अमेरिकामा यु-भिसा ठगी: आफ्नै पसलमा आक्रमणको अभिनय गराउने भारतीय मूलका व्यवसायी दोषी
प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार
Photo by Tingey Injury Law Firm
साउथ क्यारोलिनास्थित एक डिपार्टमेन्ट स्टोरका मालिकले आफ्ना भारतीय कर्मचारीलाई अपराधको पीडित देखाएर अमिरिकी ‘यु-भिसा’ दिलाउने उद्देश्यले नक्कली लुटपाट गराएको स्वीकार गरेका छन्। ४७ वर्षीय वीरेनकुमार रमेशभाई पटेलले अमेरिकी नागरिकता तथा भन्सार विभागमा झूटो कागजात बुझाउने षड्यन्त्र रचिएको स्वीकार गरेका हुन्।
अदालतको कागजातअनुसार, फेयरफिल्ड काउन्टीमा रहेको पटेलको पसलमा सन् २०२५ मार्च ९ मा उक्त घटना भएको थियो। अवैध रूपमा अमेरिका प्रवेश गरेका र देश निकालाको सुनुवाइ हुनुभन्दा चार दिनअघि पटेल र ती कर्मचारीले यो योजना बनाएका थिए। पटेलले मुख ढाकेर, ज्याकेट लगाई पसलमा आएर कर्मचारीमाथि आक्रमण र लुटपाटको अभिनय गरेका थिए। घटनापछि पुलिस र एम्बुलेन्स बोलाएर कर्मचारीलाई अस्पताल समेत पुर्याइएको थियो।
पछि अनुसन्धानको क्रममा प्रहरीले उक्त घटना पूर्ण रूपमा नियोजित र नक्कली भएको पत्ता लगाएको हो। यु-भिसा अमेरिकामा निश्चित गम्भीर अपराधको शिकार भएका र प्रहरी अनुसन्धानमा सहयोग गर्ने विदेशी नागरिकलाई प्रदान गरिन्छ, जसले पछि स्थायी आवास र नागरिकताको बाटो खोल्छ।
पटेलले प्रहरीबाट पीडित भएको प्रमाण लिनका लागि फेयरफिल्ड काउन्टी सेरिफ कार्यालयमा आर्थिक सहयोग समेत दिएका थिए। हाल ती भारतीय कर्मचारीलाई अमेरिकाबाट फिर्ता पठाइसकिएको छ।
अदालतमा आफ्नो दोष स्वीकार गरेपछि पटेललाई अधिकतम १० वर्षको कैद सजाय, २ लाख ५० हजार अमेरिकी डलरसम्म जरिवाना र ३ वर्षको निगरानी हुन सक्नेछ। अमेरिकी जिल्ला न्यायाधीश जोसेफ ए. एन्डरसन जुनियरले प्रोबेसन कार्यालयको अन्तिम प्रतिवेदन आएपछि सजायको घोषणा गर्नेछन्।





