डिभी लोटरी भर्दा अब पासपोर्ट अनिबार्य, अक्टोबरमा खुल्दै


प्रकाशित मिति : भाद्र ३०, २०७६ सोमबार

अमेरिकी सरकारले यो बर्षदेखि डिभी लोटरीका नियममा उल्लेख्य परिवर्तन गर्न लागेको हो । आगामी अक्टोबरको पहिलोसातादेखि खुल्ने डिभी लोटरी आवेदन दिनका लागि अब आवेदकसँग पासपोर्ट हुनुपर्ने भएको छ ।

यसअगाडि पासपोर्ट नभएका व्यक्तिले पनि नाम, जन्ममिति, फोटो लगायतका विवरणका आधारमा मात्र डिभी लोटरी फर्म भर्न सक्थे । यो बर्षदेखि डिभी लोटरी फर्म भर्दा पासपोर्ट नम्बर, पासपोर्ट जारी गर्ने निकायको विवरण र पासपोर्टको म्याद उल्लेख गर्नुपर्ने भएको छ ।

 

यदि पासपोर्टको म्याद गुज्रेको भएपनि डिभी कार्यक्रममा सहभागी हुन नपाइने जनाइएको छ । तर प्राथमिक आवेदकको हकमा मात्र पासपोर्ट आवश्यक पर्नेछ, परिवारका सदस्यहरुको विवरण उल्लेख गर्दा भने पासपोर्ट चाहिने छैन ।

नयाँ नियमको पूर्ण पाठ यहाँ उपलब्ध छ ।

डिभी लोटरी भर्दा नक्कली आवेदनहरु पर्न थालेकाले त्यसको रोकथामको लागि नयाँ नियम ल्याइएको अमेरिकी सरकारले जनाएको छ । कतिपय अवस्थामा नक्कली एजेन्सीहरुले आवेदकको सहमति विना पनि उनीहरुको डिभी लोटरी भरिदिने गरेको जनाइएको छ ।

आगामी अक्टोबरमा खुल्ने डिभी लोटरी आर्थिक बर्ष २०२१ का लागि हो । सन् २०२० का लागि डिभी लोटरी भरेकाहरुले आगामी अक्टोबरदेखि भिसा प्राप्त गर्न सुुरु गर्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com