स्वास्थ्य बीमा सुविधा गुमाएका छन्।

विगतमा मेडिकेडको लागि योग्य मानिएका शरणार्थी, ग्रिन कार्ड प्राप्त गरिनसकेका शरणार्थी आवेदक, घरेलु हिंसाबाट पीडित व्यक्तिहरू तथा मानव बेचबिखनबाट प्रभावितहरूलाई अब यो सुविधा प्राप्त नहुने भन्दै राज्य तथा अधिकारवादी संस्थाहरूले चेतावनी दिन थालेका छन्।

आप्रवासी अधिकारका लागि कार्यरत संस्था ‘प्रोटेक्टिङ इमिग्रेन्ट फ्यामिलिज गठबन्धन’की कार्यकारी निर्देशक एड्रियाना काडेनाले भनिन्, “यो नीतिगत परिवर्तनले स्वास्थ्य सेवा पहुँचमा ठूलो खाडल सिर्जना गर्नेछ। युद्ध, प्राकृतिक प्रकोप वा यौन हिंसाजस्ता गम्भीर मानसिक तथा शारीरिक आघात भोगेर आएका व्यक्तिहरू नै यस कटौतीबाट सबैभन्दा बढी प्रभावित भई बीमा सेवाबाट वञ्चित हुँदैछन्।”

अधिकारवादीहरूका अनुसार स्वास्थ्य बीमामा लगाइएको यो प्रतिबन्धका कारण धेरै मानिसहरूले नियमित चिकित्सकको परामर्शका साथै मधुमेह तथा अन्य दीर्घकालीन रोगको उपचार र औषधि पाउने छैनन्।

यस निर्णयबाट दीर्घकालदेखि उपचार गराइरहेका बिरामीहरू छुट्नेछन् भने अस्पतालहरूमा बिनाबीमाका आपत्कालीन बिरामीहरूको चाप बढ्ने अनुमान गरिएको छ, जसले गर्दा स्वास्थ्य प्रणालीको लागत झन् बढाउनेछ। यद्यपि, कानुनी स्थिति जस्तोसुकै भए पनि अस्पतालहरूले आपत्कालीन सेवा प्रदान गर्नुपर्ने कानुनी बाध्यता छ, जसको शोधभर्ना ‘इमरजेन्सी मेडिकेड’ मार्फत हुने गर्दछ।

यस नयाँ कानुनले ग्रिन कार्ड वाहकहरू र अन्य केही साना समूहहरूलाई भने असर पार्ने छैन। साथै, बालबालिका तथा गर्भवती महिलाहरूलाई स्वास्थ्य सुविधा दिने राज्यहरूको विद्यमान अधिकारमा पनि कुनै परिवर्तन गरिएको छैन, जसका लागि राज्यहरूले संघीय अनुदान प्राप्त गरिरहनेछन्।

मेडिकेडको यो कटौती त सुरुवात मात्र हो; आगामी वर्षदेखि थप सरकारी स्वास्थ्य सुविधाहरू हटाइने प्रक्षेपण गरिएको छ। आउँदो वर्षदेखि १० लाखभन्दा बढी आप्रवासीहरूले ‘अफोर्डेबल केयर ऐक्ट’ अन्तर्गत पाउने अनुदान र ‘मेडिकेयर’ सुविधासमेत गुमाउनेछन्।

राष्ट्रपति डोनल्ड ट्रम्प र रिपब्लिकन सांसदहरूले सन् २०२५ मा पारित गरेको यस ऐक्टले सन् २०३४ सम्ममा मेडिकेड बजेटमा ९ खर्ब डलर कटौती गर्ने लक्ष्य राखेको छ। ह्वाइट हाउसले गैरकानुनी रूपमा बसेका मानिसहरूलाई हटाएर अमेरिकी नागरिकहरूका लागि मेडिकेड सुरक्षित गर्न यो कदम चालिएको बताए तापनि कागजातविहीन आप्रवासीहरू पहिले नै संघीय स्वास्थ्य सुविधाका लागि अयोग्य थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गैरसरकारी संस्था ‘कङ्ग्रेसनल बजेट अफिस’ले यो व्यवस्थाका कारण करिब १ लाख वैधानिक आप्रवासीहरूले स्वास्थ्य बीमा गुमाउने अनुमान गरेको छ। तर, ग्रिन कार्ड आवेदन प्रक्रिया सुस्त भएकाले यो संख्या अझ बढी हुन सक्ने अधिकारवादीहरूको भनाइ छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com