आफैसँग कसम खानुहोस् , तपाईको जीवन कहिलेपनि उस्तै रहनेछैन : राजन थपलिया, युवा लेखक


प्रकाशित मिति : फाल्गुन २२, २०७३ आईतबार

न्युयोर्क निवासी चर्चित युवा लेखक हुनुहुन्छ राजन थपलिया । उहाँले अहिलेसम्म १० वटा पुस्तकहरु प्रकाशन गरिसक्नु भएको छ भने ११ औं पुस्तक प्रकाशनको तयारीमा छ । सकारात्मक सोंच र आत्मप्रेरक पुस्तकहरु लेख्ने थपलियाको आगामी पुस्तक शतप्रतिशत जीवन अर्थात् हन्ड्रेड पर्सेन्ट लाइफ (100% LIFE) प्रकाशन हुन लागेको सन्दर्भमा गरिएको कुराकानी ।

अहिलेसम्म कतिवटा पुस्तक लेख्नुभयो र लेखनकार्यमा कहिलेदेखि सकृय हुनुहुन्छ ?

अब आउने सेप्टेम्बरमा १५ बर्ष पुरा हुन्छ लेखनमा लागेको । मैले अहिलेसम्म १० वटा पुस्तकहरु लेखिसकेको छु भने ११ औं पुस्तक प्रकाशनको तयारीमा छु । तर अप्रकाशित केही पुस्तकहरु पनि तयारी अवस्थामा छन् ।

तपाईको लेखन केमा केन्द्रीत हुन्छ ?

मेरो लेखन सेल्फ हेल्प, मोटिभेशन र नोभलमा केन्द्रीत रहेको छ । लेखनका विभिन्न धारहरु छन् । तर मैले महसुस गरेको छु कि यी धारहरु नै मेरालागि उपयुक्त छन् । उपन्यास लेखन र सेल्फ हेल्प नै मेरालागि उचित विधा हुन् ।

शतप्रतिशत जीवन (100% LIFE) नामको नयाँ पुस्तक प्रकाशनको तयारीमा हुनुहुन्छ, यो कस्तो पुस्तक हो ?

यसको उपशीर्षकले नै सबै कुरा भनेको छ । आफैसँग प्रतिज्ञा गर्नुहोस्, तपाईको जीवन कहिलेपनि उस्तै रहनेछैन । तपाईले आफ्नो जीवनमा कसम खानुहोस्, प्रतिज्ञा गर्नुहोस् । हिजो जती गल्ती भए, कमजोरी भएपनि आगामी दिनमा राम्रो गर्न सकिन्छ । राम्रो गर्ने प्रतिज्ञा हुनेलाई १७ बर्ष र ७० बर्षको उमेरले पनि कुनै फरक पार्दैन । कुनै पनि बेला राम्रो कुराको सुरुवात गर्न सकिन्छ । काममुखी भएर अगाडि बढेमा जीवनमा धेरै कुरामा परिवर्तन ल्याउन सकिन्छ । आफूले आफैसँग प्रतिज्ञा नगरेको कारणले मानिस अफसल हुनेगर्छ । दुखी भएका र असफल भएकाहरुलाई पनि सही बाटोमा ल्याउने र परिवर्तन हुन चाहनेहरुका लागि लेखिएको पुस्तक हो यो । यो पुस्तक अब केहीसाताभित्र नै प्रकाशित हुनेछ ।

लेख्नका लागि पढ्न कत्तिको जरुरी छ ?

लेख्नका लागि पढ्न एकदमै जरुरी छ । किनभने अरुलाई मोटिभेट गर्ने, इन्करेज गर्ने र नयाँ बाटो देखाउने कुराहरु त्यती सहज छैन । कैयन कुराहरु तथ्यमा आधारित हुनुपर्ने भएकाले मैले आफूले अध्ययन गरेर यो पुस्तक लेखेको छु । मैले चारपाँचसय पुस्तकहरु पढेर, आफ्नो विचार र विश्लेषण समावेश गरेर यो पुस्तक तयार पारेको छु । त्यसैले लेख्नका लागि पढ्न एकदम जरुरी छ ।

अरुलाई सिकाउने लेखकहरुले आफूले चाँही त्यो कुरा कत्तिको अनुशरण गर्छन् ?

एउटा सामान्य लेखकले पनि आफूले सिकेको ज्ञान पाठकहरुसमक्ष बाड्न सकिन्छ । जुन ज्ञानबाट लेखकभन्दा धेरै पाठक सफल हुन सम्भव छ । विश्वविद्यालयमा पढाउनेहरुका शुत्र फ्लो गरेर विद्यार्थीहरु विभिन्न विधामा सफल भइरहेका हुन्छन् तर पढाउनेले पढाईमात्र रहेको हुन्छ । लेखकले आफ्नो जीवनमा लागु गर्न नसकेका कतिपय कुराहरु पाठकले लागु गर्न सक्छन् ।

तपाईका पुस्तकप्रति पाठकको रेस्पोन्स कस्तो छ ?

नेपाली बाहेकका पाठकको निकै राम्रो रेस्पोन्स छ । तर नेपालीहरुले पनि मेरा पुस्तकहरु पढिरहनुभएको छ । नेपाली समाजका विभिन्न व्यक्तिले पढेर प्रतिकृयाहरु दिनुभएको छ । एउटा नेपाली भएको नाताले सबैभन्दा धेरै माया र प्रेरणा नेपालीहरुबाट नै पाएको छु ।

तपाई कतिबेला लेख्नुहुन्छ ?

राती, दिउसो वा विहान भन्ने कुरा हुँदैन । जब कुनै चीजले मलाई शक्ति दिन्छ, म लेख्न तयार हुन्छु । कहिलेकाँही सुत्न बेडमा पुगिसकेपछि पनि उठेर लेख्छु । मान्छेको दिमागमा विचारको सृजना वातावरणले गर्छ । फोहोर स्थानमा जाँदा असहज अनुभव हुन्छ भने सफा स्थानमा गएमा नयाँ विचारहरु आउँछ । संगत गर्दा पनि आफूभन्दा शशक्त व्यक्तित्वसँग गर्दा धेरै कुराहरु सिक्न सकिन्छ ।

अमेरिकामा पुस्तक प्रकाशन कत्तिको सहज छ ?

अमेरिकामा पुस्तक प्रकाशनका धेरै तरिका छन् । आफै प्रकाशन पनि गर्न सकिन्छ भने परम्परागत रुपमा पनि प्रकाशन गर्नसकिन्छ । अहिलेको समयमा प्रकाशन भन्दा धेरै लेखकको ब्राण्ड र लेखिएको विषय हो । कतिपय चर्चित लेखकहरुले पनि आफै प्रकाशन गर्न थालेकय छन् । परम्परागतरुपमा प्रकाशन गर्दा एकबर्षसम्म पनि पर्खनुपर्ने हुनसक्छ । तर अहिले पर्खने जमाना छैन । इबुक बेचेर पनि पैसा कमाउन र ज्ञान बाड्न सकिन्छ । पुस्तक निकाल्न खास गाह्रो छैन ।

खसोखास साप्ताहिकमा प्रकाशित

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com