ग्रिनकार्डका लागि विवाहको नाटक गर्ने आकाश दोषी ठहर: कैद, जरिवाना र डिपोर्ट
प्रकाशित मिति : जेष्ठ १६, २०८२ शुक्रबार
अमेरिकी नागरिकता तथा आप्रवासन सेवा युएससिआइएसको सहकार्यमा गरिएको एक गहन अनुसन्धानपछि, विवाहको नाटक गरी भिसा ठगी गर्ने योजनामा संलग्न एक भारतीय नागरिकलाई अमेरिकी अदालतले दोषी ठहर गरेको छ।अमेरिकी सरकारी वकिलको कार्यालयका अनुसार, वेस्ट भर्जिनियाको रोन्सभर्टमा अवैध रूपमा बसोबास गरिरहेका २९ वर्षीय आकाश प्रकाश मकवाना गम्भीर पहिचान चोरीको अभियोगमा दोषी ठहर भएका हुन्। उनले अमेरिकी आप्रवासन कानुनबाट बच्न अमेरिकी नागरिकसँग झुटो विवाह गरेर ग्रिनकार्ड हाशिल गर्ने योजनाअनुसार उक्त अपराध गरेको स्वीकार गरेका छन्।
अदालतमा पेश भएका कागजातअनुसार, मकवाना सन् २०१९ नोभेम्बर २३ मा जे–१ भिसामा अमेरिका आएका थिए। एक वर्षको भिसा अवधि समाप्त भए पनि अमेरिका छोडेनन्। सन् २०२१ को अगस्टमा, मकवानाले अमेरिकी नागरिकसँग झुटो विवाह गर्न १० हजार डलर दिने गरी योजना बनाएका थिए । त्यो बेला उनी वेस्ट भर्जिनियाको ह्वाइट सल्फर स्प्रिङ्समा अवैध रूपमा काम गरिरहेका थिए। मकवानाले सन् २०२१ सेप्टेम्बर ३ मा अमेरिकी नागरिकसँग विवाह गरे। त्यसपछि, उनले आफूहरू सँगै बस्ने देखाउन नक्कली घरभाडा सम्झौतापत्र तयार पारे, बिजुली बिल र बैंक खातामा सो नागरिकको नाम थपे। उनले ती कागजातमा सम्पत्ति व्यवस्थापकको अनुमति विना नाम र हस्ताक्षर समावेश गरेका थिए, जुन गम्भीर पहिचान चोरी अन्तर्गत पर्दछ।
जब विवाहको आधारमा ग्रीन कार्ड प्राप्त गर्ने योजना सफल भएन, मकवानाले युएससिआइएसमा आइ ३६० फारम पेश गर्दै झुटो दाबी गरे, जसमा उनले विवाह गरेको नागरिकबाट घरेलु हिंसा र भावनात्मक दुर्व्यवहार भोगेको भन्दै विशेष आप्रवासीका लागि निवेदन दिएका थिए। मकवानाले यो निवेदन अमेरिकामा बस्न र ग्रिन कार्ड प्राप्त गर्ने सम्भावना बढाउन झुटको आधारमा दिएको कुरा स्वीकार गरेका छन्।
मकवानालाई सेप्टेम्बर २६, २०२५ सजाय सुनाइने कार्यक्रम तय गरिएको छ। उनलाई कैद सजाय, आर्थिक जरिवाना र सम्भावित रूपमा अमेरिका निष्कासन गरिन सक्नेछ। उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूले पनि आफ्नो अपराध स्वीकार गरिसकेका छन्। तीमध्ये इलिनोइ राज्यको फेयरबरीमा बसोबास गर्ने २८ वर्षीया काली एन हफले विवाह ठगी र झुटो कसम खाएको स्वीकार गरेकी छन्। उनलाई जुन १२, २०२५ सजाय सुनाइने तालिका छ। त्यस्तै, हफका जेठाजु ३३ वर्षीय जोसेफ सान्चेजले पनि आप्रवासन ठगी षड्यन्त्रमा संलग्न भएको स्वीकार गरेका छन्।








