अन्तर्राष्ट्रिय महिला दिवस किन मनाइन्छ? ८ मार्च मै मनाउनुको कारण के हो ?


प्रकाशित मिति : फाल्गुन २३, २०७७ आईतबार

तपाईंले अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा त थाहा पाउनुभएकै होला । तर किन यो मनाइन्छ ? र यो कहिलेदेखि मनाउन सुरु गरियो भन्नेबारे जानकारी नहुनसक्छ ।

अन्तर्राष्ट्रिय महिला दिवस श्रम आन्दोलन थियो, जुन संयुक्त राष्ट्र संघले वार्षिक कार्यक्रमको रूपमा अनुमोदन गरेको थियो।

यो कार्यक्रमको सुरुवात सन् १९०८ मा तब भयो, जब न्युयोर्क सिटीमा काम गर्ने झण्डै १५ हजार श्रमिक महिलाहरूले काम गर्ने घण्टा कम गर्न, तलब बढाउन र मतदानको अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।

एक बर्ष पछि, अमेरिकी समाजवादी पार्टीले पहिलो पटक राष्ट्रिय महिला दिवस मनाउन थाल्यो। तर यस दिनलाई अन्तर्राष्ट्रिय बनाउने कुरा क्लारा जेटकिन नामकी महिलाको दिमागमा आयो। उनले आफ्नो विचार सन् १९१० मा कोपेनहेगनमा आयोजित महिलाको अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो सम्मेलनमा १७ देशका १ सय महिला प्रतिनिधिहरू उपस्थित थिए, सबैले क्लाराको सल्लाहलाई स्वागत गरे। त्यस पछि अन्तर्राष्ट्रिय महिला दिवस पहिलो पटक सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी, स्विजरल्याण्डमा मनाइयो ।

सन् १९१० मा क्लारा जेटकिन र रोजा लक्जेम्बर्ग ।

यसको शतक कार्यक्रम सन् २०११ मा मनाइएको थियो । विश्वले यो बर्ष अर्थात् २०२१ मा ११० औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहेको छ ।

संयुक्त राष्ट्र संघले सन् १९७५ बाट औपचारिक रुपमा मनाउन थालेपछि भने यसले अन्तर्राष्ट्रिय रुपमा नै मान्यता पायो । संयुक्त राष्ट्र संघले सन् १९९६ मा पहिलो पटक यसको विगतको उत्सव मनाउनुहोस्, भविष्यको योजना बनाउनुहोस् भन्ने नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको थियो ।

महिलाहरुले समाज, राजनीतिमा र अर्थशास्त्रमा गरेको प्रगतिको उत्सवका रूपमा अन्तर्राष्ट्रिय महिला दिवस आयोजना गरिदै आएको छ । साथै महिलामाथिको असमानता र विभेदबिरुद्ध प्रदर्शनहरू पनि आयोजना गरिदै आएको छ ।

८ मार्च १९१४ मा मतदानको अधिकारको माग गर्दै मनाउदाको जर्मन पोष्टर ।

अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउने गरिन्छ । जब क्लाराले अन्तर्राष्ट्रिय महिला दिवसको कल्पना गरेकी थिइन्, त्यतीबेला मनाउने कुनै खास दिन तोकिएको थिएन । सन् १९१७ सम्म यो दिवस कुन दिन मनाउने भन्नेबारे कुनै स्पष्टता थिएन ।

सन् १९१७ मा रूसका महिलाले रोटी र शान्तिको मागको साथ चार दिनसम्म प्रदर्शन गरे। तत्कालीन रूसी जारले सत्ता त्याग्नुपर्‍यो र अन्तरिम सरकारले महिलालाई मतदान गर्ने अधिकार पनि दियो। रसियामा प्रयोग गरिएको जुलियन क्यालेन्डरका अनुसार रूसी महिलाले विरोध प्रदर्शन सुरु गरेको दिन २३ फेब्रुअरी आइतवार थियो ।

रसियामा सन् १९१७ को ८ मार्चको प्रदर्शन ।

ग्रेगोरियन क्यालेन्डरका अनुसार उक्त दिन मार्च ८ थियो । त्यस दिनदेखि अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवस झल्काउने रंगहरू बैजनी, हरियो र सेतो रंगहरू हुन्। अन्तर्राष्ट्रिय महिला दिवस अभियानका अनुसार बैजनी न्याय र मर्यादाको सूचक हो। हरियो आशाको रंग हो। सेतोलाई शुद्धताको सूचकको रूपमा लिइन्छ। यी तीनवटै रंगहरु बेलाइतको महिला सामाजिक र राजनीतिक संघ डब्ल्यूएसपीयूले सन् १९०८ मा तय गरेको थियो ।

१९७५ मा लण्डनमा अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदाको पोष्टर ।

रसियालगायत विश्वका धेरै देशहरूमा अन्तर्राष्ट्रिय महिला दिवसमा राष्ट्रिय बिदा दिइन्छ। रसियामा ८ मार्चको आसपासका तीनचार दिनमा फूलको बिक्री दुई गुणा हुन्छ। चीनमा ८ मार्चमा महिलाहरूलाई आधा दिनको विदा दिइन्छ ।

इटालीमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मानिसहरूले एक अर्कालाई शिरिषको फूल दिन्छन्। यस परम्पराको सुरूवाती कारण स्पष्ट छैन । तर यो प्रचलन दोस्रो विश्वयुद्ध पछि रोममा शुरू भएको विश्वास गरिन्छ।

अमेरिकामा मार्च महिनालाई महिला इतिहासको महिनाका रुपमा मनाइन्छ । राष्ट्रपतिले हरेक बर्ष गर्ने घोषणामार्फत अमेरिकी महिलाको उपलब्धिहरुको सम्मान गर्ने प्रचलन रहेको छ । यस पटक कोरोना महामारीलाई ध्यानमा राखेर विश्वभर अधिकांश कार्यक्रम भर्चुअल रुपमा हुने भएका छन् ।

८ मार्चमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले विश्वभरका ‘अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड’ विजेता महिलाहरुको सम्मानमा विशेष भर्चुअल समारोहको आयोजना गर्ने भएका छन् । जसमा अमेरिकी प्रथम महिला जिल बाइडेनले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त समारोहमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका १४ जना महिलाहरुलाई यो अवार्ड प्रदान गरिनेछ ।

एसिड आक्रमणमा परेर बाँचेकी नेपाली महिला मुस्कान खातुनलाई पनि अमेरिकी सरकारले प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गर्ने भएको छ । एसिड आक्रमण अन्त्यका लागि खातुनको कामको सम्मान गर्दै अमेरिकी सरकारले यो अवार्ड प्रदान गर्न लागेको हो ।

साथै अफगानिस्तानमा समुदायको सेवामा खटिएको बेला सन् २०२० मा भएको हमलामा मारिएका ७ जना महिलाको सम्मानमा सम्मान अवार्ड समेत प्रदान गरिने भएको छ । कार्यक्रम अमेरिकी विदेशमन्त्रालयको वेवसाइटबाट समेत प्रत्यक्ष प्रशारण गरिनेछ  ।

यो वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको नारा चुज टु च्यालेन्ज (#ChooseToChallenge) रहेको छ । परिवर्तित संसार एउटा चुनौतीपूर्ण संसार भएको र हामी सबै व्यक्तिगत रूपमा हाम्रो विचार र कार्यहरूको लागि जिम्मेवार रहेको अवधारणासहित यो नारा छनौट गरिएको हो ।

सबै लैंगिक विभेद र असमानतालाई चुनौती दिन, सबैले महिलाको उपलब्धिलाई मनाउन र सामूहिक रूपमा सबै समावेशी विश्व निर्माण गर्न योगदान दिन सक्ने मर्मका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै गरेको अभियानले जनाएको छ ।

कभर आर्ट : क्रियटिभ किरा

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com