अमेरिकामा भेनेजुयलाका आप्रवासीमाथि अध्यागमन प्रहरीको गोली, विवाद र प्रदर्शन चर्कियो
प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार
फोटो: होमल्याण्ड सेक्युरिटी
अमेरिकाको टेक्सासस्थित अस्टिनमा सप्ताहन्तमा सङ्घीय कानून प्रवर्द्धन निकायका सवारी साधनहरूले भेनेजुयलाका एक आप्रवासी सवार कारलाई लखेटेको र त्यसपछि अध्यागमन अधिकारीले उनीमाथि गोली हानेको तनावपूर्ण क्षणको नयाँ सर्भिलेन्स फुटेज सार्वजनिक भएको छ।
सार्वजनिक भिडियोमा बत्ती र साइरन बजाउँदै कम्तीमा दुईवटा सवारी साधनले २८ वर्षीय विल्बर राफेल गार्सेस पेरेजले तीव्र गतिमा गुडाएको कारलाई पछ्याइरहेको देखिन्छ। अमेरिकी गृह होमल्यान्ड सेक्युरिटीले उक्त भिडियोको सत्यता पुष्टि गरेको छ।
अमेरिकी आइसका अधिकारीको गोली लागेका गार्सेस पेरेजलाई घटनालगत्तै पक्राउ गरी हिरासतमा राखिएको छ।
गार्सेस पेरेजकी अधिवक्ता काटे लिङ्कन-गोल्डफिन्चका अनुसार मेरा ग्राहक डोरस्टेप डेलिभरी चालकका रूपमा काम गरिरहेका बेला पहिचान नखुलेका सवारी साधनमा आएका अधिकारीहरूले उनलाई सडकबाट पन्छाउने प्रयास गरेका थिए। उनले आफ्ना ग्राहकलाई लखेटिएको, गाडीमा ठक्कर दिइएको, घाँटीको पछाडि गोली हानिएको र कारबाट तानेर बाहिर निकालिएको दाबी गरेकी छन्।
तथापि, स्थानीय प्रहरीको प्रमाणले वकीलको यो दाबीलाई खण्डन गरेको छ। सर्भिलेन्स फुटेजमा पेरेजको कारमा कुनै प्रत्यक्ष क्षति भएको देखिँदैन। यसका साथै, घटनास्थलमा पुगेका अस्टिन प्रहरी अधिकारीहरूको ‘बडीक्याम’ भिडियोमा प्रहरीले उनलाई कारबाट तानेर निकाल्नुको सट्टा बाहिर निस्कन सहयोग गरिरहेको देखिन्छ, जसले गोल्डफिन्चको दाबीलाई असत्य साबित गर्छ।
बुधबार फेसबुकमा एक विज्ञप्ति जारी गर्दै लिङ्कन-गोल्डफिन्चले आफ्ना ग्राहकलाई आइस हिरासत केन्द्रको उपचार कक्षमा अलग्गै राखिएको र उनको शरीरमा अझै गोली रहेकाले अवस्था “गम्भीर” रहेको जानकारी दिएकी छन्।
“हाम्रा तत्कालका मागहरू स्पष्ट छन्: विल्बरको सञ्चार सुविधा पुन: कायम गरियोस् र उनलाई तुरुन्तै अस्पताल फिर्ता लगियोस्। उनलाई उचित स्वास्थ्य उपचारको पहुँच आवश्यक छ,” उनले लेखेकी छन्।
यस घटनापछि डेमोक्र्याटिक सांसदहरूबाट तीव्र आलोचना भइरहेको छ। आलोचकहरूले आइसलाई “हाम्रा शहरहरूमा आतङ्क फैलाउने र बासिन्दाहरूको सुरक्षामा खतरा पुर्याउने” निकायको रूपमा टिप्पणी गरेका छन्।
टेक्सासका डेमोक्र्याटिक अमेरिकी सांसद ग्रेग कासारले बुधबार गार्सेस पेरेजलाई भेट्न आइस हिरासत केन्द्रको भ्रमण गरे। सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गरिएको भिडियोमा कासारले उक्त एजेन्सीको कार्यशैलीको आलोचना गरेका छन्।
“आइसले कुनै पनि भिडियो फुटेज वा प्रमाण सार्वजनिक नगरी यो सबै दोष उनै माथि थुपार्ने प्रयास गरिरहेको छ,” कासारले भनेका छन्।
यसैबीच, घटनालाई लिएर अस्टिनमा विभिन्न समूहहरूले आइस विरुद्ध प्रदर्शन गरिरहेका छन्।





