क्युबामाथि सैन्य कारबाही नहुने ट्रम्पको स्पष्टोक्ति, व्यापारिक वार्ताका लागि क्युबा तयार


प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एलेक्स ब्रान्डन/एपी-रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र क्युबाबीच छिटै एक सम्झौता हुने र यसका लागि सैन्य कारबाही आवश्यक नपर्ने बताएका छन्।

शनिबार ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मलाई लाग्छ क्युबा र अमेरिकाबीच सहमति बन्नेछ। हामीलाई सेनाको प्रयोग गर्नुपर्ने अवस्था आउने छैन।”

टेनेसी प्रस्थान गर्नुअघि उनले थपे, “हामी क्युबालाई सहयोग गर्न चाहन्छौँ र हाम्रा नागरिकका लागि क्युबालाई खुला गर्न चाहन्छौँ।”

ट्रम्प प्रशासनले क्युबामा सत्ता परिवर्तन नै आफ्नो मुख्य उद्देश्य रहेको खुल्ला रूपमा बताउँदै आएको छ। यसै वर्ष अमेरिकाले क्युबामाथि तेल नाकाबन्दी लगाएपछि इन्धनको अभाव र बिजुली कटौतीका कारण क्युबाको जनजीवन निकै कष्टकर बनेको छ।

यसअघि मङ्गलबार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति ट्रम्पले क्युबालाई ‘असफल राज्य’को संज्ञा दिँदै त्यहाँ “स्वतन्त्रता आउनेछ” भनेका थिए। ट्रम्पको उक्त वक्तव्यको विरोध गर्दै क्युबाली प्रतिनिधिमण्डलले सभाहल छाडेको थियो।

यसैबीच क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले संयुक्त राष्ट्रसङ्घमा बोल्दै आफ्नो देश अमेरिकासँग वार्ताका लागि सधैँ तयार रहेको बताएका छन्। ट्रम्पको पछिल्लो टिप्पणीबारे प्रत्यक्ष प्रतिक्रिया नदिए पनि उनले भने, “हामी अन्य देशहरूसँग जस्तै अमेरिकी कम्पनीहरूसँग पनि व्यापारिक तथा व्यावसायिक सम्बन्ध राख्न खुला छौँ।”

यद्यपि, रोड्रिगेजले क्युबामाथि अमेरिकाले ६ दशकभन्दा बढी समयदेखि लगाउँदै आएको व्यापारिक प्रतिबन्धको तीव्र भर्त्सना गरे।

गत जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हटाउन सैन्यबल प्रयोग गरेपछि ट्रम्प प्रशासनले क्युबामाथि पनि दबाब बढाउँदै लगेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com