अमेरिका-क्यानडा व्यापार युद्ध उत्कर्षमा: क्यानेडियन सवारी र मदिरा आयात रोक्ने ह्वाइट हाउसको निर्णय


प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार

Photo: Daniel Mainye/ Unsplash

व्यापार सम्झौताको सम्भावनालाई लिएर दुवै तर्फका अधिकारीहरूले मिश्रित संकेत दिइरहेका बेला ह्वाइट हाउसले मङ्गलबार क्यानडाबाट आयात हुने केही सवारी साधन, दुग्धजन्य र मदिराजन्य वस्तुहरूमा प्रतिबन्ध लगाएको छ।

प्रतिबन्धित वस्तुहरूको लामो सूचीमा ८०० सिसीभन्दा बढी क्षमताका पेट्रोल इन्जिन भएका मोटरसाइकल तथा मोपेडहरू, दुग्धजन्य उत्पादनहरू, सख्खर, र प्रत्यक्ष उपभोगका लागि प्याकिङ गरिएका बियर, साइडर, वाइन, ह्विस्की तथा भोड्काजस्ता विभिन्न मदिराजन्य पेय पदार्थहरू रहेका छन्।

अमेरिकन एक्सन फोरमका अनुसार यी प्रतिबन्धित वस्तुहरूको कुल आयात मूल्य लगभग १९.९ अर्ब अमेरिकी डलर बराबर रहेको अनुमान गरिएको छ।

ट्रम्प प्रशासनद्वारा यसै महिनाको सुरुमा घोषणा गरिएको यो आयात प्रतिबन्ध अमेरिका र क्यानडाबीच चलिरहेको भनाभन र पालैपालो लगाइएको शुल्कको पछिल्लो श्रृंखला हो।

सोमबार ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आउँदा हप्ताहरूमा क्यानडासँग “न्यायसंगत सम्झौता” हुने आशा व्यक्त गरे पनि आफ्नो आक्रामक शैलीलाई भने कायमै राखे।

“उनीहरूले हाम्रो फाइदा उठाइरहेका छन्, उनीहरू आफूलाई हकदार ठान्छन् तर उनीहरूसँग भएको यस्तो कुनै वस्तु छैन जुन हामीलाई चाहिन्छ,” ट्रम्पले भने। उनले थपे, “मलाई लाग्छ आगामी तीन देखि चार हप्तामा उनीहरू हामीकहाँ आउनेछन् र ‘हामी सबै ट्यारिफहरू हटाउँदैछौँ’ भन्नेछन्। अन्त्यमा जित हाम्रै हुनेछ।”

यद्यपि, अधिकारीहरूका अनुसार सम्झौताको दिशामा निकै कम प्रगति भएको छ।

अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिएरले सम्झौता गर्न आफूहरूलाई “कुनै हतारो नभएको” र क्यानडासँग अझै पनि “अन्य धेरै व्यापार” जारी रहेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

“हामीलाई चाहिने तेल, ग्याँस, पोटासजस्ता आवश्यक वस्तुहरू उनीहरूबाट अझै प्राप्त भइरहेकै छ त्यसैले दुई देशबीच अझै पनि बलियो व्यापार कायम छ,” ग्रिएरले भने।

क्यानडाका व्यापार मन्त्री डोमिनिक लेब्लाङ्कले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकाले “हाम्रो अर्थतन्त्रका विभिन्न क्षेत्रहरूमा गैरकानुनी र अनुचित ट्यारिफहरू लगाइरहेको, जसले देशभरका व्यवसाय र श्रमिकहरूलाई ठूलो सास्ती पुर्‍याएको” बताए।

लेब्लाङ्कले दुवै देश वर्तमान परिस्थितिबाट उम्कने विकल्पहरूको खोजीमा छलफल गरिरहेको भए पनि “क्यानडाको हितविपरीत हुने कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने” स्पष्ट पारे।

“क्यानडाको सार्वभौमसत्ता र अर्थतन्त्रको हितमा छ भन्ने लागेमा मात्र सम्झौता गर्नेछौँ तर हामी त्यसैको पर्खाइमा फोन समातेर बसिरहेका छैनौँ,” लेब्लाङ्कले भने।

ओटावाले सेप्टेम्बर ९ मा दुग्धजन्य र मदिराजन्य आयातमा प्रतिबन्धको घोषणा गरेयता कुनै नयाँ जवाफी कारबाहीको घोषणा भने गरेको छैन।

यसैबीच, अमेरिकासँगको सम्बन्ध बिग्रिँदै गएपछि क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघसँगको सम्बन्ध विस्तार गर्न जोड दिएका छन्। उनले हालैको एक सम्बोधनमा ह्वाइट हाउसले अन्य राष्ट्रहरूमाथि “दबाब” सिर्जना गर्न आर्थिक नीतिलाई “हतियार” को रूपमा प्रयोग गरिरहेको टिप्पणी गरे।

क्यानडाले पनि अमेरिकाबाट आयात हुने स्टील, दुग्धजन्य पदार्थ, कृषि औजार, कागज, घरायसी सामान, फर्निचर, कपडा र इलेक्ट्रोनिक्स लगायतका २७.६ अर्ब क्यानेडियन डलर बराबरका वस्तुहरूमा १५% देखि ५०% सम्मको जवाफी शुल्क लगाएको छ।

वासिङ्टनले गत अगस्टमा सिमेन्ट, वाइन, हक्की स्टिक लगायतका वस्तुहरूमा लगाएको ५०% शुल्कको जवाफमा यो “बराबरको कदम भएको क्यानडाले जनाएको छ।

यी उपायहरूले दुई देशबीच हुने वार्षिक ७१५.५ अर्ब डलरको कुल वस्तु व्यापारको तुलनात्मक रूपमा सानो हिस्सालाई मात्र समेटेका छन्। तर, यो विवाद लम्बिँदै वा चर्कदै गएमा धातु तथा अटोमोबाइल क्षेत्रमा गम्भीर असर पर्ने र दुवैतर्फका साना तथा मध्यम व्यवसायहरू प्रभावित हुने अपेक्षा गरिएको छ।

बैंक अफ क्यानडाले पनि यसै महिना चेतावनी दिँदै नयाँ शुल्कहरूले देशको आर्थिक वृद्धिको सम्भावनालाई थप अनिश्चित बनाएको र मुद्रास्फीति बढ्ने जोखिम बढाएको जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com