डिभी विजेता नेपालीको केस नम्बर एकैपटक १४ सय थपेर साढे ८ हजार, १५ सयभन्दा बढीलाई भिसा


प्रकाशित मिति : चैत्र २९, २०८० बिहीबार

डिभी २०२४ का नेपाली विजेताको केस नम्बर एकैपटक १४ सय थप गरिएको छ । मेमा ७ हजार १ सय सम्म केस नम्बर हुने नेपाली डिभी विजेताहरुले भिसा पाउन सक्ने भएकोमा जुनका लागि ११ सय केस नम्बर थपेर ८ हजार ५ सय बनाइएको छ । अर्थात् मे महिनामा ८ हजार ५ सयसम्म केस नम्बर हुने नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गर्न सक्नेछन् ।

चालु आर्थिक बर्ष २०२४ का डिभी विजेता नेपालीहरुको संख्या ३८६३ रहेको छ, जुन चालु आर्थिक बर्षको तुलनामा धेरै हो । नतिजा सन् २०२४ को सेप्टेम्बरसम्म अनलाइनमा हेर्न सकिनेछ । सन् २०२२ को अक्टोबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले अहिले भिसा पाइरहेका छन् ।

कुल १ लाख ४३ हजार जनाले डिभी लोटरी पारेकोमा अधिकतम ५५ हजारसम्मले मात्र भिसा पाउनसक्नेछन् । अर्थात् डिभी पर्दैमा सबैजना अमेरिका आउन पाउने ग्यारेन्टी हुँदैन । डिभी २०२४ का लागि विश्वभरबाट २ करोड २१ लाख ८५ हजार ६ सय १९ योग्यले डिभीका लागि आवेदन दिएका थिए ।

चालु आर्थिक बर्षको ५ महिनाको अवधिमा १२५७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका छन् भने मार्चको तथ्यांक उपलब्ध भइसकेको छैन । तर फेब्रुअरीसम्मको अनुपात हेर्दा मार्चसम्म १५ सयभन्दा बढी नेपालीहरुले डाइभर्सिटी भिसा पाइसकेको देखिएको छ ।

चालु आर्थिक बर्षको पछिल्लो तीनमहिनाको तथ्यांक हेर्दा भने डाइभर्सिटी भिसा पाउने नेपालीको मासिकदर घट्दो देखिएको छ । डिसेम्बरमा ४१४ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएकोमा जनवरीमा त्योभन्दा ३११ जना र फेब्रुअरीमा त्योभन्दा पनि कम २६८ जना नेपालीहरुले अमेरिकाको डाइभर्सिटी भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक बर्षको पहिलो महिना अक्टोबरमा जम्मा ३ जना र दोश्रो महिना नोभेम्बरमा जम्मा २६१ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाएका थिए ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com