न्युयोर्कको टप मध्येको थिएटरमा ‘कृ’ को प्रिमियर


प्रकाशित मिति : फाल्गुन ३, २०७४ बिहीबार

अनमोल केसी अभिनित चलचित्र ‘कृ’ न्युयोर्कमा पनि देखाइने भएको छ । न्युयोर्कको अष्टोरियामा रहेको चर्चित थिएटर कफमेन अष्टोरियामा चलचित्र देखाइन लागेको हो । रिगल सिनेमाबाट संचालित यो थिएटर न्युयोर्कका उत्कृष्ट थिएटरमध्येको एक हो । जसमा हलिउडका ए ग्रेडका चलचित्रहरु प्रिमियर हुने गरेका छन् भने बलिउडका केही चर्चित चलचित्रहरु समेत देखाइने गरिन्छ । यो चलचित्र थिएटर न्युयोर्कको क्वीन्समा टप फाइभ थिएटरको सुचीमा पर्छ ।

न्युयोर्कमा मुलधारको चलचित्र थिएटरमा नेपाली चलचित्र प्रदर्शन हुन लागेको सम्भवत यो नै पहिलो पटक हो । यस अगाडि कम गुणस्तरका स्थानीय चलचित्र हलमा नेपाली फिल्म प्रदर्शन गरिदै आएपनि खासगरी नेपाली चलचित्रहरु प्रोजेक्टरबाट सामान्य पर्दामा देखाउने गरिएको थियो । जसका कारण दर्शकहरुले आवाज र दृश्यको गुणस्तर अनुभव गर्न नपाउने अवस्था रहेको थियो ।

चलचित्र ‘कृ’ को न्युयोर्क प्रिमियर फरबरी २५ आइतबार दिउसो साढे २ बजे गर्न लागिएको हो । चलचित्रको टिकट पहिले नै लिनेहरुले २५ डलर तिरे पुग्नेछ भने ढोकामा लिनेले ३० डलर तिर्नुपर्नेछ । थिएटरको नियमित भन्दा बढी शुल्क तिर्नुपरेपनि दर्शकले पहिलोपटक गुणस्तरीय चलचित्र थिएटरमा नेपाली चलचित्रको अनुभव गर्न पाउने भएका छन् । चलचित्र र यसको टिकटबारे थप बुझ्न ९१७ ५७९ ५१४३ मा छेपकलाई सम्पर्क गर्न सकिनेछ ।

चलचित्र ‘कृ’ देखाइन लागेको चलचित्र थिएटर संचालक रिगल इन्टरटेन्मेन्ट गु्रपले अमेरिकामा ५७३ वटा थिएटरहरु संचालन गर्दै आएको छ जसमा ७ हजार ३ सय ४७ स्क्रीनहरु रहेका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com