सविनाले ल्याईन् ‘हातैमा चुरा’


प्रकाशित मिति : भाद्र १०, २०७४ शनिबार

-माधव गुरुङ/ न्यूह्यामसर

अमेरिकाको व्यस्त जीवनशैली, उसमाथि नर्सिङ पेशा । छोराछोरीको हेरचाहको कुरा त छँदैछ । तरपनि समयलाई व्यवस्थापन गरेर न्यूह्यामसर राज्यमा बस्दै आएकी सविना अधिकारीले आफ्नो पहिलो म्यूजिक भिडियो सार्वजनिक गरेकी छन् । तीजको कोशेलीस्वरुप हालै सार्वजनिक गरिएको उक्त ‘हातैमा चुरा’ बोलको गीतलाई राजेन्द्र गौतमले रचेका हुन् भने तुला पर्वतले संगीत गरेका छन् । ‘धेरै अगाडीदेखि गाउने रहर थियो तर अमेरिकाको व्यस्तताले समयनै पाएकी थिइँन’ सविनाले हौसिँदै भनिन् ‘सबैतिरबाट राम्रो प्रतिक्रियाहरु पाइरहेकी छु । दर्शक स्रोताहरुले माया दिनुभएको छ, त्यसैले निकट भविष्यमै अर्को गीत पनि सार्वजनिक गर्नेछु ।’

म्यूजिक भिडियोमा मोडल तथा गायिका श्रृषा कुँवर र मोडल अनिष मगरले अभिनय गरेका छन् । प्रेमिकाले आफ्नो प्रेमीको कल्पना गर्दै हातमा चुरापोते लगाउने, सिउँदोमा सिन्दुर सजाउने र डोली चेढेर बेहुलाको घर जाने कल्पनासहितको रोमाञ्चक ग्रामिण परिवेशलाई म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ । युवराज वाइवाले निर्देशन गरेको उक्त म्यूजिक भिडियोलाई राम अधिकारीले निर्माण गरेका हुन् ।

समाज सेवामा पनि उत्तिकै सकृय सविना र रामको जोडिले यसअघिनै भरतपुर चितवनस्थित श्री नयाँ किरण माध्यमिक विद्यालयको स्वर्ण स्तम्ब निर्माणार्थ दूई लाख एक हजार पाँच सय रुपैयाँ प्रदान गरिसकेका छन् । ‘म्यूजिक भिडियोबाट संकलित रकम तथा थप रकम पुःन सोही विद्यालयको पुस्तकालय निर्माणका लागि प्रदान गर्नेछौं’ म्यूजिक भिडियोका निर्माता राम अधिकारीले भने ‘सविनाले असल श्रीमती र छोराछोरीको कुशल आमामात्र नभएर गायिका पनि बनेर उनले आफ्नो प्रतिभाको पुष्टि गरिन् ।’

म्यूजिक भिडियोलाई हाईलाईट्स नेपालले यूट्यूबमा सार्वजिक गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com