एक्सक्लुसिभ : डिभी लोटरी अक्टोबर २ देखि, पासपोर्ट अनिवार्य


प्रकाशित मिति : आश्विन ४, २०७६ शनिबार

आगामी आर्थिक बर्षका लागि अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुशार आगामी अक्टोबर २ तारिख बुधबार न्युयोर्क समय अनुशार दिउसो १२ बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । न्युयोर्क समय अनुशार नोभेम्बर ५ मंगलबार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ ।

यसपटक डिभी लोटरी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, हैटी, इन्डिया, पाकिस्तान, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत र भियतनामका नागरिकहरु योग्य हुनेछैनन् । डिभी कार्यक्रममा सहभागी हुनका लागि १२ बर्षको कोर्ससहित हाइस्कुल वा सो सरहको पढाई पूरा गरेको हुनुपर्छ । यदि पढाईको योग्यता छैन भने अमेरिकी सरकारले तोकेका २ बर्षको तालिम वा अनुभव चाहिने जागिरमा विगत ५ बर्षमा २ बर्षको कामको अनुभव भएको हुनुपर्छ ।

डिभी लोटरी २०२१ बारे अमेरिकी सरकारको १८ पृष्ठ लामो निर्देशिका (पूर्ण पाठ)

यसपटक डिभी लोटरीमा सहभागी हुनका लागि अमेरिकी सरकारले पासपोर्ट अनिवार्य बनाएको छ । डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी भएको देश, पासपोर्टको अवधि लगायतका विवरणहरु भर्नुपर्नेछ । पासपोर्ट पनि म्याद सहितको हुनुपर्नेछ । मुख्य आवेदकका हकमा पासपोर्ट आवश्यक परेपनि परिवारका अन्य सदस्यहरुको विवरण बुझाउँदा भने ती सदस्यहरुको पासपोर्ट नम्बर आवश्यक नपर्ने अमेरिकी सरकारले जनाएको छ ।

कम्युनिष्ट नियन्त्रित देशका सन्दर्भमा भने कम्युनिष्ट नियन्त्रित देशको सरकारबाट पासपोर्ट पाउन नसकेको व्यक्तिका सन्दर्भमा वा अमेरिकी विदेशमन्त्री र गृहमन्त्रीबाट वेभर स्वीकृत भएका व्यक्तिका सन्दर्भमा बाहेक अन्य सबैले डिभी लोटरी भर्दा पासपोर्टको विवरण अनिबार्य बुझाउनुपर्ने जनाइएको छ ।

डिभी लोटरी फर्म भर्दा अन्तिम अवधिसम्म नकुर्न अमेरिकी सरकारले सुझाव दिएको छ । अक्टोबर २ देखि नोभेम्बर ५ सम्म भरेको डिभी लोटरीको नतिजा सन् २०२० को मे ५ देखि आउन थाल्ने जनाइएको छ । यदि डिभी लोटरीका लागि छनौट भएमा र सबै योग्यता पूरा गरेमा सन् २०२० को अक्टोबरदेखि अमेरिकाको भिसा पाउन सकिनेछ ।

अमेरिकी सरकारले भनेको छ अद्यावधिक पासपोर्टले डिभीको प्रकृयामा सुरक्षा थप गर्नुका साथै तपाईको आवेदन संरक्षित गर्न मद्दत गर्छ । यो नियम बालबालिकाहरु र प्रारम्भिक आवेदकका दम्पत्तिका सन्दर्भमा लागु हुनेछैन । पासपोर्ट अन्तर्राष्ट्रिय यात्राका लागि वैध हुनुपर्छ । केही देशले जारी गरेका आन्तरिक पासपोर्टहरु डिभी आवेदन प्रयोजनका लागि योग्य हुनेछैनन् ।

डिभी लोटरी भरिसकेपछि भिसाका लागि आवेदन भर्ने बेलासम्म पासपोर्ट हराएमा वा एक्सपायर भएमा भने त्यसको प्रमाण अमेरिकी सरकारलाई बुझाउनुपर्नेछ । यदि कुनै कारणवश पासपोर्ट नम्बर परिवर्तन भएमा त्यसको प्रमाण र परिवर्तन हुनुको कारण डिभी अन्तरवार्ता आउनु अगाडि नै केन्टकी सर्भिस सेन्टरलाई बुझाउनुपर्ने अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी विदेश मन्त्रालयले भनेको छ यदि तपाईले गलत पासपोर्ट नम्बरसहित डिभी लोटरीका लागि आवेदन दिएमा तपाई स्वत अयोग्य हुनुहुनेछ भने तपाईको डिभी आवेदन अस्वीकृत गरिनेछ । तपाईले डिभी लोटरी भर्दा प्रयोग गरेको पासपोर्टको वैध फोटोकपी गरेर तपाईको इन्ट्री नम्बरसहित सुरक्षित स्थानमा राख्नका लागि सुझाव दिन्छौं । फोटोकपी आफैमा वैध पासपोर्ट नम्बर प्रमाणित गर्ने प्रमाण नभएपनि यसले तपाईको अवस्थाको व्याख्या गर्न मद्दत गर्नेछ । अन्तिम निर्धारण कन्सुरल अफिसरले तपाईको डिभी अन्तरवार्ताकै बखत गर्नेछन् ।

नयाँ नियम अनुशार डिभी लोटरी भर्न चाहनेहरुले कम्तीमा सन् २०२२ को अप्रिलसम्म म्याद रहेको पासपोर्ट प्रयोग गर्न कानुनविदहरुले सुझाव दिएका छन् । सन् २०२१ को सेप्टेम्बर अन्त्यसम्म भिसा पाउन सकिने र भिसा लिने बेलामा पासपोर्टको म्याद कम्तीमा ८ महिना हुनुपर्ने भएकाले डिभी लोटरी भर्दा नै यदि सन् २०२२ को अप्रिलसम्म म्याद भएको पासपोर्ट छैन भने नयाँ पासपोर्ट बनाउन सुझाव दिइएको छ ।

डिभी लोटरी भर्दा प्रयोग भएको पासपोर्ट सन् २०२२ को अप्रिल अगाडि नै एक्सपायर भएमा भिसा पाउने बेलामा समस्या हुनसक्ने जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com