मतदाता नामावली छानबिन: ट्रम्प प्रशासनको टोलीद्वारा १६०० मुद्दा दर्ता, १६० जना पक्राउ
प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार
Photo:Dan Dennis/ Unsplash
अमेरिकाका राज्यस्तरीय मतदाता नामावलीबाट गैर-नागरिकहरूलाई हटाउने र कारबाही गर्ने उद्देश्यले ट्रम्प प्रशासनले चलाएको राष्ट्रव्यापी अभियानका क्रममा करिब १,६०० वटा धाँधलीका मुद्दा दर्ता भई १६० जना पक्राउ परेका छन्।
‘होमल्यान्ड सेक्युरिटी इन्भेस्टिगेशन्स’का वरिष्ठ अधिकारी म्याथ्यु मिलहोलिनले एक पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन्। अमेरिकामा मध्यावधि निर्वाचन हुन ६ हप्ता मात्र बाँकी छँदा सार्वजनिक गरिएका यी तथ्यांकले ट्रम्पको निर्देशनमा सुरु भएको यो अभियानको पछिल्लो अवस्था झल्काउँछ।
यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्प र होमल्यान्ड सेक्युरिटीले लाखौँको संख्यामा गैर-नागरिकहरू मतदाता नामावलीमा रहेको दाबी गर्दै आएका थिए। तर, अहिले सार्वजनिक भएका यी अंकहरू अमेरिकाका कुल २१ करोड ११ लाखभन्दा बढी सक्रिय मतदाताको तुलनामा निकै सानो अंश हुन्।
पूर्वनिर्वाचन अधिकारी तथा कानुनविद्हरूका अनुसार गैर-नागरिकहरूले मतदान गर्ने वा निर्वाचनमा धाँधली हुने घटनाहरू अत्यन्तै दुर्लभ हुन्छन्।
गैर-नाफामुलक संस्था ‘सेन्टर फर इलेक्सन इनोभेसन एन्ड रिसर्च’का प्रमुख डेभिड बेकरले भने, उनीहरूले गैर-नागरिकहरूले व्यापक रूपमा मतदान गरेको प्रमाण सिर्जना गर्ने प्रयास गरे, तर हरेक पटक उनीहरूको तथ्यांक निकै सानो आउने गरेको छ। राज्यहरूले गैर-नागरिकहरूलाई मतदाता सूचीबाट बाहिर राख्न अत्यन्तै राम्रो काम गरिरहेका छन् भन्ने यसले पुष्टि गर्छ।
पत्रकार सम्मेलनमा कार्यवाहक नायब न्यायाधिवक्ता ट्रेन्ट म्याक्कोटरले जस्टिस डिपार्टमेन्टले वर्तमान प्रशासनको सुरुवातदेखि हालसम्म गैरकानुनी मतदान र दर्ता सम्बन्धी कसुरमा ७० जनाविरुद्ध औपचारिक मुद्दा चलाएको बताए।
यस्तै, टेक्सास राज्यमा ट्रम्प प्रशासनको विवादित डेटाबेस प्रयोग गरी २,७२४ जना शंकास्पद मतदाताको छानबिन गर्दा ११७ वटा मुद्दा मात्रै महान्यायाधिवक्ताको कार्यालयमा पठाइएको थियो, जसमा अन्ततः ७ जनामाथि मात्रै आरोप दर्ता भयो।
प्रशासनले भने सानो संख्यामा हुने धाँधलीले पनि निर्वाचनको सुरक्षा र परिणामलाई प्रभावित पार्ने दाबी गरेको छ। म्याक्कोटरले भने, एउटै दुर्भावनापूर्ण व्यक्तिले गरेको कामले पनि निर्वाचनको सुरक्षा प्रणालीलाई गम्भीर असर पार्न सक्छ। अर्कातिर, निर्वाचन अधिकारकर्मी र ह्विसलब्लोअरहरूले भने ट्रम्प प्रशासनले अध्यागमन डेटाको गलत प्रयोग गरी सर्वसाधारण अमेरिकी नागरिकहरूलाई दुख दिने र निर्वाचन अधिकारीहरूमाथि अविश्वास फैलाउने काम गरिरहेको आरोप लगाएका छन्।





