अमेरिकी अदालतद्वारा ट्रम्पको $१००,००० एच-१बी भिसा शुल्कमा पुनः रोक
प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारका लागि एच-१बी भिसामा लगाएको अभूतपूर्व $१,००,००० को शुल्क कार्यान्वयनमा दोस्रो सङ्घीय न्यायाधीशले रोक लगाएका छन्।
क्यालिफोर्नियाको ओकल्यान्डस्थित अमेरिकी जिल्ला न्यायाधीश हेवुड गिलियमले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) र विदेश मन्त्रालयले उक्त शुल्क लागू गर्नुअघि आवश्यक नियम बनाउने प्रक्रिया पूरा नगरेको ठहर गरेका छन्। पूर्वराष्ट्रपति बराक ओबामाद्वारा नियुक्त न्यायाधीश गिलियमले ट्रेड युनियन, रोजगारदाता तथा गैर-नाफामूलक संस्थाहरूको गठबन्धनको निवेदन स्वीकार गर्दै मुद्दाको अन्तिम निर्णय नआएसम्मका लागि शुल्क कार्यान्वयनमा रोक लगाएका हुन।
यसअघि जुन महिनामा बोस्टनका एक सङ्घीय न्यायाधीशले २० वटा राज्यहरूले दायर गरेको छुट्टै मुद्दामा यो शुल्कमाथि अस्थायी रोक लगाएका थिए, जसलाई जुलाईमा पुनरावेदन अदालतले पनि निरन्तरता दिएको थियो।
ट्रम्प प्रशासनले एच-१बी भिसा शुल्क ह्वात्तै बढाएको थियो, जुन पहिले सामान्यतया विभिन्न कारकका आधारमा $२,००० देखि $५,००० सम्म हुने गर्दथ्यो। ट्रम्पले विदेशी नागरिकको प्रवेश रोक्ने राष्ट्रपतीय अधिकार प्रयोग गर्दै कम्पनीहरूले अमेरिकी कामदारलाई विस्थापित गरी सस्ता विदेशी कामदार राखेर प्रणालीको दुरुपयोग गरेको दाबी गर्नुभएको थियो।
यसैबीच, होमल्यान्ड सेक्युरिटी विभागले अगस्टमा स्थायी रूपमा करिब $१,०३,००० को भिसा शुल्क तोक्ने प्रस्ताव अघि बढाएको छ, जसलाई अन्तिम रूप दिएपछि फेरि अदालतमा चुनौती दिइने सम्भावना छ।
अमेरिकी प्रविधि कम्पनीहरूले विशेष ज्ञान र दक्षता चाहिने क्षेत्रमा विदेशी प्रतिभा भित्र्याउन एच-१बी भिसा प्रणालीमा ठूलो निर्भरता राख्दै आएका छन्। यस कार्यक्रमअन्तर्गत वार्षिक ६५,००० साधारण र उच्च शिक्षा हासिल गरेका व्यक्तिहरूका लागि थप २०,००० गरी कुल ८५,००० भिसा प्रदान गरिन्छ।





