मेडिकेड र फुड स्ट्याम्प लिनेलाई विदेशमा रकम पठाउन प्रतिबन्ध लगाउने अमेरिकी ट्रेजरी सेक्रेटरीको चेतावनी
प्रकाशित मिति : माघ १, २०८२ बिहीबार
अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेंटले मेडिकेड, फुड स्ट्याम्प लगायतका सरकारी सहायता प्राप्त गर्ने व्यक्तिहरूलाई विदेशमा पैसा पठाउन प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। मेडिकेड, फुडस्ट्याम्प् लगायतका सरकारी सहायता वा अन्य सरकारी लाभ प्राप्त गर्ने व्यक्तिले विदेशमा पैसा पठाउन नसक्ने नियम लागु गर्न लागेको एक अन्तरवार्तामा उनले चेतावनी दिएका हुन् ।
उनका अनुशार विदेशमा पैसा पठाउन चाहने व्यक्तिले अब मेडिकेड, फुडस्ट्याम्प लगायतका सरकारी सहायता प्राप्त गरे नगरेकोबारे एक बक्समा टिक लगाउनुपर्ने व्यवस्था गरिने भएको छ । यदि उनीहरूले सरकारी सहायता प्राप्त गरिरहेका छन् भने उनीहरुले विदेशमा रकम पठाउन नपाउने नियम आगामी हप्ताहरूमा लागू गरिने उनले बताएका छन् ।
यदि कुनै व्यक्तिले सरकारी सहायता प्राप्त गर्दै गर्दा विदेशमा पैसा पठाएमा यसको अर्थ उनीहरूलाई आवश्यकताभन्दा बढी सहायता दिइएको वा पैसा ठगी वा गैरकानुनी तरिकाबाट प्राप्त भएकोमध्ये एक हुनसक्ने उनको तर्क छ । मिनेसोटामा सोमाली आप्रवासीहरूसँग सम्बन्धित ठगीका घटनाहरूमा अरबौं डलरको सरकारी कोष सोमालिया पठाएको आरोप लागेको सन्दर्भमा स्कट बेसेंटको भनाई आएको हो ।
ट्रेजरी विभागको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्कले अब ३ हजार डलरभन्दा बढीको अन्तर्राष्ट्रिय ट्रान्सफरमा रिपोर्टिङ अनिवार्य गरेको छ। यदि सरकारी सहायता प्राप्तकर्ताले झूटो जानकारी दिएमा संघी अपराध मानिने बेसेंटले चेतावनी दिएका छन् ।
अमेरिकी जनताको उदारता दुरुपयोग भएको र अब यसलाई रोकिने उनले चेतावनी दिएका छन् । यो नीति मुख्य रूपमा अन्तर्राष्ट्रिय मनी ट्रान्सफर कम्पनीहरुमार्फत लागू हुने जनाइएको छ । यद्यपी अहिलेसम्म यो पूर्ण रूपमा कार्यान्वयन हुन भने बाँकी छ तर छिट्टै सुरु हुने अपेक्षा गरिएको छ।
यो कदमले ठगी रोक्ने उद्देश्य राखे पनि केही आलोचकहरूले यसलाई क्यापिटल कन्ट्रोल भएको भन्दै आपत्ति जनाएका छन्। तर प्रशासनले पैसाको श्रोत प्रमाणित गर्नसक्ने वैध रेमिटेन्स गर्नेहरूलाई यो नीतिले असर नपर्ने दाबी गरेको छ।





