अमेरिकामा ४६ वर्षदेखि गैरकानुनी रूपमा बस्दै आएका दुई वृद्ध लागुऔषध र हतियारसहित पक्राउ
प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार
Photo: Zoshua Colah/ Unsplash
अमेरिकाको मायामीमा लामो समयदेखि गैरकानुनी रूपमा बस्दै आएका दुई वृद्ध नागरिक हतियार तथा लागुऔषध कारोबारको गम्भीर आरोपमा पक्राउ परेका छन्। प्रहरीका अनुसार ८९ वर्षीय सेसर भाल्डेस र ७३ वर्षीय माग्दालेनो मेडिना नाम गरेका ती व्यक्तिहरूसँग हतियारका साथै चोरीका सामग्री र लागुऔषध बरामद गरिएको छ।
मायामी प्रहरीले गत अगस्ट १९ मा खटाएको एक अण्डरकभर टोलीले मेडिनाबाट ६० डलर बराबरको कोकिन खरिद गरेपछि उनीहरूको खोजी तीव्र पारिएको थियो। त्यसपछि सेप्टेम्बर ९ मा प्रहरी टोलीले उनीहरू बसोबास गर्दै आएको ट्रेलरमा छापा मार्दा भाल्डेसलाई पनि सोही स्थानमा भेटाएको थियो। खानतलासीका क्रममा प्रहरीले भारी मात्रामा कोकिन, गाँजा, बन्दुकका गोली, चोरीका हातहतियार र ४,८०० डलरभन्दा बढी नगद बरामद गरेको छ।
अमेरिकी आइसका अनुसार यी दुवै जना सन् १९८० को मे महिनामा बिना कागजात फ्लोरिडाको कि वेस्ट क्षेत्रबाट अमेरिका प्रवेश गरेका थिए। दुवै जना विगत ४६ वर्षदेखि गैरकानुनी रूपमा अमेरिकामा रहँदै आएका थिए।
अनुसन्धानका क्रममा मेडिना यसअघि पनि कोकिन तस्करी र लागुऔषध कारोबारसम्बन्धी चारवटा आपराधिक मामिलामा दोषी ठहर भइसकेका व्यक्ति हुन्। उनलाई सन् १९९६ मा नै अध्यागमन अदालतले देश निकालाको आदेश दिएको थियो। त्यसैगरी भाल्डेस पनि १९८० र १९९० को दशकमा कोकिन राखेको र शर्त उल्लङ्घन गरेको आरोपमा पक्राउ परिसकेका थिए। उनलाई पनि सन् १९९३ मा नै देश निकालाको आदेश जारी भएको थियो।
हाल मेडिनामाथि लागुऔषध किनबेच र अवैध हातहतियार सम्बन्धी ८ वटा गम्भीर मुद्दा चलाइएको छ भने भाल्डेसमाथि ५ वटा उस्तै प्रकृतिका मुद्दा दर्ता गरिएको छ। दुवै जनालाई मायामीको जेलमा राखिएको छ र अदालतमा उनीहरूले आफूहरू निर्दोष रहेको दाबी गरेका छन्।





