न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन जनसम्पर्क समितिबाट १ लाख २५ हजार डलर


प्रकाशित मिति : भाद्र १४, २०७४ बुधबार

न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन सत्यनारायण मन्दिरमा गरिएको महापुराणको अन्तिम दिन नेपाली जनसम्पर्क समिति अमेरिकाको तर्फबाट १ लाख २५ हजार ५ सय ५५ डलर ५५ सेन्टस सहयोगको प्रतिबद्धता जनाइएको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले समितिका तर्फबाट सो रकम प्रदान गरिने घोषणा गरे । नेपाली जनसम्पर्क समिति अमेरिका न्युयोर्कमा सांस्कृतिक केन्द्र निर्माणका लागि सबैभन्दा ठूलो दाता बनेको छ ।

सहयोग रकम घोषणा गर्न महापुराण स्थलमा सभापति आनन्द बिष्ट, जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदी लगायतका पदाधिकारीहरु पुगेका थिए । एकबर्षभित्र रकम संकलन गरेर रिजउड नेपाली समाजलाई प्रदान गरिने र नेपाली एकता तथा धर्मको संरक्षणका लागि पहलकदमी भएको महसुस गरिएको सभापति बिष्टले बताउनुभयो ।

यसअघि प्रवासी नेपाली मञ्च अमेरिकाले दुर्गा मन्दिर र सांस्कृतिक केन्द्र निर्माणका लागि १ लाख ११ हजार १ सय ११ डलर ११ सेन्टस प्रदान गर्ने घोषणा गरेको थियो । मञ्चका पूर्व अध्यक्ष सञ्जय थापा, वर्तमान महासचिव राधाकृष्ण देउजा सहितको टोलीले सो घोषणा गरेको थियो । बाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलले श्रीमद भागवत महापुराणको बाचन गरिरहनुभएको छ ।

सन् २०१० मा न्युयोर्कमा आयोजित महापुराणमा उपस्थीतहरुले झण्डै ६ लाख डलर डोनेशनको घोषणा गरेका थिए । जसमध्ये संकलित झण्डै ४ लाख डलरबाट मन्दिर र सांस्कृतिक केन्द्र बनाउन जग्गा खरिद गरिएको छ । सन् २०११ मा ५ हजार बर्गफुटको जग्गा खरिद गरिएको हो । त्यही जग्गामा सांस्कृतिक केन्द्र र मन्दिर बनाउन यसपटक सत्यनारायण मन्दिरमा महापुराण गरिएको हो । अबको दुईबर्षभित्र निर्माण कार्य पूरा गरिने रिजउड नेपाली समाजका अध्यक्ष रविकिरण कोइरालाले जानकारी दिनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com