मध्यवधि चुनावको मुखमा अमेरिकातर्फ आप्रवासी टोलीको यात्रा, सीमामा कडाइ जारी
प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार
Photo: Levi Meir Clancy/ Unsplash
हन्डुरसबाट सुरु भई मेक्सिको हुँदै अमेरिका-मेक्सिको सीमातर्फ अघि बढिरहेको एक ठूलो आप्रवासी टोलीलाई लक्षित गर्दै अमेरिकी होमल्यान्ड सेक्युरिटिले कडा चेतावनी जारी गरेको छ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले दिएको बयान अनुसार, “अमेरिकी सीमा गस्ती टोलीले आप्रवासीहरूको गतिविधि र अन्य घटनाक्रमलाई नियाल्न आफ्ना अन्तर्राष्ट्रिय साझेदारहरूसँग नजिकबाट काम गरिरहेको छ।” डिपार्टमेन्टले थप भनेको छ, “राष्ट्रपति ट्रम्प र होमल्यान्ड सेक्रेटरी मन्त्री मुल्लिनको नेतृत्वमा विगत १६ महिनादेखि अमेरिकी सीमा पूर्ण रूपमा बन्द र सुरक्षित छ।”
सोमबारसम्ममा सयौँको सङ्ख्यामा रहेका उक्त आप्रवासी टोलीमा मुख्यतया हन्डुरस, ग्वाटेमाला, एल साल्भाडोर, इक्वेडर र हाइटीका नागरिकहरू रहेका छन्। सीमा गस्ती टोलीका अनुसार यो टोली सेप्टेम्बर २० मा हन्डुरसको सान पेड्रो सुलाबाट हिँडेको थियो।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले दक्षिण सीमातर्फ आउने विचार गरिरहेका आप्रवासीहरूलाई सचेत गराउँदै भनेको छ— “अब ‘समात्ने र छाड्ने’ दिन समाप्त भइसकेका छन् र बाइडेन प्रशासनको असफल ‘खुल्ला सीमा नीति’ पूर्ण रूपमा सिल गरिएको छ।”
डिपार्टमेन्टले चेतावनी दिँदै भनेको छ, “अमेरिकामा अवैध रूपमा प्रवेश गर्ने जो कोहीलाई पनि नियन्त्रणमा लिइनेछ, मुद्दा चलाइनेछ र आफ्नै देश फिर्ता पठाइनेछ।”
मिडटर्म चुनाव नजिकिँदै गर्दा र ट्रम्प प्रशासनको अवैध अप्रवासनविरुद्धको कडाइ मुख्य राजनीतिक मुद्दा बनिरहेका बेला यो आप्रवासी क्याराभानको समाचार आएको हो। गत वर्ष पद सम्हालेयता राष्ट्रपति ट्रम्पले अवैध अप्रवासन इतिहासकै तल्लो स्तरमा झरेको दाबी गर्दै देशभर व्यापक देशनिकाला र नियन्त्रण अभियान सञ्चालन गर्नुभएको छ।
कतिपय आप्रवासीहरूले भने राम्रो आर्थिक अवसरका लागि अमेरिका जान लागेको बताएका छन्। आफ्ना सात जना आफन्तसहित यात्रा गरिरहेका हन्डुरसका आप्रवासी जोसे जेलायाले भने, “म अमेरिका पुग्न चाहन्छु। यो टोलीको कुनै औपचारिक नेतृत्व छैन, केवल भोक र बाध्यताले हामीलाई यो यात्रामा धकेलेको हो।”





