ट्रम्प प्रशासनलाई तीन सञ्चारमाध्यमको ह्वाइट हाउस पहुँच पुनर्बहाली गर्न अदालतको आदेश


प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार

फोटो: एपी/रासस

एक अमेरिकी संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई गत साता ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाइएका तीन प्रमुख सञ्चारमाध्यमको पहुँच तत्काल पुनर्बहाली गर्न आदेश दिएका छन्।

न्यायाधीश टिमथी केलीले सिएनएन, एमएस नाउ र पोलिटिकोको पहुँच १४ दिनका लागि पुनः कायम हुनुपर्ने फैसला सुनाएका हुन्। अदालतले ह्वाइट हाउसको उक्त प्रतिबन्धले सञ्चारमाध्यमहरूको “संवैधानिक उचित प्रक्रियाको अधिकार हनन गरेको हुन सक्ने” उल्लेख गरेको छ।

आफ्ना पत्रकारहरूको ह्वाइट हाउस प्रवेश अनुमति पत्र खोसिएपछि ती तीनै मिडिया हाउसले कानुनी चुनौती दिएका थिए। अदालतमा ट्रम्प प्रशासनले ती सञ्चारमाध्यमहरूले झूटा समाचार प्रकाशित गरेको र राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको दाबी गर्दै आफ्नो कदमको बचाउ गरेको थियो। तर न्यायाधीशले उक्त तर्कलाई अस्वीकार गरिदिए।

ह्वाइट हाउसले यस अदालतको आदेशबारे हालसम्म कुनै टिप्पणी गरेको छैन, भने राष्ट्रपति पक्षका वकिलहरू थप कानुनी प्रक्रियामा जान सक्ने अनुमान गरिएको छ।

न्यायाधीश केलीका अनुसार ह्वाइट हाउसले प्रतिबन्ध लगाउँदा पर्याप्त कानुनी प्रक्रिया पूरा नगरेको देखिन्छ। राष्ट्रपति ट्रम्पले सुरुमा प्रतिबन्धको घोषणा गर्दा राष्ट्रिय सुरक्षाको कुनै उल्लेख नगरेकाले प्रशासनको पछिल्लो तर्कमा शंका उत्पन्न भएको न्यायाधीशको भनाइ छ। ट्रम्पले ती मिडियालाई “फेक न्यूज” र “काल्पनिक तथा झूटा खबर” लेखेको आरोप लगाएका थिए।

अदालतको फैसलामा भनिएको छ: “वादीहरूको हार्ड पास रद्द गर्दा राष्ट्रिय सुरक्षाको रक्षा हुन्छ वा मुद्दाको किनारा नलागुञ्जेल पास पुनर्बहाली गर्दा राष्ट्रिय सुरक्षामा खतरा पुग्छ भन्ने प्रतिवादीहरूको दाबीलाई पुष्टि गर्ने तथ्यगत प्रमाण फाइलमा देखिँदैन।”

अदालतमा दायर जवाफमा ट्रम्प प्रशासनले ह्वाइट हाउसमा भइरहेको नयाँ ‘बलरुम’ निर्माणसम्बन्धी समाचारहरूलाई प्रतिबन्धको कारणका रूपमा उद्धृत गरेको थियो। तर न्यायाधीशले तीमध्ये अधिकांश समाचार लेख्ने पत्रकारहरूसँग ह्वाइट हाउसको प्रवेश पास नै नरहेको र बाँकीको हकमा पनि पासकै कारण समाचार प्रभावकारी भएको कुनै प्रमाण नरहेको बताए।

यस्तै, रक्षा मन्त्रालयका अधिकारीहरूका तर्फबाट प्रस्तुत गरिएका बयानहरूबारे टिप्पणी गर्दै न्यायाधीशले ती अधिकारीहरूलाई “ह्वाइट हाउसमा पत्रकारहरूले कसरी काम गर्छन् वा यस मुद्दाका वास्तविक तथ्यबारे प्रत्यक्ष ज्ञान नरहेको” स्पष्ट पारे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सञ्चारमाध्यमका तर्फबाट बहस गरेका अधिवक्ता टेड बाउट्रोसले भने, “यो प्रेस स्वतन्त्रता, कानुनी प्रक्रिया र विधिको शासनको पक्षमा आएको एक सशक्त फैसला हो।”

प्रतिबन्धको विरोधमा सोमबार प्रमुख अमेरिकी टेलिभिजन नेटवर्कहरूले ह्वाइट हाउसको सामूहिक कभरेज प्रणालीबाट हात झिकिसकेका थिए। यसबाहेक, सीबीएस न्यूज, द न्यू योर्क टाइम्स र फक्स न्यूजसहित ४९ वटा मिडिया संस्थाहरूले पनि सिएनएन, एमएस नाउ र पोलिटिकोको मुद्दाको समर्थनमा अदालतमा निवेदन दिएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com